काली किनारमा मकर स्‍नान गर्नेको भीड

माधव अर्याल

पाल्पा — गुल्मीको रूरू क्षेत्र रिडीमा बुधबार मकर स्‍नान गर्ने श्रद्धालुको भीड लागेको छ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशवको दर्शन गरेमा पुण्‍य प्राप्त हुने जनविश्वास रहेकाले यस क्षेत्रमा बाहिरी जिल्लाबाट समेत श्रद्धालु आउन थालेका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङलगायत जिल्लासँगै यस वर्ष कास्की, दाङसहित भारतका विभिन्न स्थानबाट श्रद्धालु रूरू क्षेत्रमा आएका छन् । 

काली किनारमा मकर स्‍नान गर्नेको भीड

मकर संक्रान्तिमा रूरू क्षेत्रमा बगेको कालीगण्डकी नदीमा स्थान गर्दा पुण्य कमाइन्छ भन्ने सुनेकाले यहाँ आएको कास्की, पोखराका हरिकृष्ण पराजुलीले बताए । ‘नेपालको चार धाममध्येको एक हो यो,’ उनले भने, ‘त्यसैले बद्री, केदारनाथ होइन, रूरू क्षेत्रमा आएको हुँ ।’ उनले स्कन्ध पुराणमा व्याख्या भएकाले पनि धार्मिक आस्थाअनुसार नै स्नान गर्न र ऋषिकेशवको दर्शन गर्न आएको बताए ।


दाङको लमहीबाट आएकी दीपा अधिकारीले पनि रूरू क्षेत्रको महत्त्वका विषयमा सुनेका आधारमा स्नान गर्न आएको बताइन् । ‘हाम्रो गाउँका धेरैले रूरू क्षेत्रका बारेमा महिमा सुनाउनु भयो,’ उनले भनिन्, ‘त्यसैले यहाँ स्नान गर्न आएकी हुँ ।’ रूरू क्षेत्रमा पहिले तीन दिन मेला लाग्थ्यो । पहिलो दिन बुढाबुढी, दोस्रो दिन अधबैंसे र तेस्रो दिन युवकयुवतीको भीड लाग्थ्यो । रिडी मेला घरेलु सामग्री किनमेलका लागि पनि प्रख्यात छ । अहिले भने विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाले पाँच दिन मेला लाग्ने गर्छ ।


यसपटक गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले राखेको नौदिने रूरू महोत्सवले गर्दा माघ ९ गतेसम्म मेला चल्नेछ । भीडका कारण ऋषिकेशव मन्दिरमा दर्शन गर्न घण्टौं पर्खनु परेको मन्दिरका मूल पुजारी कृष्णप्रसाद भट्टराईले बताए । त्यसले श्रद्धालु भक्तजनलाई सास्ती हुने गरेको छ । ‘मन्दिरमा दर्शन गर्न आउने र जाने क्रम चली नै रहन्छ,’ उनले भने, ‘नेपालका साथै भारतका विभिन्न स्थानबाट समेत श्रद्धालु आएका छन् ।’ मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा स्याङ्जातर्फ जान अस्थायी पुल निर्माण भएको छ । रूरू क्षेत्रमा मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत हुने गर्छ । रूरू क्षेत्रको धार्मिक तथा


सांस्कृतिक महत्त्व

भएकाले मेला भर्न विभिन्न स्थानबाट आउने मन्दिरका पुजारी चूरामणी तिमिल्सेनाले बताए । सोह्रौं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान् ऋषिकेशवको मूर्ति फेला पारेको किंवदन्ती छ । सोही मूर्तिलाई प्रतिस्थापन गरेको जनविश्वास छ ।


व्यापारिक स्टल पनि

पाल्पातर्फ मात्रै १ सय ५० भन्दा बढी व्यापारिक स्टल राखिएको वडाध्यक्ष कमल रानाले बताए । गुल्मी र पाल्पामा गरी तीन सयभन्दा बढी स्टल छन् । होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्री स्टलमा छन् । रूरू क्षेत्रमा लागेको मेलामा दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान छ । गुल्मीको थोर्गालगायतका किसानले उखुबाट बनाइएका गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् ।

रोल्पा, रूकुम, सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीले त्यस क्षेत्रमा पाइने ऊनीजन्य बस्तु ल्याएका छन् ।

प्रकाशित : माघ २, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?