माघीको रौनक : खुर्सानी पिरो नै मीठो

पाँच दिनसम्म मनाइने पर्वमा आफन्तसँग भेटघाट, नाचगान र इच्छाअनुसार परिकार खुवाउने चलन छ

बाँके, रूपन्देही — ढकियाभरि डल्ले, जिरे र लाम्चे खुर्सानी छन् । आँगनमा सुकाइएका खुर्सानी चराबाट जोगाउन सुष्मा थारूले सासू जुल्फीलाई जिम्मा दिएकी थिइन् । ‘थारूको मसला खुर्सानी हो,’ सुष्माले भनिन्, ‘पिरो नहुँदा मीठो लाग्दैन ।’ माघी नजिकिएलगत्तै सुष्मालाई घरको काम भ्याइनभ्याइ छ ।

माघीको रौनक : खुर्सानी पिरो नै मीठो

राप्तीसोनारी गाउँपालिका–८, नयाँगाउँकी उनी शुक्रबार माघी पर्वका लागि रक्सी बनाउँदै थिइन् । ६० वर्षीया जुल्फीलाई बुहारीले रक्सी मिठो बनाइ कि बनाइनन् भन्ने चिन्ता थियो । भान्सामा भएकी बुहारीलाई उनले रक्सी चाख्न इसारा गरिन् । सुष्माले तातो रक्सी कचौरामा ल्याएर चखाइन् । चित्त बुझ्दो स्वाद पाएकी जुल्फीले इसारा गर्दै भनिन्, ‘गुरी बा ।’


माघी पर्वमा पाहुनाले खाने रक्सी र बंगुरको मासु हो । जति मीठो बनायो, उति पाहुना खुसी हुन्छन् । जुल्फीले पुस्तौंदेखि रक्सी बनाउँदै आएको बताइन् । ‘दारु (रक्सी) पार्ने पुराना भाँडा हराइसके,’ उनले भनिन् । उनका छोरा वीरबहादुरले बारीमा लगाएको तरुल खनेर ल्याए । माघीमा बंगुरको मासु, दारु, तरुल, ढिक्री, घुंगी, गन्जी (सखरखण्ड) थारु समुदायको विशेष परिकार हो । आँगनमा तरुल ल्याएर राखेपछि वीरबहादुर खुसीले माघी गीत गुनगुनाउन थाले :

माघी लइली सिखार खेली

सखिय हो, माघकी पिलीगुडी जाँड...!’


माघीमा रक्सी नखाए देउता रिसाउने कथन छ । बच्चादेखि बुढाबुढीले समेत चाख्नैपर्ने वीरबहादुरले बताए । तत्कालीन जनयुद्धका बेला माघी मनाउँदा माओवादीले रक्सी पार्ने पुर्ख्यौली भाँडा फालिदिएको उनले सम्झना गरे । त्यतिबेलै पुस्तौनी रक्सी पार्ने तामाका भाँडा हराएका थिए । अहिले बजारबाट किनेर ल्याइएका स्टिलका भाँडाले काम चलाउनु परेको उनले सुनाए । नयाँ गाउँकी राममती थारुले दारु बनाउँदै टपरी खुट्दै थिइन् । टपरीलाई थारु भाषामा डोनी भनिन्छ । ३८ वर्षीया राममतीले मालुवाको पात टिपेर छिमेकीको सहयोगमा डुनी बुन्ने गरेको सुनाइन् ।


