भूमिका खोज्दै महतवा

थारु समाजमा आइपर्ने सबै कामको खटनपटन र व्यवस्थापन गर्ने महतवाको निर्णय मान्य हुन छोडेको छ, स्थानीय तहको निर्णय प्रक्रियामा सहभागी गराउनु पर्ने सुझाव

(दाङ) र (बर्दिया) — महतवा अर्थात् थारु गाउँको अगुवा । हरेक माघीमा छानिने महतवाले वर्षभरि थारु गाउँमा अगुवाइ गर्छन् । जन्म, विवाह, मृत्यु, पूजापाठ, कुलोपानी र झैझगडालगायत समाजमा आइपर्ने सबै कामको खटनपटन र व्यवस्थापन गर्ने जिम्मेवारी महतवाको हुन्छ । यस्तो काम गरेबापत महतवालाई गाउँबाट वार्षिक रूपमा २० मुरी धान उठाएर दिइन्छ ।

भूमिका खोज्दै महतवा

यस वर्षको माघी पर्वले पनि थारु गाउँलाई छोइसकेको छ । धान कुटाउने, तरुल खन्ने, ढिक्री र जाँड बनाउने तथा सुंगुर खोज्ने काममा हरेक थारु गाउँ जुटिसकेका छन् । चाडपर्वको रमाइलोसँगै अब महतवा कसलाई बनाउने भन्ने बहस पनि सुरु भइसकेको छ । तर महतवाहरू भने आफ्नो भूमिका खुम्चिँदै

गएकोमा चिन्तित छन् ।


थारु गाउँको अगुवालाई दाङमा महतवा, देउखुरीमा बडघर तथा मान्जन र बर्दिया, कैलाली, कञ्चनपुरतिर बलभन्सा भन्ने गरिन्छ । हरेक वर्ष माघ १ गते महतवाको घरमा भेला भएर नयाँ महतवा चुन्ने या पुरानैलाई नवीकरण गर्ने भन्ने छलफल हुन्छ । पहिले महतवाले गरेका सबै निर्णय मान्य हुन्थे तर अहिले त्यसो हुँदैन । ‘अहिले गाउँमा हुने कार्यक्रममा मान्छे जुटाउने भूमिका मात्रै भइरहेको छ,’ घोराही उपमहानगरपालिका–६ बेरगैंका महतवा सगुनराम चौधरीले भने, ‘हाम्रा निर्णय मान्य हुन छोडे ।’ अहिले स्थानीय सरकारले नै सबै काम गर्ने भएकाले उनीहरुको भूमिका खुम्चिँदै गएको छ, तैपनि थारु समुदायलाई महतवा नभई पनि भएको छैन । ‘कानुनी रूपमा हाम्रो मान्यता नहुँदा समस्या भएको छ,’ तुलसीपुर उपमहानगरपालिका–१९ पक्रैयाका महतवा कृष्ण चौधरीले भने ।


राणाकालमा जिल्लामा पाँच प्रगन्ना अर्थात् राज्य थिए । त्यसमा एउटा ‘मन्जन’ अर्थात् मान्यजन हुन्थे । महतवाहरू प्रगन्नाको सदस्य हुन्थे । जग्गा–जमिनको रखबारी गर्ने र गाउँका सबै झैझगडा मिलाउने जिम्मेवारी हुन्थ्यो । महतवाले विवाद मिलाउन नसके प्रगन्नामा रहेका मन्जनसमक्ष मुद्दा पुग्थ्यो । मन्जनले पनि हेर्न नसके माल अमिनी कार्यालय र त्यसले पनि नसके काठमाडौंबाट सरकारी मान्छे आएर टुंगो लगाउँथे ।


पञ्चायतकालपछि महतवाको भूमिका खुम्चिँदै गएको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘पञ्चायतकालमा सबै मुद्दा पञ्चहरूसमक्ष जान थाले । महतवालाई भूमिका दिइएन । बहुदलीय व्यवस्था आएपछि महतवा पनि विभिन्न पार्टीमा लाग्न थाले,’ उनले भने, ‘अहिले स्थानीय सरकार नै भएपछि सबै काम सरकारमा पुगे ।’ अहिले महतवामा आएका मुद्दा वडा कार्यालयमा पठाउने गरेको उनले बताए ।


