१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

न्याय दिने नै रंगेहात पक्राउ

अमृता अनमोल

(बुटवल) — विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रूपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी १० पुसमा रंगेहात पक्राउ परे । गैडहवा गाउँपालिका–३, सगरहवाबाट घरायसी सामग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै ६ हजार रुपैयाँ घूस लिंदै गर्दा उनीहरूलाई अख्तियारको बुटवल कार्यालयले पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

न्याय दिने नै रंगेहात पक्राउ

चालु आवमा प्रदेश ५ मा मात्रै ६ प्रहरी यसरी नै घुस लिँदै गर्दा रंगेहात पक्राउ परे । भन्सारबाट सामान छुटाउने, कानुनी अड्चन मिलाउने, नदीजन्य पदार्थको ओसारपसार, काठ तस्करी लगायतमा प्रहरीको संलग्नता पुष्टि भएको छ । प्रहरी र अदालत अनुसन्धान गरी पीडितलाई न्याय दिने निकाय हुन् । पछिल्लो समय यिनै क्षेत्र घूस लिने कार्यमा मुछिएका हुन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गर्ने क्रम बढेको छ । जसले घुसबिनाकर्मचारीले कामै गर्दैनन् भन्ने छाप पर्न थालेको छ । जिल्ला अदालत रूपन्देहीका नासु बुद्धिप्रकाश न्यौपाने र विनोद शर्मा पुस ९ मा २ हजार रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परे । मुद्दाको धरौटी रकम फिर्ता गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदैगर्दा अख्तियारको बुटवल शाखाले भैरहवाको एक चिया पसलबाट उनीहरूलाई पक्राउ गरेको थियो 


जनप्रतिनिधिमाथिका गुनासा धेरै

संघीयतासँगै स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । यसअघि जिल्लाका विषयगत कार्यालयले गर्ने काम अहिले स्थानीय तहले गर्छन् । विडम्बना तिनै जनप्रतिनिधिसमेत घुस काण्डमा संलग्न हुनेगरेका छन् । रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल मगर पुस ३ मा २ लाख रुपैयाँ घुससहित पक्राउ परे । उनले सेवाग्राहीबाट नाता सिफारिस गरिदिएबापत उक्त रकम लिँदै थिए । उनीमाथि अहिले मुद्दा चलिरहेको अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले बताए । ‘स्थानीय तह मातहतका योजना, शिक्षा लगायत कार्यालयमा रकम लेनदेनका गुनासा बढी आएका छन्,’ उनले भने ।


जनप्रतिनिधिले कडाइ गर्न नसक्दा स्थानीय तहमा कर्मचारी र विद्यालयका प्रधानाध्यापकमा समेत काम गरिदिएबापत घुस माग्ने प्रवृत्ति बढेको छ । श्रीमावि रेजेना दाङका शिक्षक गणेश केसी गएको साउनमा १० हजार रुपैयाँ घुससहित पक्राउ परे । उनले डिप्लोमा इन इन्जिनियरिङका एक विद्यार्थीलाई पास गराइदिने भन्दै रकम लिएका थिए ।


मिलेमतोमा बढी भ्रष्टाचार

अख्तियारले स्वतन्त्र संयन्त्रमार्फत यस वर्ष गरेको अध्ययनमा योजना निर्माणदेखि कार्यान्वयन तहसम्म पुग्दा कर्मचारी/पदाधिकारीको मिलेमतोमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ । भ्रष्टाचार हुनुमा मुख्य नेतृत्वसहित कर्मचारी, इन्जिनियर र कार्यकारी अधिकारीलाई राजनीतिक संरक्षण हुनु चुनौतीका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । घुस दिएमात्रै काम गर्ने प्रवृत्ति प्रदेश सरकारसम्म पनि छ ।

सामाजिक विकास मन्त्रालयको साविक शिक्षा विकास निर्देशनालयका सब–इन्जिनियर १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ परे । उनले भवन पास गराइदिएबापत उक्त रकम मागेका थिए । केन्द्र सरकारले चलाएका आयोजना पनि यसबाट अछुतो छैनन् । साउन १५ मा कर्णाली नदी व्यवस्थापन आयोजनाका इन्जिनियर विश्वेश्वरप्रसाद शाह १५ लाख रुपैयाँ घुससहित पक्राउ परे । उनले ठेकेदार कम्पनीसँग आयोजना हेरेबापत उक्त रकम घूस मागेका थिए ।


सेवाग्राहीको धेरै भीड हुने अर्को कार्यालय हो मालपोत । त्यहाँ पनि रकम लेनदेन गरेर मात्रै काम गर्ने प्रवृत्ति बढेको छ । सार्वजनिक जग्गा नागरिकका नाममा पास गर्ने र त्यसबापत रकम कुम्ल्याउने केही कर्मचारी यस वर्ष अख्तियारको फन्दामा परे । बुटवल मालपोत कार्यालयका खरिदार जीवन पाण्डे र लेखापढी व्यवसायी कमल खत्रीलाई गत भदौ १२ मा सेवाग्राहीबाट १ लाख २० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गर्‍यो ।

असोज २९ मा जिल्ला मालपोत कार्यालय तौलिहवाका २ कर्मचारीलाई पनि घुससहित नियन्त्रणमा लिइयो । खरिदार सूर्यप्रसाद मिश्रा र दुर्गाप्रसाद चौधरीले सेवाग्राहीसँग ६ हजार घुस लिँदै थिए । मोही जग्गा नामसारी गरिदिन रकम मागेपछि सेवाग्राही अख्तियार गएका थिए । त्यसपछि रकम लिंदै गर्दा अख्तियारले मालपोत परिसरबाटै दुवैलाई नियन्त्रणमा लिएको थियो । घुस माग्ने कार्यालयमा वन कार्यालय पनि अगाडि छ । सव डिभिजन कार्यालय नवलपरासी पश्चिमका सहायक वन अधिकृत परशुराम चौधरी ७ असोजमा ६५ हजार नगदसहित पक्राउ परेका थिए ।


६ महिनामा ३५ जना रंगेहात पक्राउ

चालु वर्षमात्र अख्तियारले प्रदेशभरिबाट २१ घटनामा ३५ जना पक्राउ गरेको छ । हाल सबै मुद्दा छानबिनको प्रक्रियामा छन् । गत वर्ष २७ जना पक्राउ परेकामा ३३ विरुद्ध उजुरी दर्ता भएको थियो । गत वर्ष १ हजार ८ सय ३८ अनियमितताका मुद्दा परेका थिए । त्यसमध्ये १ हजार १ सय ५ फर्छ्यौट भए । देशभर यस वर्ष घुससहित पक्राउ परेका १ सय १५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । गत वर्ष यो संख्या १ सय ४७ थियो ।


अख्तियार बुटवल कार्यालय प्रमुख तारानाथ अधिकारीले नागरिकमा चेतना बढ्दै जाँदा उजुरी तथा गुनासा आउने र अख्तियारले क्रियाकलाप बढाउँदै गएको बताए । ‘कामबापत रकम माग्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने एकखाले चेतना बढेको छ,’ उनले भने, ‘यसले पनि खुरुखुरु रकम बुझाउने नागरिक अहिले उजुरबाजुर गरेर कानुनी घेरामा ल्याउने प्रयासमा छन् ।’

प्रकाशित : माघ ५, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?