कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आइतबारदेखि प्रदेश ५ को हिउँदे अधिवेशन सुरु हुँदै

घनश्याम गौतम

रूपन्देही — प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको नाम र स्थायी राजधानी आइतबारदेखि सुरु हुने प्रदेश सभाको हिउँदे अधिवेशनले टुंगो लगाउने बताएका छन् ।

आइतबारदेखि प्रदेश ५ को हिउँदे अधिवेशन सुरु हुँदै

नेकपा प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकमा बोल्दै संसदीय दलका नेता पोखरेलले राजधानी सिफारिस विशेष समितिले प्रतिवेदनसमेत बुझाएको अवस्थामा सबैको सहमतीमा सबैलाई अपनत्व हुने गरी छलफल गरेर स्थायी राजधानी टुंगो लगाइने बताएका हुन् ।

बैठकमा प्रदेशको स्थायी राजधानी र नामको विषयमा अधिकांश सदस्यले जिज्ञासा राखेका थिए । प्रदेश सभाको नाम र राजधानीका लागि अध्ययन गर्न बनेको विशेष समितिले प्रदेश सभा सचिवालयमा प्रतिवेदन बुझाएको छ । समितिले प्रतिवेदन बुझाएकाले यही अधिवेशनबाटै टुंगो लगाउने गरी अघि बढ्न अधिकांश सदस्यले सुझाव दिएपछि मुख्यमन्त्रीले अधिवेशनमा नाम र राजधानीको विषयले प्रवेश पाउने बताएका हुन् । स्थायी राजधानीका लागि बुटवल वा दाङ नभनेर सबैलाई अपनत्व हुनेगरी छलफल चलाउन पनि उनले आग्रह गरेका थिए । जहाँ भएपनि सहमतिमै टुंगो लगाइने उनले बताए ।

प्रदेश सभाको वर्षे अधिवेशन असोज २ गते अन्त्य भएको थियो । सरकारले बिजनेस दिन नसकेपछि लामो समय रोकिएको प्रदेश सभाको पाँचौ अधिवेशन शनिबारबाट सुरु हुन लागेको हो । संसदीय दलको बैठकले पाँचौ अधिवेशनलाई मर्यादित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

नेकपाले यसअघि प्रदेश सभाको अधिवेशन सुरु हुनुपुर्व र सकिएपछि अनिवार्य संसदीय दलको बैठक बस्ने निर्णय गरेको थियो । सोही प्रक्रिया अनुसार बैठक बसेर आगामी अधिवेशनका लागि सदस्यबाट सुझाव मागिएको र बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश सभाका नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । बैठकमा सरकारका कामलाई एकरुपता बनाउन पनि सदस्यले सुझाव दिएका थिए ।

प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि शनिबार नै बसेको छ । समिति सदस्य तारा जिसीका अनुसार बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको जानकारी सम्बन्धी पत्र पढेर सुनाउने, सबै दलबाट बैठकको सफलताको शुभकामना व्यक्त गर्ने र सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाका सदस्यको सेवा सुविधा सम्बन्धी संशोधित विधेयक पढेर सुनाउने निर्णय गरेको छ ।

प्रकाशित : माघ ४, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?