सुनसान बन्दै चौरपानी गाउँ

(प्यूठान) — लौकादेवी गिरी १२ दिनदेखि सम्पर्कविहीन थिइन् । गिरीकै आँगनमा रहेको सार्वजनिक धारामा पानी भर्न आउने दिदीबहिनीले उनी हराएको कुरा गर्थे । मल्लरानी गाउँपालिका–३ चौरपानीकी ६१ वर्षीया गिरीको समयमै खोजतलास हुन सकेन । गाउँमा वृद्धवृद्धा र महिलामात्र भएकाले खोज्न नसकेको स्थानीयले बताए ।

सहयोगका लागि हरेक महिनाको २० गते बस्ने गरिबी निवारण कोषअन्तर्गत सञ्चालित घुम्ती कोषको बैठक पर्खनु पर्‍यो । बैठकमा सहभागीले गाउँले कटुवालमार्फत हाँक हाल्न लगाएर उनको खोजी गर्न आग्रह गरे । सबै लागेर खोजी गर्दा हत्या गरेर खरबारीमा गाडिएको अवस्थामा लौकादेवीको शव फेला पर्‍यो । अहिले उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


लौकादेवीका छोराछोरी कामका सिलसिलामा जिल्लाबाहिर छन् । उनका मात्र नभई चौरपानी गाउँका युवाजति कामको खोजीमा गाउँबाहिर छन् । त्यसैले परिआउँदा सहयोग गर्ने युवा गाउँमा नभएको स्थानीय कृष्णराज पाण्डेले बताए । ‘गाउँमा वृद्धवृद्धा र केटाकेटीमात्र छन्,’ उनले भने, ‘यसले गर्दा गाउँले निराश छन् ।’ सुविधाको खोज्दै स्थानीय बसाइँ सरेर मधेस झरेको उनले बताए । ८/१० वर्षयतादेखि गाउँ सुनसान बन्दै गएको उनको भनाइ छ । महिलाको हत्या गरी शव फालेको अवस्थामा फेला परेपछि चौरपानी बट्टाकुराका स्थानीय त्रासमा छन् । गाउँमा रहेका एक–दुई जना पुरुष पनि मृत भेटिएकी लौकादेवीको पोस्टमार्टमका लागि बिजुवार झरेका छन् । महिलाहरू त्रासमा रहेको स्थानीय सुस्मिता गिरीले बताइन् । अलग–अलग घरमा बसेका खोड्स गिरीका दम्पतीमध्ये लौकादेवीको हत्या गरी शव खरबारीमा खाडल खनेर गाडेको अवस्थामा फेला परेको उनले बताइन् । ‘टाउकामा ठूलो चोट लागेको शव फेला पारेका हौं,’ उनले भनिन्, ‘घरमा बसेकी वृद्धाको हत्याले गाउँलाई नै त्रस्त बनाएको छ ।’


मृतकका श्रीमान् खोड्सलाई अनुसन्धानका लागि प्रहरीले लगेको छ । ‘गिरीहरूको शतगत गर्ने परम्परा फरक किसिमको छ,’ सुस्मिताले भनिन्, ‘हामीले खाडल खनेर मृतकको अन्त्येष्टि गर्छौं । खाडल खन्नेसमेत मान्छे गाउँमा छैनन् ।’ चौरपानीबाट विगत पाँच वर्षयता झण्डै २५/३० परिवार बसाइँ सरेर अन्यत्र गएको मल्लरानी–३ का वडा सदस्य मेघराज आचार्यले बताए । दसैं, तिहार, देवालीलगायत चाडपर्वमा मात्र दुई–चार दिन बाहिर गएकाहरू आएर रमाइलो हुने उनले बताए । ‘पछिल्लो समय गाउँ सुनसान हुँदै गएका छन्,’ आचार्यले भने, ‘यसले गर्दा गाउँमा चौतर्फी समस्या थपिँदै छ ।’


प्रकाशित : पुस २५, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?