बैजनाथ गाउँपालिका–१ की हरदेसनी थरुनीले थारु महिलाको गुण र अवगुण डुनी खुटाइले छुट्याइने पुर्ख्यौली परम्परा रहेको बताइन् । डुनी बुन्न नजान्नेलाई ढंग नभएकी थरुनी भनेर आलोचना गरिने उनले सुनाइन् । ‘डुनीया लगाउन आउँदैन थरुवा (केटा) खोज्न लाग्यो,’ उनले भनिन्, ‘पढेलेखे नि छोरीलाई डुनीया लगाउन सिकाएकी छु ।’ उनका अनुसार थारु समुदायमा डुनीया चार किसिमका हुन्छन् । भात खाने ठूलो टपरी, जाँड खान मिल्ने डोस्नी डुनी, रक्सी खान मिल्ने मदी डुनी र तरकारी खान मिल्ने चिरो डुनी । माघ १ गते राति ३ बजे उठेर नजिकैको खोलामा गई नुहाउने गरिन्छ । निःसन्तान भएकाले सन्तान पाउने आशमा र बिरामीले निको हुने विश्वासमा माघी नुहाउने परम्परा छ । नदीमा नुहाएर फर्किएपछि घरमा आफूभन्दा ठूलालाई खुट्टामा ढोगेर खानपिन सुरु गरिने बैजनाथका ६० वर्षे पाका प्रभु थारूले बताए । उनले खाएपछि माघौटा नाच गर्ने पुर्ख्यौली चलन छ ।


झुम्काले सिंगारिएका मादल बजाएर महिला–पुरुष एकसाथ नाच्ने गर्छन् । यसै बेला तन्नेरीले पैसा बटुल्ने चलन छ । घर–घरमा नाच्न जाँदा पैसा भुइँमा चढाउने चलन छ । त्यही पैसा उल्टो मुख लगाएर टिप्ने शैलीलाई पैसा लुट्ने भनिने गरिएको प्रभुले सुनाए । ‘पछिल्लो समय मघौटा नाचको मौलिकता हराउन थालेकामा चिन्तित छौं,’ उनले भेन, ‘अहिले त डेग लगाएर नाच्छन् । युवा पुस्ताले मादल बजाउनै भुलेको छ ।’ शनिबार बैजनाथ गाउँपालिकामा भएको माघी मिलन कार्यक्रममा प्रभुले नातिलाई मादल बजाउन सिकाउँदै थिए । ‘मादल बजाउँदा सँगै नातिलाई लाने गर्छु,’ उनले भने, ‘देखेर सिक्ला कि भनेर !’


सांसद पनि व्यस्त

माघी नजिकिएसँगै प्रदेश ५ स्थित तराईका जिल्लामा रौनक छाएको छ । प्रदेशका विभिन्न जिल्लामा माघी महोत्सव सञ्चालन भइरहेका छन् । केही सम्पन्न भइसके । केहीको मिति तय गरिएको छ । प्रदेश सरकारले माघीको अवसरमा बुधबार र बिहीबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले माघीको अवसर पारेर मंगलबार निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । प्रदेश सभामा थारु समुदायबाट प्रतिनिधित्व गर्ने सांसद अहिले चाड मनाउन व्यस्त देखिन्छन् ।

दाङकी प्रदेश सभा सदस्य धमकली चौधरीले माघीको छुट्टै महत्त्व भएको बताइन् । माघी मनाउन सोमबार गृहजिल्ला आएको उनले सुनाइन् । दंगीशरण गाउँपालिकामा मंगलबारबाटै माघी मनाउन सुरु भएको उनले बताइन् ।


‘मंगलबार मछर मरवा स्वरूप बंगुर, खसी, कुखुरा काट्ने, माछाका परिकार बनाउने गरिन्छ,’ उनले भनिन्, ‘यही दिन खिचडी, आलुको अचार, तरुल, सखर, भुजाको लड्डु, अनदीको चामलबाट बनेको रोटी, ढिकरी आदि पकवान बनाइन्छ ।’ उनका अनुसार बुधबार मध्यरात गाउँका सबै बाजा बजाउँदै नजिकैको खोला या तलाउमा स्नान गर्न जान्छन् । पैसाको सिक्का पानीमा चढाएर नुहाउने चलन छ । त्यसपछि महतवाले टीका लगाइदिन्छन् ।


