२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

साझा बन्दै माघी

तराईको माघी पहाडमा माघे संक्रान्तिका रुपमा मनाइन्छ । थारु समुदाय आफ्नो नयाँ वर्षलाई स्वागत गर्न फुसका अन्तिम तीन दिनदेखि नै तम्तयार बसेको छ । रुरु क्षेत्रमा अघिल्लै दिन महोत्सव सुर भइसकेको छ । 
प्रदेश ब्युरो

(बुटवल) — प्रदेश ५ मा माघी साझा पर्वका रूपमा मनाइँदै छ । यति बेला यहाँका तराईदेखि पहाडसम्म माघे संक्रान्तिको रौनक छ । शक्तिपीठमा श्रद्धालुको घुइँचो लाग्न थालेको छ । पश्चिम तराईमा बसोबास रहेका थारु समुदायले नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन् ।

साझा बन्दै माघी

बर्दियाको ठाकुरबाबा मन्दिरमा परम्परादेखि थारु समुदायका महन्तबाट पूजाआजा गरिन्छ । वर्षौंदेखि यहाँ बालिएको धुनी कहिल्यै निभाइँदैन । मन्दिर कहिले स्थापना भएको हो, कतै अभिलेख छैन । मन्दिर करिब चार सय वर्ष पुरानो मानिन्छ ।


‘खरानी टीकाका रूपमा प्रयोग हुने भएकाले पुर्खादेखि धुनी निरन्तर बाल्ने गरिएको छ,’ पुजारी राम अवतारले भने, ‘धुनी नबाले अशुभ हुन्छ ।’ माघे संक्रान्तिदेखि तीन दिन श्रद्धालुले धुनी ताप्ने परम्परा छ । भगवान्को घर पुग्ने बाटो भएकाले यसलाई ठाकुरद्वारा (भगवान्को द्वार) भनिएको स्थानीय जग्गदम्बा उच्च माविका पूर्वप्रधानाध्यापक दिनेशचन्द्र गौतमले बताए । मेला सुरक्षाका लागि बर्दिया र नेपालगन्जबाट ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ । चार दिन सञ्चालन हुने मेलाका लागि पर्याप्त सुरक्षा, स्वयंसेवक परिचालन गरिएको छ ।


फेरिँदै माघी

दाङ, बाँके र बर्दियाका थारु गाउँमा माघीको रौनक छ । नाचगान र खानपानको तयारी छ । थारु समुदायका लागि यो नयाँ वर्ष पनि हो । उनीहरू पुसका अन्तिम तीन दिन र माघका दुई दिन गरी पाँच दिन माघी मनाउँछन् । पहिलो दिन माछा मार्ने, दोस्रो दिन खसी, सुंगुर, कुखुरा मार्ने र तेस्रो दिन तरुल, सक्खरखण्ड खन्ने गरिन्छ । माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटाला गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्तमा नाचेको पैसाबाट भोज गरेर माघी समापन गरिन्छ । माघीको दिन बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराउ छुने र त्यसपछि मान्यजनको घरमा गएर टीका लगाउने पुरानो चलन हो । बेलुकीपख थारु गाउँका अगुवा महतवाको घरमा सबै जना जाँड, रक्सी र तरकारी लिएर मान्न जान्छन् । महतवाको घरमा जम्मा भएको खानेकुरा सबै मिलेर खाने र नयाँ महतवा चयनको छलफल गर्ने चलन रहेको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘नयाँ वर्षका लागि महतवा छान्ने र नयाँ योजना बनाउने काम सम्पन्न गरिन्छ,’ उनले भने ।


