२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

क्यान्सरले थलिए विपक्षी दलका नेता

घनश्याम गौतम

(रूपन्देही) — प्रदेश ५ को प्रदेश सभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल एक वर्षदेखि क्यान्सर रोगले थलिएका छन् । फोक्सोबाट संक्रमण सुरु भएको क्यान्सर अन्य अंगमा समेत फैलिएको छ । उपचारका लागि विदेश नजाने अडानले स्वदेशकै विभिन्न अस्पतालमा उपचार गराइरहेका उनको सोमबारदेखि रूपन्देहीकै क्रिमसन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । 

क्यान्सरले थलिए विपक्षी दलका नेता

उनलाई गत माघमा क्यान्सर देखिएको थियो । काठमाडौंको हेम्स अस्पतालमा परीक्षणका क्रममा क्यान्सरका लक्षण देखिएपछि नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट दिल्लीको राजिव गान्धी अस्पताल लैजान रिफर गरिए पनि उनले विदेश जान मानेनन् । काठमाडौंकै नर्भिक अस्पतालमा लामो उपचार चल्यो । डा. राजेन्द्र बरालको नेतृत्वमा ६ चरणको केमो चढाएर सुधार भएपछि उनले झण्डै ६ महिनादेखि घरमै उपचार गराइरहेका थिए । सोमबार थप समस्या देखिएपनि परिवारले अस्पताल पुर्‍याएका हुन् । उनी अहिले आईसीयूमै छन् ।


८२ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा कांग्रेसको समानुपातिक कोटाबाट निर्वाचित हुन् । भाइ ईश्वरचन्द्र पोखरेलका अनुसार काठमाडौंको रानीपोखरीस्थित संस्कृत पाठशालामा पढ्दा बलदेव २०१३ सालमा नेपाल छात्र संघ गठन गरेर कांग्रेसमा आबद्ध भएका थिए । २०१५ सालमा संसदीय निर्वाचनमा उमेर नपुगेकै कारण ८५ नं. क्षेत्रमा चुनाव लड्न पाएनन् । २०१८ सालमा २ वर्ष जेल परे । प्यूठानमा जन्मिएका उनी २०२१ सालपछि रूपन्देहीको राजनीतिमा सक्रिय थिए । रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष पार्टीको जिल्ला सचिव भए । जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रुपमा निरन्तर पार्टीमा सक्रिय नेता हुन् ।


बिरामी परेयता उनलाई प्रदेश सरकारले यसअघि ५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश मुख्यमन्त्री शंकर पोखरेल मंगलबार अस्पतालमै पुगेका थिए । स्वास्थ्य अवस्था बुझ्दै उपचारको सबै खर्च सरकारले बेहोर्ने जानकारी दिएको बलदेवका छोरा मुक्ति पोखरेलले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार फोक्सोबाट सुरु भएको संक्रमण अहिले मस्तिष्क, कलेजो, बोनम्यारोमा पनि देखिएको छ । बिरामी परेयता उनी वर्षे अधिवेशनदेखि नै प्रदेशसभा बैठकमा उपस्थित हुन सकेका छैनन् ।


प्रकाशित : पुस २३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?