मुक्ति सेना बसेको त्यो घर

सन्जु पौडेल

(तिलोत्तमा) — गत वर्ष ज्वरो आयो । यहीँका अस्पतालमा स्वास्थ्य परीक्षण गराए । बिसेक नभएपछि यहाँका चिकित्सकले काठमाडौं जान सल्लाह दिए । संघीय राजधानीमा परीक्षणपछि उनलाई क्यान्सर लागेको पुष्टि भयो । त्यसपछि उपचार सुरु भयो । नियमित दबाई, केमोथेरापी र सेकाइका सिलसिला सुरु भए । तीन महिनाअघिसम्म उनको आत्मविश्वास उच्च झल्किन्थ्यो ।

मुक्ति सेना बसेको त्यो घर

‘अब छिट्टै प्रदेशसभामा गएर भूमिका देखाउँछु,’ तिलोत्तमा–१४, टिकुलीगढस्थित घरमा उनले भनेका थिए, ‘डाक्टरले छिट्टै सुधार देखिन्छ भनेका छन् ।’ त्यसयता उनी झन् थलिँदै गएका छन् । प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल अहिले तिलोत्तमास्थित क्रिमसन अस्पतालको आईसीयूमा रोगसँग लडिरहेका छन् ।


केहीअघिसम्म औषधिको भरमा सक्रिय उनी अहिले श्वासमात्र लिइरहेका छन् । उनलाई सहज तुल्याउन आईसीयूमा भर्ना गरिएको छोराहरूले बताए । उनी प्रदेशसभाका ज्येष्ठ सदस्य पनि हुन् । उनकै अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । जिन्दगीभर कांग्रेसको राजनीति गरेका उनी बुढेसकालमा प्रदेशसभा सदस्य चुनिएका थिए । आफ्नो कार्यकालको दुई वर्षभन्दा लामो समय प्रमुख विपक्षी दलको नेताका हिसाबले बिताए । गम्भीर बिरामी भएपछि प्रदेशसभामा उपस्थित हुन सकिरहेका छैनन् । पछिल्लोपटक लोकसेवा आयोगमा फर्जी कागजात पेस गरेर बुहारी सिफारिस गरेको खुलेपछि उनी विवादास्पदसमेत बने । १९९४ सालमा प्यूठानको तुसारामा जन्मिएका पोखरेलले विद्यार्थीकालबाट राजनीति सुरु गरेका थिए ।


विद्यालय शिक्षा प्यूठानमा लिएपछि संस्कृतमा उत्तरमध्यमा (कक्षा १२ सम्म) अध्ययन गरे । त्यसपछि विद्यार्थी राजनीति सुरु गरे । पिताको बिँडो थाम्न ०१३ बाट कांग्रेसमा आबद्ध भए । परिवारका अनुसार ०१७ सालमा उनी जेल परेका थिए । साढे एक वर्ष जेल जीवन बिताएपछि त्यसले राजनीतिक आधार तयार गरिदियो । ०२० सालमा पिता युगराजले एक लाख २५ हजार रुपैयाँ थमाउँदै रूपन्देहीमा जग्गा किन्न र बसाइँसराइको अनुमति दिए । त्यसपछि परिवार यतै आए । जेठी श्रीमतीबाट एक छोरी छन् भने कान्छीबाट चार छोरा र एक छोरी छन् । ‘राजनीतिमा तल्लीन भएकाले बुबाले परिवारलाई समय दिएको याद छैन,’ कान्छा छोरा मुक्तिले भने, ‘आमाकै रेखदेखमा ठूला भयौं ।


बुबा राजनीतिमै भुल्नुभयो ।’ मुक्ति तरुण दल तिलोत्तमा नगरको कोषाध्यक्ष पनि हुन् । दुई आमाले खेतीकिसानी गरेर घर चलाइरहेका थिए । पुर्ख्यौली खेत भएकाले खर्चलाई अप्ठ्यारो भएन । जेठी पत्नीको १० वर्षअघि मृत्यु भयो । कान्छीलाई टाउको दुख्ने समस्या छ । उनी अहिले पनि घरकै काममा समय बिताइरहेकी छन् । श्रीमान्ले समय नदिएको गुनासो छैन । श्रीमान्को अहिलेको अवस्थाबारे अनभिज्ञ छिन् । छोराछोरी पालैपालो बुबाको रेखदेखमा खटेका छन् । पहिल्यैबाट खरो स्वभावका बलदेवका छोरामध्ये केहीले व्यवसाय गरेका छन् भने केहीले जागिर गरिरहेका छन् । अहिलेसम्म बुबाको उपचारमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको मुक्तिले बताए । ‘बुबाको देनलाई सम्मान गर्दै मानिसहरू भेट्न आउँछन्,’ माइला छोरा राजेशले भने, ‘खुसी लाग्छ ।’ बलदेव छोराहरूसित सधैं पार्टीप्रति चिन्ता व्यक्त गरिरहन्थे । राजनीति गर्ने क्रममा आफ्नो १८ बिघा जग्गामा केहीमात्र जोगाएर सबै खर्च गरेको छोराहरूले सुनाए ।


