कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बिजनेस’बिनै प्रदेशसभा

शुभकामना आदानप्रदान गर्दै ४६ मिनेटमै बैठक समापन
घनश्याम गौतम

रूपन्देही — चार महिनापछि बसेको प्रदेश सभा बैठक बिजनेसविहीन भएपछि शुभकामना आदानप्रदानमै टुंगिएको छ । असोज २ गते चौथो अधिवेशन सकिएको थियो । छलफलका लागि विधेयक नहुँदा लामो समय बैठक आह्वान भएको थिएन । आइतबारबाट पाँचौं अधिवेशन सुरु भएको हो ।

‘बिजनेस’बिनै प्रदेशसभा

सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएकाले बैठकमा शुभकामना व्यक्त गर्ने, प्रमुख विपक्षी दलका नेताको स्वास्थ्यलाभको कामना र प्रदेशको स्थायी राजधानी र नामकरणको माग गरेर सकिएको छ । बैठक ४६ मिनेटमात्रै बसेको थियो ।


बैठकमा प्रदेश सभाका ६ जना सदस्यले मात्र बोलेका छन् । छलफलका विषयवस्तु नभएपछि बोल्ने अधिकांश सदस्यले शुभकामना, प्रदेशको स्थायी राजधानी र नामकरण, विपक्षी दलका नेताको स्वास्थ्य लाभको कामनामै समय खर्चिए । सभामुख पूर्णबहादुर घर्तीले बैठक आह्वानसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताले शुभकामना दिएपछि बैठक सकिएको थियो ।


प्रदेश सभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार बैठकको छलफलका लागि अहिलेसम्म सचिवालयमा सरकारका तर्फबाट कुनै पनि विधेयक दर्ता भएको छैन । यसअघिको अधिवेशनमा बैठकमा पेस भएर दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा गएको प्रदेशको सुशासन प्रवर्द्धन गर्न बनेको विधेयक समितिमै छलफलमा छ । त्यसले गर्दा पनि बैठकमा छलफलको विषयवस्तु थिएन । ‘आजसम्म सरकारका तर्फबाट कुनै विधेयक दर्ता छैन,’ उनले भने, ‘चार/पाँच विधेयक केही दिनमा दर्ता हुने भन्ने जानकारी आएको छ ।’


प्रदेश सभाले चौथो अधिवेशनसम्म ४८ विधेयक पारित गरेको छ । त्यसका ऐन र नियमावली बनाउने काममा मन्त्रालयहरू व्यस्त रहेकाले पनि विधेयक तयार हुन ढिलाइ भइरहेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । ‘सरकारले केही विधेयक स्वीकृत गरी सचिवबाट प्रमाणीकरण पनि गरिसकेको अवस्था छ,’ उनले भने, ‘प्रदेश सभा सचिवालयमा दर्ता गर्ने गरी ६ विधेयक तयारी अवस्थामा छन् ।’ सरकारले अत्यावश्यक कानुन निर्माण गरिसकेकाले अहिले विधेयक तयार गर्न भन्दा ऐन–नियमावली तयार गर्न लागेको उनले बताए ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजेन्द्र थापाका अनुसार अबको प्रदेश सभामा पेस गर्ने गरी वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम तयारीमा छ । त्यस्तै प्रदेश ५ का स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बजार नियमन एवं प्रतिस्पर्धासम्बन्धी विधेयक पनि प्रदेश सभामा पेस गर्ने तयारीमा छन् ।


पाँचौं अधिवेशनको पहिलो बैठकमा शुभकामना व्यक्त गर्दै नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले यसअघिका चार अधिवेशनजस्तै पाँचौं अधिवेशन पनि एकताको अधिवेशन बन्ने बताए । उनले अहिलेसम्म प्रदेश सभाबाट भएका हरेक निर्णय सत्तापक्ष र प्रतिपक्ष नबनी सहमति र एकताकै आधारमा हुने गरेकाले भोलिका दिनमा पनि त्यो एकतालाई थप खँदिलो बनाएर अघि बढ्ने बताए । प्रदेशले समृद्धिको नारा अघि सारेको भन्दै उनले त्यो रहर र चाहनाले मात्र नआउने भएकाले त्यसका लागि पहल, प्रयत्न र चाहना हुनुपर्ने बताए । सरकार त्यही बाटोमा अघि बढेको उनको दाबी थियो । प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेल एक वर्षदेखि क्यान्सरबाट बिरामी छन् । बैठकमा उनको स्वास्थ्य लाभको कामना

पनि गरियो ।


विपक्षी दलका तर्फबाट प्रदेश सभा सदस्य फकरुद्दिन खानले नामकरण र स्थायी राजधानीको टुंगो लगाउन आग्रह गरे । कांग्रेस सचेतक निर्मला क्षत्रीले पनि जनताको मन जित्ने गरी विकासका काम गर्न सरकारलाई आग्रह गरिन् । त्यस्तै समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेले सरकार विकासको बाटोमा अघि बढ्नु पर्ने सुझाव दिंदै प्रदेश सभाले त्यसको खबरदारी गरिरहनु जरुरी रहेको बताए । बैठकमा राष्ट्रिय जनमोर्चाकी तारा जीसी, नेकपाका दिपेश थारुलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ ।

प्रकाशित : माघ ६, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?