धरौटी बुझाएर छुटे लगत्तै चन्द समूहका दुई नेता पुनः पक्राउ- प्रदेश ५ - कान्तिपुर समाचार

धरौटी बुझाएर छुटे लगत्तै चन्द समूहका दुई नेता पुनः पक्राउ

दुर्गालाल केसी

दाङ — धरौटी बुझाएर छुटे लगत्तै नेत्रविक्रम चन्द समूहका दुई नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । चन्द समूहको भातृ संगठन दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज परियार र नेता विष्णुबहादुर रावतलाई दाङ देउखुरी जिल्ला अदालतमा आज धरौटी बुझाएर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ गरेर हिरासतमा राखेको हो ।

उनीहरुलाई पुनः अर्को मुद्दामा कारबाही गर्ने उदेश्यले पक्राउ गरिएको हो । गत असोज ३० गते पार्टीका मध्य कमाण्ड ईन्चार्ज बिरजन्जसहित २१ जना चन्द समूहका नेताहरुलाई राजपुरको मगराइनाबाट प्रहरीले पक्राउ गरेको थियो ।अदालतले उनीहरूलाई जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । तर फेरि पक्राउ पर्ने देखिएपछि उनीहरु सबै कारागार जाने निधो गरेका थिए । त्यसकाे केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले लछारपछार गर्दै पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पुर्याएको थियो ।

प्रकाशित : माघ ३, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

आगाेले भन्दा बेसी अस्पताल खर्चले पाेल्छ

बुनु थारु

काठमाडौँ — कान्ति बाल अस्पतालको बर्न वार्डको बेड नं २७३ मा बसिरहेकी छिन् जाजरकोटकी ७ वर्षीया धर्मशीला दमाई । टाउको र अनुहार वरपर सेतो ब्यान्डेज छ । दायाँ आँखा राम्ररी बन्द गर्न मिल्दैन । दुवै आँखा चिम्लिन पनि गाह्रो हुन्छ । त्यसैले आँसु झरिरहन्छ । ब्यान्डेज लगाइएको अनुहारको दायाँ भाग थोरै देखिन्छ । पोलेको हो भनेर ठम्याउन त्यति गाह्रो पर्दैन । छातीको भागमा पनि पोलिएको देखिन्छ ।

धर्मशीला बेडमा पल्टेर मोबाइलमा गीत हेरिरहेकी छिन् । अर्को हातको काँपमा बेरिएको १० रुपैयाँको नोट छ। हामीलाई देख्नेबित्तिकै मुसुक्क हाँसिन् उनी । दाँत किराले खाएजस्ता देखिन्छन् । हातमा रहेको १० रुपैयाँ खेलाउँदै उनी मुस्कुराइन्, ‘यो रुपैयाँले निकाे भयापछि चाउचाउ किनेर खान्या हुँ ।


उनलाई बोल्न पनि अप्ठ्यारो हुन्छ । उनको बोली त बुझिन्छ, तर प्रस्ट सुनिँदैन ।

छेउमा थिए बुवा वीरु दमाई । छोरी मोबाइलमा गीत हेरिरहँदा उनी भने छोरीलाई हेरेर टोलाइरहेका थिए ।

कहिले बिराम नहुने छोरीलाई आज यस्तो भयो,’ वीरुले भने ।

मंसिर २४ गते धर्मशीला आफ्नो ८ महिने भाइसँग चुलाेमा विहान ७ बजेतिर आगो तापिरहेकी थिइन् । काखमा रहेको भाइ चट्पटाउन थाल्यो । आगोबाट बचाउन भाइलाई तान्न खोज्दा धर्मशीला आगोमा पुगिन् । भाइलाई त बचाइन् तर उनको दायाँ भागको अनुहार तथा छाती नराम्री पोलियो । आँखामा असर पर्‍यो । आफ्नो दायाँ कान पनि गुमाइन।

अस्पताल पनि टाढा छ, घरमै राखियो । १ हप्ता त धामीद्वारा झारफुक गरायौं,’ वीरु दुःखी हुँदै बोले ।