माघीको भोलिपल्ट बिहानै निसराउमा थप खानेकुरा राखेर दिदी–बहिनीलाई मान्न जाने चलन हुन्छ । त्यसपछि माघीको रात नाचेर जम्मा भएको दक्षिणाबाट सामूहिक रूपमा भोज गरिन्छ, जसलाई नच्नौरी भनिन्छ । माघीको गीत र नाचमा विभिन्न भाव व्यक्त गरिन्छ । गीतमा अग्रजबाट आशीर्वाद लिने भाव हुन्छ । महतवा, रैती, कमैया, कमलरीजस्ता कामकाजी व्यथाका गीत पनि गाइन्छन् । कुनै समय माघीमै छान्ने गरिन्थ्यो । कमैयाहरूको नवीकरण हुन्थ्यो । अहिले कमैया प्रथा हटिसकेको छ । कमलरी मुक्त भएपछि धेरै चेलीले प्रगति गरेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष शान्ति चौधरीले बताइन् । ‘माघी अहिले साँच्चिकै रमाइलोको पर्व भएको छ । पहिले दु:खको पर्व थियो,’ उनले भनिन्, ‘माघीकै दिन अर्काको घरमा काम गर्न जाने निधो हुन्थ्यो । अहिले माघी मुक्तिको पर्व भएको छ ।’


रूरूमा महोत्सव

पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा मंगलबार रूरू महोत्सव तथा मकर संक्रान्ति मेला सुरु भएको छ । रूरू क्षेत्र गाउँपालिका–१ रिडी खेलमैदानमा गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रूरू फ्रेन्ड्स क्लबले संयुक्त रुपमा मेला आयोजना गरेका हुन् । पाल्पा र स्याङ्जातर्फको बगरमा भने अलग्गै मेला लाग्छ । पाल्पातर्फको ऋषिकेशव मन्दिरमा माघे संक्रान्तिको दिनदेखि भीड सुरु हुन्छ । स्याङ्जाको बगरमा पनि मेला लाग्छ । रूरू महोत्सव माघ ९ गतेसम्म चल्ने आयोजक गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले जनाएको छ ।


रूरू क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय प्रचारप्रसारसँगै भ्रमण वर्षलाई सघाउन महोत्सव आयोजना गरिएको रिडी शाखा अध्यक्ष सुवर्णलाल कक्षपतिले बताए । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीका अनुसार संक्रान्तिको केही दिनअघिदेखि नै चहलपहल बढेको छ । मेलामा व्यापारिक स्टलसमेत राखिएको छ ।


चेलीको पूजा

बिहान ४ बजे नै उठेर अविवाहित चेली–बेटीलाई पूजेपछि पूर्वी रुकुममा माघे संक्रान्ति पर्व सुरु भएको मानिन्छ । विशेष गरी दाजुभाइले दिदीबहिनीलाई पूज्ने, लत्ताकपडा तथा उपहार दिने गर्छन् । घरगाउँका चेलीबेटीलाई पुजेपछि उनीहरू अरू सामूहिक कार्यक्रममा सरिक हुन्छन् । जिल्लाका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाको मगर बस्तीमा यसै गरी माघे संक्रान्ति मनाइन्छ । पुस मसान्तका दिन राँगा तथा खसी–बोका काटिन्छ, सक्खरखण्ड तथा अरु कन्दमूल पकाएर राखिन्छ । माघ १ गते बिहानै चेलीबेटी पुजिन्छ ।


पुथाउत्तरगंगाका १४ वटै र भूमे गाउँपालिकाका अधिकांश वडामा माघे संक्रान्ति मनाउने चलन छ । पुथाउत्तरगंगाका केही वडामा तिहारको सट्टा माघे संक्रान्तिका दिन चेली–बेटीलाई पूज्ने र सम्मान गर्ने गरिन्छ । यो पुरानै चलन भएको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटका विष्णु पुन मगरले बताए । चेलीबेटी पुजिसकेपछि गाउँमा तीर हान्ने प्रतियोगिता सुरु हुन्छ । प्रतियोगिताका लागि स्थानीय युवाले एक महिनाअघिदेखि नै सहयोग संकलन गरेका हुन्छन् । तीर हान्नु भनेको मगर खाम भाषामा ‘अस्तासिन्या’ हो । माघको पहिलो दिनदेखि सुरु हुने अस्तासिन्या सात दिनसम्म चल्छ । दुस्मनलाई पराजित गरेको खुसीयालीमा परापूर्वकालदेखि नै तारो हान्न थालिएको मानिन्छ ।


कमल पन्थी (बर्दिया), दुर्गालाल केसी (दाङ), हरि गौतम (रुकुम पूर्व) र माधव अर्याल (पाल्पा)

प्रकाशित : माघ १, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?