थारु गाउँको संस्कार धान्न भने महतवा अनिवार्य भएको महतवा महासंघका केन्द्रीय सदस्य जगवीर चौधरीले बताए । ‘जन्म, मृत्यु, विवाह र कुलोपानीकोकाम अरु कसैले गर्नै सक्दैन,’ उनले भने, ‘तर हाम्रो भूमिकालाई सरकारले सम्बोधन गर्न सकेन ।’ अहिले राजनीतिक आस्थाका आधारमा महतवा र थारु गाउँहरू विभाजित भइरहेको उनले बताए ।


देवता मनाउने भूमिका

पहिले थारु समाजमा सबै कर्म देवताकै कारण हुन्छ भन्ने विश्वास थियो । प्रत्येक गाउँमा भुइयार थान बनाउनैपर्ने चलन थियो । अब नबनाए पनि हुन्छ भन्ने भयो । भुइयार थानको संरक्षक महतवा हुन्थ्यो । देवीदेवतालाई मनाउने काम महतवाले नै गर्छ भन्ने विश्वास थियो । ‘देवीदेवता मनाउन पनि सीप चाहिन्छ भन्ने मानिन्छ । त्यसकारण पनि जोकोही महतवा हुन मान्दैन,’ घोराही–७ बेसाहीका महतवा चन्द्रप्रसाद चौधरीले भने, ‘महतवाले अहिले पनि खाली भूतप्रेत, देवता मिलाउने र पूजाआजा गर्ने काम मात्रै धान्नुपरेको छ । अरु महत्त्व घट्दै गएको छ ।’


अधिकांश थारु गाउँमा एउटै मान्छेलाई नै महतवामा निरन्तरता दिने गरिएको उनले बताए । पहिले महतवाको परिवारभन्दा गाउँमा बेग्लै शान र मान हुन्थ्यो । खर्च धेरै हुने भएकाले महतवा सम्पन्न परिवारबाटै छान्ने चलन छ । महतवा भएपछि चाडपर्वमा जुट्ने मानिसलाई मिठो खुवाउनुपर्ने, भेटघाटका लागि आउने पाहुनालाई स्वागतसत्कार गर्नुपर्ने र अन्य काममा हिँड्दा खर्च लाग्ने भएकाले आर्थिक अवस्था कमजोर भएको मानिस यो पदमा जान तयार हुँदैन । थारुमा ७१ भन्दा बढी जात रहेको र सबैका फरकफरक देवता हुने बुझाइ छ । जिल्लामा दुई हजारभन्दा बढी महतवा छन् ।


माघी र महतवा

माघी पर्व महतवाकै वरिपरि केन्द्रित हुन्छ । महतवाकै घरमा जुट्ने, टीका थाप्ने, नाचगान गर्ने र अन्त्यमा महतवाको कामको समीक्षा गरी नयाँ महतवा चुन्ने । पहिलो दिन रक्सी खाएर महतवालाई जति सकिन्छ, त्यति गाली र गुनासो गर्न पाइन्छ । पहिले महतवालाई प्रत्येक खेतीपातीको सिजनमा एक दिन प्रत्येक घरपरिवारले काम गरिदिनुपर्ने चलन थियो । अहिले त्यसको सट्टा खाद्यान्न दिने चलन चलेको छ । सामान्यतया माघी पाँच दिनसम्म चल्छ । पुस २८ गते माछा मार्ने, २९ गते खसी, सुंगुर, कुखुरा मार्ने र ३० गते तरुल, गन्जी खन्ने गरिन्छ । माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटाला गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने चलन छ । अन्त्यमा नाचेको पैसाबाट भोज गरेर समापन गर्ने चलन छ । माघीको दिन बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराऊ छुने र त्यसपछि गाउँका मान्यजनको घरमा गएर टीका लगाउने चलन छ ।


अहिले पनि यो निरन्तर चलिरहेको छ । बेलुकापख थारु गाउँको अगुवा महतवाको घरमा सबै जना जाँड, रक्सी र तरकारी लिएर मान्न जाने गर्छन् । महतवाको घरमा जम्मा भएको खानेकुरा सबै मिलेर खाने र नयाँ महतवा चयनको छलफल गर्ने गरिन्छ । नयाँ वर्षका लागि महतवा छान्ने र नयाँ योजना बनाउने काम सम्पन्न गरिन्छ । बेलुकापख महतवाको घरमा नाचगानको सुरुवात गरी हरेक घरमा नाच्न गइन्छ । महतवा, रैती, कमैया, कमलरीजस्ता कामकाजी व्यथाका गीत पनि माघीमा गाउने गरिन्छ ।


