प्लास्टिकमुक्त नगर अभियान : दिनरात खट्दै तिलोत्तमावासी

विकल्पमा कपडा, अल्लो, जुट र अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला र सामग्री प्रयोग गर्न आग्रह 
सन्जु पौडेल

काठमाडौँ — तिलोत्तमा नगरपालिकामा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम हेर्न स्थानीय एक बोरा प्लास्टिक बोकेर पुगे । राष्ट्रिय कलाकार पशुपति शर्मा, राधिका हमाल र निर्णय श्रेष्ठलगायत सहभागी ‘तिलोत्तमा पोलिथिन साँझ’ हेर्न प्रवेश टिकटका रूपमा एक बोरा प्लास्टिक संकलन गरेर बुझाउनु पर्ने नियम थियो । नगरपालिकालाई प्लास्टिकमुक्त बनाउन यस्तो रचनात्मक कार्यक्रम आयोजना गरिएको हो ।

प्लास्टिकमुक्त नगर अभियान : दिनरात खट्दै तिलोत्तमावासी

गत साउनमा नगरलाई प्लास्टिकमुक्त बनाउने निर्णयअनुसार अहिले यहाँका टोल, विद्यालय र सामाजिक संघसंस्था दैनिक खटिरहेका छन् । यहाँ दैनिक सरसफाइ र प्लास्टिकले पुर्‍याउने असरबारे जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यही क्रममा नगरसँगको सहकार्यमा सीम नेपालले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । फोहोर संकलन कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरे समेत सहभागी भइरहेका छन् । नगरमा प्लास्टिकसम्बन्धी फोहोर रोक्न नगरले सचेतनाका कार्यक्रमदेखि विभिन्न संस्था र व्यक्तिसँगको सहकार्यलाई जोड दिएको छ ।

नगरपालिकाले गत वैशाखमा प्लास्टिकका झोला निषेध गरेको थियो । त्यससँगै प्लास्टिकका कप, प्लेट र चम्चा निषेध गरेको छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पारेकाले न्यूनीकरणका लागि प्लास्टिकका सामग्री प्रयोग, आयात र निर्यातलाई निषेध गरिएको नगर प्रमुख घिमिरेले बताए । प्लास्टिकसम्बन्धी फोहोर जथाभावी फाल्दा कृषि भूमि जर्जर हुने र सहरी सौन्दर्यमा असर पर्ने भएकाले विकल्प अपनाउन थालिएको उनको भनाइ छ ।


नगरपालिकाले विकल्पमा कपडा, अल्लो, जुट र अन्य वातावरणमैत्री वस्तुबाट बनेका झोला एवं वैकल्पिक साधन प्रयोग गर्न आग्रह गर्दै आएको उनले बताए । घोषणापूर्व सरोकारवालासँग पटक–पटक छलफल गरिएको थियो । ‘प्लास्टिकका झोला विक्री रोक्न बजार अनुगमन गरिरहेका छौं,’ घिमिरेले भने, ‘नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गर्नुका साथै दैनिक माइकिङसमेत गरिरहेको छ ।’ नगरपालिकाको आग्रहमा विभिन्न संघसंस्था, सहकारी र टोल विकास संस्थाले कपडाका झोला वितरण गरिरहेका छन् ।


यसका लागि विभिन्न जनसमुदाय, संघसंस्था र निजी कम्पनीले सहयोग गरिरहेको उनले जनाए । नगरको १ देखि ९ र १५ नम्बर वडामा प्लास्टिकसम्बन्धी फोहोर बढी उत्पादन हुन्छ । तीबाहेकका अन्य बस्ती गाउँ भएकाले त्यहाँ यस्तो समस्या नहुने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । अहिले तिलोत्तमा–८ स्थित सुखौरा खोलाको उकास क्षेत्रमा केही वडाको फोहोर व्यवस्थापन भइरहेको छ । पछि सबै वडाको फोहोर त्यहीँ व्यवस्थापन गरिने श्रीले बताए । उक्त स्थानमा जनसहभागितामा एक सहकारीले फोहोर प्रशोधन केन्द्र निर्माण गरेको छ, जहाँ प्लास्टिकका फोहोरलाई पुनः प्रयोग गर्न मिल्ने गरी विक्री गरिरहेको उनले बताए ।


प्लास्टिकसम्बन्धी फोहोर छुट्याएर पुनः प्रयोग हुनेजति जम्मा गरेर विक्री भइरहेको छ । विक्री नहुने फोहोरलाई प्लान्ट निर्माण गरेर प्रशोधन गरिने उनले बताए । ट्रस्ट निर्माण र बिजुली जडानको काम भइसकेको र प्लान्ट जडान छिटै गरिने उनले जनाए । सहकारीले हाल ८, ९ र १५ वडाको प्लास्टिकसम्बन्धी फोहोर व्यवस्थापन गरिरहेको छ । त्यसका लागि नगरले व्यवस्थापकीय सहयोग गरेको छ भने अन्य लगानी सहकारीले गरेको छ ।


वातावरण अभियन्ता निपेश ढाकाले सीम नेपालमार्फत शून्य पोलिथिन तिलोत्तमा नगर बनाउन अभियान थालेका छन् । अहिले नगरका विभिन्न विद्यालय, टोल विकास संस्था र वडासँग समन्वय गरी प्लास्टिकले गर्ने असर र पर्यावरणीय संरक्षणका लागि निर्वाह गर्नुपर्ने झूमिकाका विषयमा अन्तर्त्रिया र कक्षा सञ्चालन गर्दै आएको उनले बताए । नगरमा सीम नेपालको संयोजनमा दुई सय स्वयंसेवक खटिएका छन् । अभियन्ता ढाकाले यस वर्ष पाँच हजार बुद्धिजीवी, १५ हजार विद्यार्थी एकै स्थानमा भेला गरेर वातावरणसम्बन्धी चेतना फैलाउन र विश्व कीर्तिमान कायम गर्ने तयारी गरिरहेको बताए ।


नगरपालिकाले अभियानमा डस्टबिन, पन्जा, मास्कदेखि डिस्पोज गर्ने बोरा उपलब्ध गराउँ आएको छ । साथै, विशेष व्यक्ति आएका बेला खर्च बेहोर्नेदेखि व्यवस्थापकीय पाटो र स्वयंसेवक परिचालनमा सहयोग गरिरहेको प्रवक्ता श्रीले बताए । नगरले मुख्य सहरी क्षेत्रमा व्यवस्थित खालका डस्टबिन राख्ने र घरघरमा नगरकै गाडी फोहोर संकलनका लागि पठाउने भएको छ ।


तिलोत्तमा–१ स्थित शिवचोक टोल विकास संस्थाका अध्यक्ष भेषराज गैरेले सकारात्मक अभियान भएकाले सहकार्य गरिरहेको बताए । नगरभित्रका १ सय ८९ टोल विकास संस्थामध्ये सरसफाइको काममा आफ्नो संस्थाले उत्कृष्ट सम्मान पाएको उनले जानकारी दिए । प्रत्येक महिनाको १ र १५ गते नियमित सरसफाइ गरिरहेको उनले बताए । विभिन्न संस्थासँगको सहकार्यमा तिलोत्तमा–२ ले पनि सफाइको काम गरिरहेको शिवालय टोल विकास संस्थाकी अध्यक्ष अम्बिका पन्थले बताइन् । ‘नगरपालिकाले प्लास्टिक व्यवस्थापन गर्ने तरिका सिकायो,’ उनले भनिन्, ‘धेरै सुधार भइसकेको छ ।’

प्रकाशित : पुस २२, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?