आत्मनिर्भर बन्न सीप

सन्जु पौडेल

(तिलोत्तमा) — बाल्यकालको रहरले नृत्यांगना बनेकी दिया थापा अहिले पनि नृत्य कार्यक्रममै व्यस्त छन् । ३५ वर्षको उमेरमा पनि मञ्चको रोजाई र कार्यक्रमप्रतिको लगावले उनलाई छोडेको छैन । थुप्रै दर्शक र प्रशंषक कमाएकी छन् । ‘कार्यक्रममा नाच्न निम्तो आउँछ, कलाको सम्मानले दिने पारिश्रमिकमा खुसी नै छु,’ उनले भनिन् । बाल्यकालमा उनको नाम दया थियो । अहिले उनी आफूलाई दियाबाट परिचित गराउँछिन् । 

आत्मनिर्भर बन्न सीप

बाल्यकाल देवदहको केउलीमा बिताएकी उनी विगत ७ वर्षदेखि नवलपरासीको महेशपुरमा छिन् । नवलपरासीबाट बुटवल आएर फेसन डिजाइनिङको तालिम लिइरहेकी छन् । यसबाट सिकेर आफूजस्तै साथीलाई सिकाउने र नृत्य गर्दा चाहिने पहिरन उत्पादन र बिक्रीका लागि उद्यमी बन्ने उनको सोच छ । ‘सधैं अरूको भर पर्नुभन्दा आफ्नै सीपले व्यावसायिक बन्छु,’ उनले भनिन्, ‘उद्यमीकै नाममा परिचित हुने चाहनालाई पूरा गर्न यो सहयोगी बन्नेछ ।’


बुटवलका प्रशान्त थापा उमेरले २० पुगे । १० कक्षासम्मको अध्ययनपछि उनले पढाइ छोडे । नृत्यमा रुचि भएका उनले बुटवलस्थित जुनतारा रेस्टुराँ एन्ड बारमा नृत्य गर्थे । ‘एक वर्षअघि धेरै पैसा दिने भन्दै लोभ देखाए, भारतमा नाच्न गएँ,’ उनले भने, ‘तीन महिनामै फर्किएँ ।’ त्यहाँका विवाहमा नाच्नेले दुर्व्यवहार गरेपछि फर्किएको उनले बताए । विद्यालयमा पढ्दा साथीले केटा भएर पनि केटीजस्तो गर्छ भनेर जिस्क्याउने गरेको उनी सम्झन्छन् । आफूलाई आफ्नैबारे प्रष्ट थाहा नहुँदा धेरैको मजाक र घृणाको पात्र बनेको उनले सुनाए । नयाँ कपडा लगाउन सौखिन उनलाई तालिमले उत्साह थपेको छ ।


‘बुटिक सञ्चालन गर्नेगरी दक्ष बन्न सकेमा आम्दानी र पहिचान दुवै हुनेछ,’ उनले भने, ‘मेहनत गरेर सीप सिक्नेछु र उद्यमी बन्नेछु ।’ मोडलिङ र कोरियोग्राफीमा अघि बढेका रेशम न्यौपाने ‘रेश्मा’ नामबाट परिचित छन् । २०१५ मा मिस डायमन्ड नेपालको ताज जितेपछि उनले आफ्नो पहिचान खुलाएको बताइन् ।


‘महिला र पुरुषभन्दा फरक भए पनि दक्षताका हिसाबले हामीले पनि गर्नसक्ने क्षमता राख्छौं,’ उनले भनिन् । बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा संयुक्त राष्ट्रसंघीय विकास परियोजना (यूएनडीपी)ले बुटवलमा तीनमहिने फेसन डिजाइनिङ तालिम दिइरहेको छ । बुटवल टेक्निकल इन्स्टिच्युटले त्यसमा सहजीकरण गरेको छ । तालिममा नवलपरासी, कपिलवस्तु र रूपन्देहीका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहभागी गराइएको संस्थाको प्रदेश ५ का फिल्ड प्रमुख सुदीप अर्यालले बताए ।


प्रकाशित : माघ ४, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?