परम्परागत कृषि संग्रहालयमा आकर्षण

सन्जु पौडेल

(रूपन्देही) — बुटवलका नौ वर्षीय डेभिड बन्जाडे घोरिएर एउटै कृषि वस्तु हेर्दै थिए । आडैमा उभिएका उनका पिताले उक्त वस्तुका बारेमा जानकारी दिँदै थिए । लगभग २० मिनेटजति उनले एउटै स्थानमा अडिएर विभिन्न सामग्री हेरे । ती सामग्री चिने । तिनको नाम र प्रयोगबारे सिके । उनीजस्तै देवीनगरकी १९ वर्षीय सन्जु पराजुलीले पनि साथी र अन्य अवलोकनकर्तासँग बुझ्दै केही चिन्ने प्रयास गरिरहेकी थिइन् । 

परम्परागत कृषि संग्रहालयमा आकर्षण

बुटवलमा सञ्चालित २०औं औद्योगिक व्यापार मेलामा मंगलबार भेटिएका बन्जाडे र पराजुलीजस्तै धेरैलाई परम्परागत कृषि सामग्रीका बारेमा थाहा छैन । मेलामा राखिएको कृषि संग्रहालयले उनीहरूलाई ती सामग्री चिन्ने अवसर जुटाइदिएको छ । बन्जाडे र पराजुलीलाई पहाडी क्षेत्रमा प्रयोग गरिने कृषि सामग्रीको परिचय नै मेलाले दियो । यतै जन्मेका उनीहरू दुवैले यसअघि ती सामग्री कहिल्यै नदेखेको बताए । ‘एकदमै रमाइलो लाग्यो, नौलो वस्तु जान्ने मौका पाइयो,’ पराजुलीले भनिन् ।


गुल्मीको अस्लेवामा जन्मिएकी मिठु पाण्डेको बसाइ तिलोत्तमामा छ । मेला घुम्न आएकी उनले संग्रहालयमा पसेपछि गाउँमै गएको महसुस भएको बताइन् । ‘यहाँ देखेका सबै चिज गाउँमै प्रयोग गरेको हो तर अहिले कतिको नामै भुलियो,’ उनले भनिन्, ‘१३ वर्षअघि गाउँ छोड्दाका सम्झना ताजा भए ।’ आफूले गाउँमा छँदा प्रयोग गरेका पानी परेका बेला ओढ्ने घुम, खुर्पा, कोठी, थुम्सी लगायत सामग्री हेर्दै उनी दंग परिन् ।


कपिलवस्तुको इमलियाकी आर्या केसी मंगलबार बुबा राज केसीसँगै मेला घुम्न आएकी थिइन् । उनले कृषि सामग्री हेर्दै भनिन्, ‘यो (खुर्पा) त हाम्रो घरमा पनि छ ।’ अहिलेका केटाकेटीलाई हाम्रा पालाका सामानबारे चिनाउन लागेको बुबा राज बताए । पुस्ता अघि बढ्दै जाँदा पुराना सामग्री लोप हुने भएकाले त्यस्ता सामग्रीको संरक्षण जरुरी रहेको उनले औंल्याए । अर्घाखाँची, गुल्मी र बाग्लुङका युवाको सक्रियतामा बुटवल मेलामा राखिएको कृषि संग्रहालयले बच्चादेखि वृद्धसम्मलाई नेपाली परम्परागत कृषि सामग्री चिन्ने अवसर जुराएको छ । प्रवेश नि:शुल्क गरी परम्परागत कृषि सामग्रीको संरक्षण स्वरूप स्टल राखिएको संग्रहालयका सदस्य सन्जय गैरेले बताए । अर्घाखाँची घर भएका उनले चिया गफ गर्दै बस्दा पुराना सामानका बारेमा कुरा भएको र तस्बिर हेर्दै चिन्ने प्रयास गरेको सम्झिए । नजिकै भेटिएका बालबालिकालाई तस्बिर देखाएर ती सामग्री चिन्न लगाउँदा नचिनेपछि ती सामग्रीको संकलन र प्रदर्शन गर्ने सोच आएको उनले सुनाए । आफूसँगै प्रकाश बेलबासे, हिमाल बेलबासे, प्रकाश ज्ञवालीको समूहले १५ दिन लगाएर सामग्री जुटाएको उनले बताए । रोयल टिमुर छोप उद्योग सञ्चालक यी चार युवाले व्यवसायसँगै परम्परागत सामग्रीको संकलनलाई जारी राखेका छन् । अर्घाखाँचीको भूमिकास्थान, गुल्मीको मुसिकोट र बाग्लुङ जिल्लाबाट संकलन गरी गत वर्षको मेलाबाट परम्परागत कृषि सामग्री प्रदर्शन गर्न सुरु गरेको उनीहरूले बताए ।


संग्रहालयमा पुराना वाद्यवादन मादल, खैंजडी, झेली, दमाहा, धम्पुरीसहित आरन, मदानी, हुक्काचिलिम, डाली, डालो, मोटुलो, चौंठी, मकैको खोस्टाबाट बनेका चकटी, गुन्द्री, हाँडी, भोटे चाबी, खुकुरी, हँसिया र लालटिनजस्ता १ सय ५० बढी सामग्री छन् ।


बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ९ पुसदेखि जारी मेला बुधबार सकिँदै छ । मेलामा सहभागी स्टलमध्ये कृषि संग्रहालयले दर्शकको आकर्षण बढाएको मेला मूल आयोजक कार्यसम्पादन समितिका उपसंयोजक हरिप्रसाद अर्यालले बताए । ‘यो संग्रहालयले अहिलेकालाई बाउबाजे र अलि वृद्धलाई आफ्नो जमाना याद गराउने गरी झल्को मेटिदिएको छ,’ उनले भने, ‘यसको स्थायित्व गर्न सकिएमा पुस्तौंपछि पनि ती सामग्रीको पहिचान अमर रहनेछ ।’

प्रकाशित : पुस २३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?