हत्या आरोपीलाई जमानत !

मनोज पौडेल

कपिलवस्तु — विभिन्न मुद्दामा सजाय खेपिरहेका शुद्धोदन गाउँपालिका ४ मुडफुटवाका ५८ वर्षीय सुखीनाथ पाण्डे (प्रीतम) एकाएक अघिल्लो बिहीबार जिल्ला अदालतमा हाजिर भए । धेरै मुद्दाका आरोपी अदालत हाजिर भएपछि तरंग फैलियो । उनी पक्कै थुनामा जान्छन् भनेर धेरै मान्छे हेर्न पुगेका थिए । अदालतको आदेशमा उनी धरौटीमा रिहा भएपछि कौतूहल बढेको हो । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले पाण्डेलाई धरौटीमा छाड्‌ने आदेश गरेका थिए । 

रुपन्देहीको हथिहवाका माओवादी कार्यकर्ता शिवपूजन कुर्मीको ०६४ चैत ९ मा भएको हत्या मुद्दामा उनलाई हाजिर गराइएको थियो । पहिलो दिन उनको बयान सकिएन । बिरामी भनेर अस्पतालमा रात बिताए । दोस्रो दिन बहस सकिएपछि अघिल्लो शुक्रबार साँझ ५ बजेतिर जमानत मिल्यो । आधा घण्टामा १० लाख रुपैयाँ धरौटी बुझाए । छुट्‌ने बेलामा अरू मुद्दामा उनको कैद फैसलाको लगत थियो । उनले त्यसअघि नै जिल्ला अदालतका दुवै फैसलाविरुद्ध उच्च अदालतको बुटवल इजलासमा ०७५ कात्तिक ८ गते पुनरावेदन गरेका थिए । घरमा तामेल भएको म्याद बेरितको भएकाले जिल्लाले गरेका फैसलामाथि तारेकमै रही पुनरावेदन गर्न पाऊँ भनेर माग गरेका थिए । आफू बस्नेभन्दा फरक वडामा म्याद तामेल भएको दाबी पाण्डेले गरेका छन् ।


उच्च अदालत बुटवल इजलासमा मुद्दाको पुनरावेदन परेको कागजात देखाएपछि उनीविरुद्ध जिल्लाको फैसला निष्क्रिय बनेको थियो । सबै कागजात अदालतले हेरेर मौखिक रूपमा सोधपुछ गरेपछि उनी रिहा भए । पाण्डे रिहा भएपछि यहाँका स्थानीयले विभिन्न जिज्ञासा राखेका छन् । उनी कागजपत्र बलियो बनाएर अदालत पुगेका थिए । तत्कालीन शान्ति समितिले समेत ०६७ वैशाख ३ मा कुर्मी घटनामा पाण्डे संलग्न नरहेको निर्णय गरेर प्रधानमन्त्री कार्यालयमा पत्र पठाएको थियो ।


जिल्ला अदालतले पाण्डेलाई धरौटीमा छाड्‌नु शंकास्पद भएको कुर्मीका छोरा लाला चौधरीले बताए । ‘त्यही घटनामा केही आरोपी पुर्पक्षका लागि थुनामा छन्,’ उनले भने, ‘पाण्डेलाई छाडिनुले न्यायालयप्रति प्रश्न उठेको छ ।’ उक्त आदेशमा जिल्ला न्यायाधीश लोकजंग शाहले चासो राखेका छन् । पाण्डेमाथिका तीन आरोपमा अदालतले कुनै सजाय–जरिवानाको फैसला नगरेकाले छुटेको उनका वकिल सुधाकर पाण्डेले बताए । अदालतले लगत रुजु गर्दा पाण्डेका नाममा कुनै कैद जरिवाना नदेखिएकाले आफूहरूले छाडेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।


विद्रोही स्वभाव, धेरै आरोप

हठी स्वभावका उनी अत्याचारविरुद्ध लड्थे । थिचोमिचो सहँदैनथे । त्यसैले जमिनदारको आँखी बने । जमिनदारले गर्ने अन्यायले पाण्डेलाई विद्रोही बनायो । ०४८ सालपछि कांग्रेस राजनीतिमा सक्रिय बने तर सफलता मिलेन । उल्टै तारो बने । राजनीतिमा सफलताका लागि उनकै विगतले साथ थिएन । ०४६ सालअघि उनकै संलग्नतामा गाउँघरमा चोरी हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । पाण्डे भने आरोप अस्वीकार गर्छन् ।