धर्मशीला झन् झन् सिकिस्त हुँदै गइरहेकी थिइन् ।

१ हप्तापछि मात्र उनलाई रुकुमको चौरहजारी अस्पताल लगियो । त्यहाँ पनि उपचार हुन नसकेपछि कोहलपुर दशबिघा शिक्षण अस्पताल लगियो । त्यसपछि नेपालगञ्जको भेरी अस्पताल । भेरीले धर्मशीलालाई कान्ति बाल अस्पताल रेफर गर्‍यो । अनि पुस ४ गते उनी यहाँ आइपुगिन् ।

'भविष्य नै बिग्रियो यसको, छोरीलाई त साह्रै गाह्रो हुन्छ,' वीरुले दुःखेसो पोखे, ‘जाजरकोटबाट यहाँ आउन २५ सय गाडी भाडा लाग्छ, अहिलेसम्म १ लाख जति खर्च भइसक्यो ।

वीरु लुगा सिलाउने काम गर्छन् । आर्थिक अवस्था त्यति राम्रो छैन । ६ जना बच्चामध्ये धर्मशीला ठाइली हुन् । अर्काको जग्गामा कटेरो हालेर बसेका उनी छोरीको उपचार कसरी गर्ने भनेर निकै चिन्तित छन् ।

...

कान्तिमै उपचार गराइरहेकी विराटनगरकी ४ वर्षीया रीमा माझीको अवस्था पनि उस्तै छ । कात्तिक २० गते रीमा साथीहरुसित खेल्दै थिइन् । आँगनमा रक्सी पारेको तातो घोल थियो । खेल्दाखेल्दै भकभक उम्लिएको तातो घोलको भाँडामा ठोक्किएर उनी त्यसमै पर्न पुगिन् । छेउमा केटाकेटीहरु मात्र थिए । चिच्याउँदामात्र हजुरआमाले थाहा पाइन् ।

उनको छातीदेखि तलको भागमा करिब ३५ प्रतिशत जलेको छ । पोलिएर उनको पेटमा नराम्ररी असर पर्‍यो । कति दिन त उनले रगत नै उल्टी र दिसा गरिन् ।

हामी पुग्दा छोरीको शरीरमा नरिवल तेल लाउँदै थिइन् आमा हिना माझी । तेल लगाइदिँदा बेलाबेलामा 'पोल्यो पोल्यो' भनेर रुन्थिन् रीमा । छोरी रोएको सुनेर आमाका आँखाबाट पनि आँसु झरिरहेका थिए ।

रीमाको अहिलेसम्म ५ पटक सर्जरी भइसकेको छ । घरकाले हिनालाई नै यसको कारक हौ भनेर दोष दिइरहेका छन् । हिनाले रुवाइमिश्रित स्वरमा भनिन् यसको बुबा मलेसिया छन्, घरमा केही सहयोग हुन्छ भनेर रक्सी बनाएर बेच्थेँ । यस्तो भयो ।

तराईतिर झन् कति गाह्रो हुन्छ छोरीको लागि । दहेज दिनुपर्छ, अब उसलाई कसले बिहे गर्छ ?’ यत्ति भन्दा उनी भक्कानिन पुगिन् ।

कीर्तिपूर अस्पतालमा भेटिएका बाजुराका ज्ञानप्रसाद खत्री पनि छोराको पोलेको उपचार गर्न आएका थिए । ४ वर्षीय ज्ञादेज खत्री एक दिन बिहान अगेनाँनिर बसेर आगो ताप्दै थिए । कुकरमा दाल पाकिरहेको थियो । दाल सिठी लाग्दा छिटा उछिट्टएर छेउमा बसिरहेका ज्ञादेजमा पर्‍यो । उनको छाती तल र पिसाब फेर्ने ठाउँमा दालको छिटाले पोलेको छ ।

ज्ञानप्रसाद भन्छन्, ‘पुस २३ गते पोलेको, गाउँको स्वास्थ्य चौकीमा उपचार गरेपछि यता ल्याएको हो ।'

३ दिन सम्म हिउँले बाटो तथा नेटवर्क अवरुद्ध भएकाले समयमा राम्रो अस्पताल ल्याउन नसकिएको ज्ञानले बताए ।

साह्रै सावधानी अपनाउनुपर्ने रहेछ,' अहिले त केटाकेटीलाई आगोबाट बचाउनुपर्छ भनेर आफ्नो साथीभाइलाई पनि भन्ने गरेको उनी बताउँछन् ।

...

