शौचालय जाँदा शिक्षकबाट कुटिए

मधु शाही

बाँके — परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो । सुरुदेखि शौचालय जान खोजेका भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन् । दुई घण्टा भएपछि खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागे । बाहिर निस्कनेबित्तिकै उनको पछाडिबाट कसैले टाउकोमा हाने । फर्केर हेर्दा कम्प्युटर शिक्षक भानुभक्त रेग्मी थिए ।

शौचालय जाँदा शिक्षकबाट कुटिए

‘मलाई किन पिटेको सर ?’ भन्दै प्रश्न गर्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए । झन्डै १५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामा चोट लागेको छ । किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताए ।

नेपालगन्जस्थित आदर्श माविमा १२ कक्षामा पढ्ने कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका हुन् । बिनाकारण आफूमाथि कुटपिट भएको भन्दै उनले साथीहरूसँग गुहार मागे । भीडले घेरेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको हो । शिक्षक रेग्मीको सन्काहा स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन् ।


कक्षा १२ मै पढ्ने दीपक केसीले शिक्षक रेग्मीको ‘सन्की’ स्वभावका कारण आफूले पनि पिटाइ खानुपरेको बताए । कक्षा ११ को परीक्षा चल्दै थियो । कापीमा नबुझेर यहाँ कसको नाम लेख्नुपर्छ सर भनी सोधेका थिए । त्यतिबेला रेग्मीले ‘तेरो बाउको नाम लेख’ भन्दै टाउकोमा हिर्काएको उनी अझै सम्झन्छन् । साथी प्रिन्सुमाथि कुटपिट भएको यहाँका विद्यार्थीलाई नौलो लागेको छैन । अधिकांशले शिक्षकको मुडमा हरेक विद्यार्थीले कुटाइ खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

घटनाको प्रत्यक्षदर्शी नवीनविक्रम चन्दले शिक्षकको दादागिरीका कारण धेरै विद्यार्थीलाई समस्या रहेको बताए । टुरमा जाँदा होस् या स्कुलको कक्षाकोठामा । प्रश्न नगर्दै कुटपिट गर्ने शिक्षकविरुद्ध उनीहरूले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दिन पुगेका थिए । ‘कुटपिट गर्न पाइँदैन भनेर जिप्रकामा उजुरी दिएका छौं,’ कक्षा १२ मा पढ्ने नवीनले भने, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन् । हामीमाथि अन्याय भएको छ ।’


पीडित प्रिन्सुको घाँटीमा नीलडाम छन् । टाउकोमा चोट छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले हमाललगायतका केही विद्यार्थीले शिक्षकले कुटपिट गरेको भन्दै उजुरी दिएको बताए । ‘पीडितको अवस्था हेर्दा कुटाइ खाएको देखिन्छ,’ उनले भने, ‘छानबिन गरेरै कानुनी प्रक्रिया अपनाउनुपर्छ ।’

प्रकाशित : पुस २१, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?