घर फर्किने क्रममा मन्दिरमा पूजा गरी सडकमा कन्या केटीले आफूहरू नदेखिने गरी कलश थापेका हुन्छन् । सोही कलशमा सिक्का पैसा राखिदिंदै घर फर्किने चलन छ । घरमा सासु, ससुरालगायत श्रीमान्लाई तातोपानीले गोडा धोइदिने चलन छ । त्यसपश्चात् पकाएर तयार राखेको परिकार तताउँदै खाने, इष्टमित्रलाई खुवाउने गरिन्छ । आफूहरूसमेत अन्य स्थान जाने र परिकार खाने परम्परा रहेको उनले बताइन् । सो क्रममा दक्षिणा दिने, आशीर्वाद दिने गरिन्छ । यसरी पाँच दिनसम्म नाच्ने गाउने, अन्य गाउँका समेत भैलो खेलेजस्तै आउने, उनीहरूलाई इच्छाअनुसार परिकार चखाउने संस्कार चल्दै आएको धमकलीले सुनाइन् ।


प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने बताए । ‘माघ १ गतेबाट हाम्रो नयाँ वर्षको सुरुवात हुन्छ,’ उनले भने, ‘वर्षभरिको समीक्षा गर्ने र समुदायको नयाँ योजना बनाउने समयका रूपमा समेत यस पर्वलाई लिइन्छ ।’ साथै रातभर थारु गीत, भजन गाउने चलन रहेको उनले सुनाए । अर्को दिनको सुरुवातसँगै सूर्योदय नहुँदै स्नान, पूजा गर्ने चलन छ । स्नान र पूजाले वर्षभरिको पाप काटिने धार्मिक विश्वास रहेको चौधरीले बताए । त्यसपछि पाँच औंलाले छुनेगरी चामल उठाएर बेग्लै राख्ने गरिन्छ । उक्त चामल घरमा माग्न आएका व्यक्तिलाई दिइन्छ । उनका अनुसार सोही दिन परम्परा धान्न थुप्रै माग्ने घरमा आउँछन् । आफूसँगै उनीहरूलाई पनि माघीका परिकार खुवाउने उनले बताए ।


माघ २ गते विशेषगरी अघिल्लो वर्षको हिसाबकिताब टुंग्याउने गरिन्छ । सोही दिन एकै स्थानमा कपाल काट्ने नाईदेखि हँसिया बनाउने लोहारसम्मका व्यक्ति भेला भएर छलफल गर्ने सांसद भुवनेश्वरले जनाए ।


छलफलले वर्षभरि कसले कस्तो काम गर्‍यो भनेर समीक्षा गर्ने र आगामी वर्षका लागि सोही व्यक्ति वा नयाँलाई नियुक्त गर्ने भन्ने विषयमा समेत बहस चल्छ । समुदायको मात्र नभई घरको कामको समीक्षासहित दाजुभाइ अलग्गिने पनि यही दिन उपयुक्त मानिने उनले बताए । यसबाहेक आफन्त भेटघाट र खानेकुरा खाने, नाच्ने सबैतिर गरिने बताए । सहरी क्षेत्रमा थारु समुदाय बसाइँसराइ गरेर आउँदा मौलिकता हराउँछ कि भन्ने चिन्ता रहेको उनले सुनाए । ‘गाउँको स्थानीय चलन, परम्परा सहरमा निभाउन नसक्दा बिर्सिने, छोडिने हुन्छ । यसले समुदायमै असर पर्छ,’ उनले भने, ‘यसको संरक्षणका लागि अगुवा जुट्नुपर्ने देखिन्छ ।’


यता रूपन्देहीका प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले माघीलक्षित महोत्सव नै गरेर पर्व मनाउने बताए । महोत्सवमा झुमडा नाच, लोकल थारु नाच, लठ्ठी नाच, बडेका नाच देखाइने उनले सुनाए । ‘रूपन्देहीको सियारी गाउँपालिकामा माघ १ देखि ५ गतेसम्म महोत्सव नै गर्दैछौं,’ उनले भने, ‘सियारी, गैडहवा, मायादेवी र शुद्धोधन गाउँपालिकामा उत्पादित कृषि सामग्रीको स्टल राख्ने र मत्स्य महोत्सव आयोजना गरेर माघी मनाउँदै छौं ।’

प्रकाशित : पुस २९, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?