धर्मशीला, रीना, ज्ञादेज जस्तै थुप्रै बालबालिकाहरु जाडोयाममा सामान्य असावधानीले आगोले पोलेर गम्भीर घाइते बनेर अस्पतालको शैय्यामा दैनिकी बिताइरहेका छन् । विशेषगरी जाडोको समयमा महिला, बालबालिका तथा वृद्धवृद्धा आगोको जोखिममा बढी पर्ने गरेका छन् ।

आगोबाट बालबालिकालाई जाेगाउन मुस्किल

कान्ति बाल अस्पतालको बर्न वार्डमा हाल १५ जना पोलिएका बच्चाहरुको उपचार भइरहेको छ । जाडोका बेला यस्ता केसहरु बढ्ने गरेको वार्डकी इन्चार्ज गौरीका कार्की बताउँछिन् ।

गौरीका भन्छिन्, ‘धेरैजसो केसमा मोफसलका बिरामी छन् । विशेषतः जाडोमा आगो ताप्ने क्रममा पोलेर, झोल पदार्थ जस्तै तेल, दाल, तातो पानीले पोल्ने, विद्युतीय उपकरणबाट पोलिएर बालबालिका उपचारका लागि आउने गरेका छन् ।'

हामीसॅग प्लास्टिक सर्जन छैनन् र अर्थोपेडिक डाक्टर छैनन् त्यसैले यी केस आएमा रेफर गर्नुपर्ने हुन्छ,’ गौरिकाले जानकारी गराइन् ।

कान्तिमा पोलिएका बालबालिकाहरु बर्सेनि २ सयदेखि ३ सयजनाको उपचार हुने गरेको छ ।

...

जाडोयाम सुरु भएसँगै आगोबाट पोलेका बिरामीहरु बढेका छन् । कीर्तिपुर अस्पतालका बर्न वार्ड प्रमुख डा सुरेन्द्र बस्नेतका अनुसार जाडोमा जलनका घटना बढी हुने गर्छ । विशेषगरी तराई क्षेत्रका मानिसहरु बढी प्रभावित रहेका छन् ।

तरल पदार्थले पोल्ने, आगोले पोल्ने, विद्युतले पोल्ने, रसायनले पोल्ने, एसिडले पोलेका आदि विभिन्न प्रकारका जलन वा पोलाइबाट मानिस उपचारका लागि आउने गरेका छन् । पुस महिनायता कीर्तिपुर अस्पतालमा १ हप्तामै ७९ जना बिरामी भर्ना भएका छन् त्यसमध्ये १० जना जति बालबालिकाहरु रहेका छन् ।

डा. बस्नेत भन्छन्, ‘पोलाइ वा जलन अप्रत्याशित घटना हुन् जसमा नियोजित अलि कम हुन्छ । त्यसैले सुरुमै सावधानी अपनाए यस्ता घटनाबाट धेरै मात्रामा बचाउन सकिन्छ ।

उनी भन्छन् अभिभावकहरु यसमा निकै सचेत हुनुपर्छ । जस्तै सानो बच्चा छ भने तातो चिज नजिकै नराख्ने, आगोको छेउमा नलाने गर्नुपर्छ । सुत्केरी सेकाउँदा आमासँगै बच्चा पनि घाइते भएको थुप्रै केस छन् ।

...

प्लास्टिक सर्जन डा शंकर राईका अनुसार पोलाइले शरीरको भाग कति ओगटेको छ र घाउ कत्तिको गहिरो छ भन्नेले उपचारमा अर्थ राख्छ ।

उनका अनुसार घाउ गहिरो भयो भने सर्जरी नै गर्नुपर्ने हुन्छ । शरीरको आधाभन्दा बढी भाग पोल्यो भने गहिरो नै मानिन्छ । बच्चाहरुमा अलि हिलिङ पावर भएका हुनाले केही समय कुरेर मात्र सर्जरीका लागि लगिन्छ ।

कुन प्रकारको जलन हो र कति जलेको त्यसमा मृत्यु दर भर पर्ने चिकित्सकहरु बताउँछन् । जस्तै १० प्रतिशत जलेको मान्छे पनि मर्न सक्छ भने ३० प्रतिशत जलेको मान्छे नमर्न पनि सक्छ । जल्ने बित्तिकै पानीमा राखेमा घाउ गहिरो हुनबाट जोगिने डा राई बताउँछन् ।

