कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कमलका जरा निकाल्न एक महिना

रुकुम पूर्व — सिस्ने गाउँपालिकाले यस वर्ष कमलका जरा निकाल्ने समय एक महिना मात्रै तोकेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार फागुन महिनाभरिलाई तोकिएको हो । 

कमलका जरा निकाल्न एक महिना

गाउँ कार्यपालिका प्रवक्ता जीवन केसीले लामो समयसम्म र जथाभावी जरा निकाल्दा कमल मासिने समस्या देखिएकाले छोटो र निश्चित समयका लागि मात्रै जरा निकाल्न दिने निर्णय भएको बताए । सर्वसाधारणको गुनासो आइरहेकाले यस वर्ष बिक्री वितरणलाई पनि व्यवस्थित बनाउने र मूल्यमा एकरूपता कायम गर्ने प्रयास भइरहेको उनको भनाइ छ । केही स्थानीय भने कमलको जरा निकाल्नु हुन्न भन्ने पक्षमा थिए । जरा कुहिएर जाने भएकाले जरा निकाल्नैपर्ने तर्क गाउँपालिकाको छ ।


अघिल्ला वर्षमा दुईदेखि तीन महिनासम्म कमलका जरा निकाल्न समय तोकिन्थ्यो । गाउँपालिकाले जरा निकाल्ने ठेक्का लिन चाहनेका लागि अहिले ठेक्का आह्वान गरेको छ । न्यूनतम कबोल अंक एक लाख रुपैयाँ राखेर ठेक्का आह्वान गरिएको छ । अघिल्लो वर्षको तुलनामा ठेक्काको न्यूनतम अंक अहिले घटाइएको हो । ०७५ सालमा न्यूनतम १ लाख ५० हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो ।


सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा रहेको कमल दहमा कमलका जरा पाइन्छन् । कमलको जरा, डाँठ, पात र गेडा जण्डिस रोगको उपचारमा उपयोगी मानिन्छ । सर्वसाधारणले कमलको जराको अचार खान्छन् । कमलका जराबाट चाना बनाएर पनि बिक्री गरिन्छ । कमलको जरा किन्नका लागि जिल्लाभित्रका विभिन्न ठाउँका साथै रुकुम पश्चिम, जाजरकोट, रोल्पा, सल्यान, दाङ, नेपालगन्ज तथा दाङसम्मका मान्छे आउने गर्छन् ।


ठेकेदारले निश्चित रकम लिएर सर्वसाधारणलाई कमलका जरा निकाल्ने अनुमति दिन्छन् । ‘कमलको जरा निकाल्ने जिम्मा दिने गाउँपालिकाले यसको बिक्री वितरणको मापदण्ड पनि तोक्नुपर्छ,’ स्थानीय पवित्रा केसीले भनिन्, ‘नत्र मनपरी ढंगबाट पैसा लिने काम विगतका वर्षमा भइरहेको छ ।’

प्रकाशित : माघ ५, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?