उनको जीवनमा उतारचढाव रह्यो । तत्कालीन माओवादी द्वन्द्वको सुरुवातदेखि तारो बने । ०६० कात्तिकमा लवनीबाट घर गइरहेका बेला साँझ ७ बजे तत्कालीन माओवादी कार्यकर्ताले गोली प्रहार गरे । साइकलमा जाँदै गर्दा साबिक विठुवा गाविस कार्यालयनजिक ५ राउण्ड गोली लाग्यो । घाँटी, मुख, लिंग, ढाड र खुट्टामा गोली लागेको थियो । उनको तत्काल उद्धार भयो । काठमाडौंस्थित शिक्षण अस्पतालमा तीन महिना उपचारपछि निको भएर उनी घर फर्किएका थिए । घरमा बस्ने वातावरण थिएन । भारत विस्थापित भए । त्यहीँ माओवादीविरुद्ध प्रतिकार समिति गठन गरी कमाण्डर बने । त्यतिखेर उनले गोलीसहित हतियार बोकेको फोटो ‘नेपालय’ले प्रकाशित गरेको ‘युद्धमा जनता’ पुस्तकमा समेत प्रकाशित छ ।


सीमामा बसेर तत्कालीन माओवादीविरुद्ध परिचालित भए । राज्यले सहयोग गर्‍यो । समूह ठूलो बन्दै गएपछि माओवादीका लागि चुनौती बन्यो । त्यही क्रममा ०६१ असार ३ गते प्रतिकार समितिका सदस्य बस्ने पिपरास्थित नसिम अहमद खाँको घरमा माओवादीले आक्रमण गर्‍यो । उक्त आक्रमणमा ६ जनाले ज्यान गुमाए । पाण्डे त्यहाँबाट उम्किए । उनीमाथि गाउँमा पनि थुप्रै आरोप छन् । ०४८ चैतमा कुटपिट, अंगभंग मुद्दामा पाण्डेलाई प्रतिवादी बनाइयो । जिल्ला अदालतले २ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना फैसला गर्‍यो । रुपन्देहीको भैसाहीका महादेव थारुले जाहेरी दिएको लुटपाट मुद्दामा रुपन्देही जिल्ला अदालतले ०६२ जेठ ५ गते ४ वर्ष १ महिना कैद सजाय सुनायो । विस्थापित भएका कारण म्याद बुझ्न नपाएको बताएपछि मुद्दा मुल्तबीमा गयो । तर, कतिखेर जाग्यो र फैसला भयो, उनले पत्तै पाएनन् । त्यसमाथि ०६४ चैत ९ गते हथिहवाका माओवादी कार्यकर्ता शिवपूजन कुर्मीको हत्या आरोपमा ज्यान मुद्दा थपियो ।


फेरि राजनीतिमै लागेर समाजसेवा गर्छु’

राम्रो नेतृत्व गर्छ र राजनीतिमा फड्को मार्छ भनेर विरोधीले सुरुदेखि तारो बनाए । बहुदल आएपछि कांग्रेसको राजनीतिमा लागे । ०४८ सालमै मुद्दा लगाइयो । माओवादी द्वन्द्व सुरु भयो । ०६० सालमा माओवादीले गोली हाने । विस्थापित भई भारतको नौगढ सरे । त्यहाँ ३९ परिवार बसेका थिए । त्यहीँबाट माओवादीसँग लडे । ०६४ वैशाख १३ गते पुनःस्थापित हुने भनेर नेपाल आए तर त्यही दिन फर्के । यता उनलाई तीन मुद्दा लागिसकेका थिए । खुलेर हिंड्न सक्ने अवस्था थिएन । लुकीछिपी हिंड्थे । नेपाल र भारत दुवैतिर गाह्रो हुन थाल्यो । मुद्दा सामना गर्नु बाहेक विकल्प थिएन । ‘ढिलो भए पनि न्यायको जित भएको छ,’ उनले भने, ‘अब फेरि राजनीतिमै लागेर समाजसेवा गर्छु ।’

प्रकाशित : पुस २९, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?