पोलिने मानिसहरु प्राय: आर्थिक अवस्था कमजोर नै भएको पाइएको छ । धेरैपटक सर्जरी गर्नुपर्दा उपचारमा खर्च धेरै हुन पुग्छ । त्यसमाथि औषधिहरु पनि महंगा छन् ।

घाउको दैनिक ड्रेसिङ गर्नुपर्ने भएकाले ड्रेसिङ गर्दा धेरै नै खर्च लाग्छ । सर्जरी घाउ कति गहिरो छ त्यहीअनुसार पटक पटक गर्नुपर्ने हुन्छ । त्यसमाथि अस्पताल लामो समयसम्म बस्नुपर्ने हुन्छ ।

'कीर्तिपूर अस्पतालमा धेरै कम पैसामा सर्जरी गरिन्छ, औषधि उपचारमा हो पैसा लाग्ने । धेरै त निःशुल्क नै गरिदिएका छौं,' डा सुरेन्द्र बस्नेत भन्छन्

...

कीर्तिपुर स्किन बैंकले सन् २०१४ देखि छाला प्रत्यारोपणको सेवा दिइरहेको छ । हालसम्म २७ जनाले छाला दान दिएको डा बस्नेत बताउँछन् ।

शरीरको ४० प्रतिशत भन्दा धेरै भाग जलेको छ र बिरामीको शरीरको छालाले जलेको भागलाई नपुग्ने भयो भने यस्तो अवस्थामा छाला प्रत्यारोपण गरिन्छ ।

डा बस्नेत भन्छन्, ‘१ जनाले गरेको छाला दानले २ जनालाई जीवनदान दिन सकिन्छ त्यसैले छाला दिएर बिरामी बचाउन सुझाव दिने गरेका छौँ ।


...

घरमा साना बालबालिका छन् भने जोगाउनु पर्ने हुन्छ । बालबच्चाहरु विद्युतीय उपकरणमा हात हाल्न सक्छन् वा खेल्ने क्रममा तातो पानीमा चल्न सक्छन् । आगोमा हात हाल्न पुग्छन् यस्तो बेला उनीहरुलाई क्षति पुग्नसक्छ भनेर अभिभावकहरुले सावधानी अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

आगोले पोलेको घाउमा धाराबाट बगिरहेको चिसोपानीमा २५ देखि ३० मिनेटसम्म राख्दा धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । यसो गर्दा छाला र भित्री भागलाई बढी बिग्रनबाट बचाउँछ ।

विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांकअनुसार विश्वमा १ लाख ८० हजार मानिसहरुले पोलाइबाट ज्यान गुमाउने गरेका छन् । जसमा निम्न तथा मध्य आय भएका देशहरुका मानिस बढी जोखिममा रहेको तथ्यांकले बताउँछ ।

धनी राष्ट्रहरुमा पोलाइबाट मृत्यु हुनेको संख्या घट्दै गए पनि गरिब राष्ट्रहरुमा भने बालबालिकाको मृत्यु दर ७ गुणा बढी रहेको छ ।

संगठनकै रिपोर्टअनुसार नेपालको विकट क्षेत्रमा आगोले पोल्ने जोखिम बढी देखिएको छ जसमा पोलाइ ५ प्रतिशत अपांगताको कारण समेत हो ।

त्यसैगरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार बर्सेनि करिब ५६ हजार मानिस आगोले पोलेर घाइते हुन्छन् । जसमध्ये महिला तथा बालबालिका बढी रहेका छन् ।

नेपाल प्रहरीको २०७६ सालमा नेपालभर आगलागीको घटनामा १८८ जना घाइते भएका छन् जसमध्ये १८ जना बालबालिका रहेका छन् । यो वर्षभरी २६ जनाले यसबाट ज्यान गुमाएका छन् । जसमा ७ जना बालबालिका रहेका छन् । आगोबाहेक अरु चिजले पोल्ने घटना त अझै धेरै रहेका छन् ।

प्रकाशित : माघ ३, २०७६ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×