बैंकको ऋणले लियो वडाध्यक्षको ज्यान

मधु शाही

बाँके — बिहान १० बजे उनी रित्तै घरबाट निस्किए । परिवारलाई सुर्खेतको मेहलकुनामा काम छ भन्दै सामान्य जानकारी दिए । त्यसैदिन नगरसभा थियो । उनी अनुपस्थित थिए । मंगलबार घर छोडेर हिँडेका कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्ण बहादुर खड्का दुई दिनसम्म सम्पर्कविहीन भए ।

बैंकको ऋणले लियो वडाध्यक्षको ज्यान

परिवारले खोजिरहे । दुई दिनपछि उनको छोरालाई भारतको बहराइचबाट फोन आयो । तपाई‌ंकाे मान्छे मृत अवस्थामा फेला परेका छन् भन्ने खबर पाएपछि परिवार, नगरपालिका, राजनीतिक नेता र सरोकारवालाले उनको खोजी गर्दै बुधबार भारतको बहराइचमा पुगे । बुधबारै शंकर होटल पुगेका शुभचिन्तक रित्तै फर्किए । भारतको प्रहरीले पोष्टमार्टम गरेपछि बिहीबार साँझ उनको शव घर ल्याइएको थियो । उनको शुक्रबार अन्त्यष्टी भएको छ ।

पासाे बन्याे बैंकको ऋण

नेकपाका नगर अध्यक्ष बसन्ती अधिकारीका अनुसार वडा अध्यक्ष खड्काले विष सेवन गरी आत्महत्या गरेको बताइन् । घटनास्थलमै पुगेकी उनले बैंकको ऋण तिर्न नसकेपछि मृत्यको बाटो रोजेको सुसाइड नोटमा उल्लेख रहेको बताइन् । मृतक खड्काले २२ पानाको लामो सुसाइट नोटमा आफ्ना शुभचिन्तक सम्झँदै परिवार, वडा, जनता र समाजको लागि सोचे अनुकुल योगदान गर्न नसकेको लेखेका छन् ।

वडाध्यक्ष खड्काले बैंकबाट घर धितो राखेको खुलेको छ । घर लिलामी गर्नभन्दा पनि बैंकले प्रक्रिया अघि नबढाएपछि उनी तनावमा आएको सुसाइड नोटले देखाएको नगर कार्यपालिका सदस्य नारायाणी ओलीले बताइन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विरबहादुर ओलीले घटना भारतमा भएकाले घटनासँग सम्बन्धित कुनै पनि जिम्मेवारी नेपाल प्रहरीलाई नभएको बताए ।

भारत प्रहरीले घटनामा थप अनुसन्धान गर्ने जिम्मा दिएमा मात्रै थप प्रक्रिया अघि बढ्न सक्ने उनले सुनाए । नेकपा बाँकेका सचिव अशोक कोइरालाले ऋण लिएको विषयमा परिवारले साथ नदिएको र विष खाएर खड्काले आत्महत्या गरेको पाइएको बताए ।

प्रकाशित : माघ ३, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?