प्यूठानबाट रूपन्देही आएपछि उनका समकक्षी डिल्लीरमण शर्मा थिए । डिल्लीरमण रूपन्देही कांग्रेसका संस्थापक हुन् । उनैसँग सदस्यता लिएपछि बलदेवले यहीँ राजनीति अघि बढाए । ‘बलदेवजीसँगका सबै पल अविस्मरणीय छन्,’ डिल्लीरमणले भने, ‘मेरो इतिहास जानेको साथी गम्भीर अवस्थामा छ ।’ उनका अनुसार प्रतिबन्धित अवस्थामा राजनीति गर्न कठिन थियो । ‘त्यसबेला नेपालदेखि भारतसम्म चहारियो,’ उनले भने, ‘धेरै हन्डर खाइयो ।’ त्यसबेला ९३ जनाको मुक्ति सेनाको टुकडी रूपन्देही आउँदा डिल्लीरमणको घरमा बसाल्ने अवस्था थिएन । बलदेवका पिताले अनुमति दिएपछि उनकै घरमा बसेका थिए । खानपानदेखि हातहतियार लुकाउन सघाएका थिए । ‘राजा महेन्द्रले ‘कु’ गरेपछि उनीहरूलाई समस्या थियो,’ डिल्लीरमणले भने, ‘नेता–कार्यकर्ता सबैलाई सीधै गोली हान्ने डर थियो ।’ यही डरका बीच बलदेवसित आफ्नो यात्रा कायम रहेको उनले बताए । त्यसबेला ठूला नेता बनारसमा बस्थे । उनीहरूलाई भेट्न जाने, अन्न पुर्‍याउने काम बलदेव र डिल्लीरमणले गरेका थिए । ‘मलाई दाइ भन्छन्,’ डिल्लीरमणले सम्झिए, ‘गुन लाउने परिवार हो पोखरेलको ।’


त्यसबेला डिल्लीरमणका छोराछोरीलाई दूध खुवाउन भैंसी पालिएको थियो । ती भैंसी पनि शासकले लगिदिए । दूधकै लागि बलदेवका पिताले आफ्नो परिवारलाई गाई दिएको डिल्लीरमणले स्मरण गरे । नेपाली कांग्रेसका नेता बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाददेखि सुशील कोइरालासम्म बलदेव र शर्मासँग परिचित थिए र सल्लाह लिने गर्थे । नेता बनारस छँदा बलदेव र डिल्लीले नै यताको काम सम्हाल्थे । ‘बलदेवलाई ०४६ सालमै टिकट दिनुपर्ने, दिइएन,’ डिल्लीरमणले भने, ‘पोखरेल परिवारको कांग्रेसमा ठूलो लगानी छ ।’ गोप्य राख्नुपर्ने केही कुरा कहीलेकाहीँ पिउँदा बलदेवले खोलिदिने डर हुने गरेको सुनाए । ‘त्यसबेला धेरै कुरा गोप्य राख्नुपर्थ्यो तर शर्माजीले खुस्काइदिन्थे,’ उनले भने, ‘जे भए पनि मिल्नचाहिँ अति मिलिन्थ्यो ।’ बलदेव र आफूले सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएको बताए ।


कांग्रेस जिल्ला उपसभापति फणीन्द्र शर्माले बलदेव लोकतान्त्रिक आन्दोलनका योद्धा भएको बताए । जिल्लाको पार्टी निर्माण र विस्तारमा उनको योगदान अतुलनीय रहेको भन्दै पार्टीमा अहम्भूमिका भएको व्यक्तिका रूपमा चिनिने जनाए । ‘पार्टीका लागि अहोरात्र खट्ने अथक् व्यक्ति हुन् बलदेव,’ उनले भने, ‘प्रदेशमै पार्टीको प्रतिनिधित्व गर्ने अभिभावक हुन् ।’


बलदेवका छोराहरू बुबाले पार्टीप्रति गरेको चिन्ताले अचम्म मान्छन् । अस्पतालको शय्यामा समेत कांग्रेस बिग्रियो, सुधार्नुपर्छ भन्ने वाक्य दोहोर्‍याउने गरेको छोरा मुक्तिले सुनाए । ‘बोल्न सक्दा भेट्न आएजतिलाई त्यही भन्नुहुन्छ,’ उनले भने, ‘बुबाको यो इच्छामा म लाग्ने प्रयास गर्नेछु ।’

प्रकाशित : पुस २७, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?