पहिलेपहिले माघीमा महतवा चुन्न मात्रै छलफल हुने गरेकामा अहिले महतवाको भूमिका के हुने भन्नेबारे बहस हुने गरेको छ । देशको नयाँ शासकीय स्वरूपमा कतै न कतै महतवाको भूमिका देखिनुपर्ने थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘महतवालाई पनि स्थानीय तहको निर्णय प्रक्रियामा सामेल गराउने परिपाटी सुरु गर्नुपर्छ,’ उनले भने ।


बडघरको चर्चा सुरु

(बर्दिया) । माघी पर्व नजिकिँदै गर्दा पश्चिम तराईका थारु गाउँमा बडघरबारे चर्चा सुरु भएको छ । गाउँको अगुवा मानिने बडघर पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । बडघर बन्नका लागि दुई जनाले इच्छा गरे निर्वाचन हुन्छ । उनीहरूले वर्षभरि गरेका काम र गतिविधिबारे प्रतिवेदन तयार पार्छन् । गाउँभरिका सर्वसाधारणले बडघरले गरेका काममा आफ्नो मत राख्छन् । त्यसैले पनि यसलाई लोकतन्त्रको अभ्यास मानिन्छ । त्यस्तै माघीमा घरमुलीले वर्षभरिको हिसाब किताब अनिवार्य देखाउनु पर्ने परम्परा छ । बडघरले आफूले गरेका कामको प्रतिवेदन तयार गरिसकेका छन् ।


बढैयाताल गाउँपालिका बढैयाका बडघर गोविन्द चौधरीले नयाँ बडघर चयनबारे गाउँमा छलफल भइरहेको बताए । एक/दुई दिनमा टुंगो लाग्ने उनले जनाए । गाउँको विकासका लागि बडघरले नै अगुवाइ गर्ने चलन छ । खानेपानी र सिँचाइका लागि कुलो मर्मत तथा सडक निमार्णलगायतका सार्वजनिक कामका लागि उनीहरूले नै अगुवाइ गर्नुपर्छ । त्यस्तै, गाउँघरमा हुने सानातिना विवाद बडघरले नै मिलाउने गर्छन् । ‘बडघर चयन गर्दा उनीहरूले गरेको कामको मूल्यांकन अनिवार्य गरिन्छ । राम्रो काम गर्नेलाई फेरि पनि दोहोर्‍याएर बडघर छनोट गरिछ । ‘होइन भने अर्को व्यक्तिलाई चुनिन्छ,’ पूर्वबडघर तथा थारु अगुवा चन्द्रबहादुर चौधरीले भने, ‘सकेसम्म सर्वसम्मत तरिकाले बडघर छानिन्छन् । तर, योग्य उम्मेदवार धेरै भए चुनाव पनि हुनसक्छ ।’


गाउँको सार्वजनिक कार्यमा रातदिन खटिने बडघरले कुनै पारिश्रमिक लिँदैनन् । त्यसैले पछिल्लो समयमा सरकारले नै पारिश्रमिक दिनुपर्ने आवाज उठ्न थालेको छ । आफूहरूले गर्ने कार्यले सरकारलाई नै सहयोग पुग्ने भन्दै बडघरहरूले पारिश्रमिकका मुद्दा उठाउन थालेका हुन् । गाउँका विकासका काम, गाउँमा गरिने पूजा, विवाह, मृत्यु संस्कारका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था बडघरको अधिकारभित्र पर्छ । गाउँका सर्वसाधारण बिरामी पर्दा झारफुक र थारु कुल देवीदेउताको पूजा गर्नका लागि गुरुवा चयन गरिन्छ । गाउँको सुरक्षाका लागि रात्रिगस्ती गर्न चौकिदार नियुक्त गर्ने परम्परा छ । तर, पछिल्लो समयमा बडघर छनोटमा पनि राजनीतिले स्थान पाउन थालेको छ । बडघरले नै गाउँ हाँक्ने भएकाले राजनीतिक दल आफ्ना कार्यकर्तालाई अगुवा बनाउने प्रयासमा छन् । आफ्ना पक्षका बडघर भए मतदाता आफ्ना हुने विश्वास नेताको छ ।


प्रकाशित : पुस २६, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?