कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ताल जोगाउन कृत्रिम जलाशय

भूमिगत जलस्रोत घटेर सिँचाइ प्रभावित भएपछि सिमसार संरक्षणमा बजेट छुट्ट्याएका स्थानीय तह तिनको पर्यटकीय सम्भावनासमेत उजागर गर्दै 
नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको दक्षिणी भेगमा गत असारमा पनि बोरिङमार्फत भूमिगत जल सिंचाइ हुन सकेन । केही वर्षअघिसम्म बोरिङबाट घण्टौंसम्म आउने पानी अहिले ठप्प छ । आएका स्थानमा पनि निकै कम छ । त्यसले खानेपानीदेखि सिँचाइमा समस्या थपिएको छ । भूमिगत पानी घट्दै गएपछि खोला तथा कुलाको पानीलाई एक–दुई किलोमिटर लामो पाइपमार्फत पम्पसेट चलाएर तान्नुपर्ने बाध्यता छ ।

ताल जोगाउन कृत्रिम जलाशय

भूमिगत पानीको सतह घट्ने र तालतलैया सुक्न थालेपछि पश्चिम नवलपरासीका स्थानीय तहले संरक्षणमा चासो देखाएका छन् । पर्यटकीय क्षेत्र हुने र तालतलैयाको पनि संरक्षण हुने भएपछि अहिले धमाधम कृत्रिम सिमसार क्षेत्र र पुराना तालतलैयाको संरक्षणमा जनप्रतिनिधिको चासो बढेको हो । पाल्हीनन्दन, सरावल, प्रतापपुर, रामग्राममा रहेका तालतलैया संरक्षणमा बजेट विनियोजन भएको छ । सुनवल र बर्दघाटमा ठूला कृत्रिम सिमसार निर्माण गरिएका छन् । सुनवलमा कृत्रिम सिमसार क्षेत्र तयार भएको छ । पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले अहिले जलाशय निर्माण भएको हो । मूलपानी सामुदायिक वनको खाली चौरमा चार बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएको छ । जलाशय, पार्क तथा वन्यजन्तुमैत्री मार्ग निर्माण भएको छ । जलाशयको बीचमा मन्दिर निर्माण गरेर डुंगामार्फत जलाशयमा पर्यटकलाई शयर गराउने लक्ष्य छ । वरपर बालबालिकाका लागि पार्क र पिकनिक स्पट बन्नेछ ।


जल पुनःभरण पोखरी निर्माण उपभोक्ता समितिमार्फत सिमसार बनेको हो । समितिका अध्यक्ष यज्ञप्रसाद पाण्डेका अनुसार हरित नगरी बनाउने र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । ‘यो जलाशयबाट वन्यजन्तुदेखि मानवसम्मले फाइदा लिइरहेका छन्,’ उनले भने, ‘जलाशय वरपर पार्क निर्माण गर्ने र खेतीका लागि सिँचाइको प्रबन्ध छ ।’ सामुदायिक वनभित्र ठूलो जलाशय भएपछि वरपरका मुहान तथा अन्य पानीको स्रोत पनि नसुक्ने भएकाले कृत्रिम सिमसार क्षेत्रको अवधारणा ल्याइएको हो । पर्यटकीय गन्तव्यसँगै सिँचाइ पनि गर्न पाइने भएपछि स्थानीय खुसी छन् । सधैं आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीयलाई अब भने वर्षभरि सिँचाइका लागि स्रोत उपलब्ध हुनेछ । सिंचाइ सुविधा भएपछि वर्षमा एक खेती मात्र गर्ने किसानले तीन बालीसम्म भित्र्याउन पाउनेछन् ।


बर्दघाट नगरपालिकाको संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि कृत्रिम सीमसार निर्माण भएको छ । बर्दघाट–१० स्थित सामुदायिक वन क्षेत्रको १० हेक्टरमा बाँध बाँधेर जंगलमै पानी जम्मा पारेर सिमसार क्षेत्र बनाइएको हो । सहजै पानी जम्मा भएपछि जनावरदेखि सुकेका साना मुहानलाई स्रोत मिलेको छ । बाउन्न घोला सिमसार क्षेत्र निर्माण समितिमार्फत ९० मिटर लामो बाँध बाँधेर पानी जम्मा गरिएको छ । आसपास करिब पाँच फुट पानी जम्मा भएको संसारकोट हरियाली सामुदायिक वनका सचिव प्रेमप्रसाद अधिकारीले बताए । झण्डै ११ लाख रुपैयाँमा निर्माण भएको बाँधलाई थप सुरक्षित बनाउन २१ लाख रुपैयाँ खर्चेर पक्की बाँध निर्माण गरिँदैछ ।


रामग्राम नगरपालिकाभित्र ५० भन्दा बढी तालतलैया छन् । यिनको संरक्षणका लागि कार्ययोजना बनाएर संरक्षणमा जुटेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘भूमिगत जलस्रोत रिचार्ज नहुँदा सुक्ने क्रम बढ्दो छ । यसका

लागि भएका तालतलैयाको संरक्षण नै मुख्य हो,’ उनले भने ।


अतिक्रमणमा तालतलैया


पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको ऐतिहासिक नन्दन ताल अहिले अतिक्रमणकारीको चपेटामा परी पोखरीमा परिणत भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको उक्त ताल संरक्षण र प्रवर्द्धनको अभावमा छ । बर्सेनि रकम विनियोजन भए पनि अतिक्रमणकारीको अवरोधले रकम फ्रिज हुने गरेको छ । संरक्षणका लागि तालको गुरुयोजना नबन्दा अहिले यसको अस्तित्व नै खतरामा परेको हो ।


नन्दन तालको अतिक्रमण हटाएर यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिपरेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । ‘लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहुँदा अतिक्रमण रोक्न सकिएन,’ उनले भने, ‘अतिक्रमण रोकेर सुन्दर पार्क र तालको संरक्षण गर्न कार्ययोजना तयार पारिएको छ ।’ ताल अतिक्रमण हुँदै जाँदा जलचर र जल वनस्पतिसमेत लोप हुँदै गएका छन् । नन्दन तालजस्तै पश्चिम नवलपरासीमा रहेका थुप्रै ऐतिहासिक तालतलैया धमाधम अतिक्रमणमा परेका छन् । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक तालतलैया पुरेर संरचना निर्माण गरिंदा समेत प्रशासन र स्थानीय तह मौन छन् । त्यसले अतिक्रमण थप बढ्दो छ ।


बर्दघाट नगरपालिका जहदामा रहेको पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको बुद्धमंगल तालको अवस्था पनि उस्तै छ । यो ताल गौतम बुद्धसँग सम्बन्धित ताल हो । बुद्ध त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बिताएर तालको पानी खाई यात्रा गर्ने गरेको धार्मिक मत छ । यस्तै गरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिकाको तुलसीनगरमा रहेको ताल पनि पोखरीमा परिणत भएको छ । आय आर्जनका लागि भन्दै स्थानीयले माछा पालनको योजना ल्याए पनि सफल नभएपछि तालको अस्तित्व नै धरापमा परेको हो ।

प्रकाशित : माघ ५, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?