१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आत्मविश्वासले उद्यमी

‘कतिपयले दया गरेजस्तो गरेर किन्न खोज्छन् । त्यतिबेला हामीलाई हौसला दिनुस् भनेर सम्झाउने गरेका छौं ।’
रूपा गहतराज

(नेपालगन्ज) — दृष्टिविहीनहरूले सडकमा मागेर गुजारा चलाएको देख्दा न्यून दृष्टिका ३३ वर्षीय समीप चौधरीलाई आफ्नो भविष्यबारे चिन्ता लाग्थ्यो । आफ्नै कमाइले बाँच्न किन सकिन्न होला भनी सोच्थे । यही सोचले उनलाई दाङबाट नेपालगन्ज ल्यायो । नेपालगन्ज आउनुअघि उनले बेतबाँस र अगरबत्तीको व्यापार गर्थे । यहाँ आएर उनी उद्यमी बने । आफू उद्यमी बनेसँगै अहिले उनले अरूलाई पनि उद्यमी बनाउने बाटोमा डोर्‍याउँदै छन् । 

आत्मविश्वासले उद्यमी

नेपालगन्ज उपमहानगरपालिका– १० आदर्शनगरमा रहेको आफ्नै घरमा उनले आफूजस्तै फरक शारीरिक अवस्था भएका युवालाई उद्यमी बनाउने काम गर्दैछन् । त्यसका लागि उनले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकेजिङ गर्ने र त्यसलाई घरघरमा लगेर बेच्ने काम गर्छन् । उनको यो अभियानमा बाँके र बर्दियाका डेढ दर्जनभन्दा बढी फरक क्षमताका युवाले साथ दिइरहेका छन् ।


युवा सशक्तीकरण समूहका रूपमा संगठित भएका यहाँका युवाले व्यावसायिक रूपमा आत्मनिर्भर बन्ने प्रयास थालेका हुन् । समीप समूहका संयोजक बनेका छन् । स्नातक तह पढिरहेका बर्दियाका सुरेश योगीलाई पनि भविष्यमा के होला भन्ने चिन्ताले छोड्थेन । ‘अवसर पाए पनि पढाउने काममात्रै हो भन्ने लाग्थ्यो,’ उनले भने, ‘अहिले चाहिँ हामीले त व्यापार पनि गर्न सक्दा रहेछौं भन्ने भएको छ ।’


यो समूहले मसला प्रशोधन र प्याकेजिङको व्यवसाय थालेको पाँच महिना भयो । आफूले प्याकेजिङ गरेका मसलाको प्याकेज लिएर गाउँगाउँ पुग्नु अहिले उनीहरुको दैनिकी बनेको छ । त्यसबाट उपभोक्ताको रुचि, धारणा र

क्रयशक्ति बुझ्छन् ।


बाँके राप्तीसोनारीका आशाराम थारुले प्याकेजिङ गरिएका मसला बोकेर बाँके र बर्दियाका विभिन्न ठाउँमा पुग्ने गरेको बताए । त्यसले समाज र व्यापार दुवै चिन्न सघाएको उनको अनुभव छ । ‘धेरैजसोले त पहिलोपटक यिनीहरू माग्न आए कि भन्ने सोच्दा रहेछन्,’ उनले भने, ‘जब हामीले हाम्रो सामान किनिदिनुपर्‍यो भनेर आग्रह गर्छौं, त्यसपछि बल्ल ध्यान दिएर कुरा सुन्न थाल्छन् ।’


हत्तपत्त किन्न नमान्ने ग्राहकले पनि उत्पादन हेरेपछि र आफूहरूको मेहनतबारे बुझेपछि खुसीसाथ सामान किन्ने गरेको उनको अनुभव छ । कतिपयले दया गरेजस्तो गरेर किन्न खोज्दा हामीलाई दया होइन, हौसला दिनुस् भनेर सम्झाउने गरेको उनले बताए ।


उनीहरूले अहिले गाउँबाट धनिया, अदुवा, बेसारलगायत अर्ग्यानिक मसला ल्याउने र त्यसलाई प्याकेजिङ गरेर बेच्ने गर्छन् । सशक्तीकरण समूहमा आबद्ध सबै युवा दृष्टिविहीनमात्रै छैनन्, कतिपय अन्य शारीरिक अपांगता भएकाहरू पनि छन् । उनीहरूले अरू साथीले गर्न नसक्ने काममा सघाउने गरेको आशारामले बताए ।


मसला पिस्नका लागि उनीहरूले साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन् । ती मेसिन चलाउन पनि धेरैले सिकिसकेको समीपले बताए । ‘अहिले त मैले पनि ती मेसिन चलाउँछु,’ आशारामले भने, ‘आफूमा आएको परिवर्तनले आत्मविश्वास बढेको छ ।’


काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक दिने गरिएको छ । त्यही नाफाबाट कोठाभाडा र अन्य खर्च चलेको उनले बताए । समूहमा आबद्ध सुमिता चौधरीले उद्यममा लागेपछि आत्मविश्वास बढेको सुनाइन् । ‘पहिले के गर्नसक्छौ र भन्नेहरू नै अहिले हौसला थप्दैछन्,’ उनले भनिन्, ‘कतिपय साथीहरू विकल्प नदेखेर माग्न बसेको हामीले देखेका छौं । आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझ ठान्थे । अहिले हामी पनि केही गर्नसक्छौं भन्ने लाग्न थालेको छ ।’


यही उद्यमलाई मसला उद्योगका रूपमा विकास गर्ने उद्देश्य लिइएको संयोजक समीपले बताए । ‘अब हामी सामूहिक रूपमै यस कामलाई उद्योगका रूपमा विकास गर्ने तयारीमा छौं,’ उनले भने, ‘मसला हरेक भान्साको अत्यावश्यक वस्तु भएकाले बजार पाउन सहज छ ।’

प्रकाशित : माघ ४, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?