१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चुनढुंगा खानीमा राखिएकाे सकेट बम सेनाद्वारा डिस्पोज [अपडेट] 

माधव अर्याल

पाल्पा — जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीस्थलमा भेटिएका सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले मंगलबार दिउँसो डिस्पोज गरेको छ । खानीस्थलमै रहेको स्काभेटरमा खतरा लेखेर राखेको मंगलबार बिहान देखिएपछि खानी संचालक र स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । 

चुनढुंगा खानीमा राखिएकाे सकेट बम सेनाद्वारा डिस्पोज [अपडेट] 

बम राखेको आशंकामा प्रहरीले नेपाली सेनालाई खबर गरेको हो । सेनाको बम डिस्पोजल टोली पुगेर हेर्दा दुईवटा सकेट बम रहेको भेटिएको थियो ।


सहसेनानी महेश ज्ञवालीका अनुसार दुवै सकेट बमलाई सुरक्षित रुपमा बाहिर निकालेर डिस्पोज गरिएको छ । ‘पहिला हेर्दा शंकास्पद वस्तु देखिएको थियो,’ उनले भने, ‘त्यसलाई खोजी गर्दै जाँदा दुईवटा सकेट बम भेटियो ।’ प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आरोपमा नेत्रविक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले सर्वोत्तम मिनरल्सको चुनढुंगा खानीमा रहेको स्काभेटरमा बम राखेको पर्चामार्फत् जनाएको छ ।


चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसिएको थियो । वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार खतरा लेखेको देखिएपछि बिहानैदेखि माथिल्लो भागमा खानी उत्खनन् रोकिएको थियो । तल्लो भेगमा भने काम रोकिएको छैन । सर्वोत्त्तम सिमेन्टका प्रतिनिनि कालुराम दर्लामीले तल्लो भागमा खानी उत्खनन् नरोकिएको बताए । उनले ५० बढी ट्रिपरले चुनढुंगा निकासी गरिरहेको बताए ।


खतरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित खानी उद्योगले काम गरेको, जनसत्तामा दर्ता नगरी खानी सञ्चालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख गरिएको छ । सिद्देश्वरको खानीस्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ । स्थानीय बासिन्दाले पानीको मुहान पुरिएको, धुलोधुँवाले हैरानी पारेको भन्दै पटकपटक खानी सञ्चालक समक्ष विरोध गर्दै आएका थिए ।

प्रकाशित : पुस २९, २०७६ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?