कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘बुढेसकालमा सहारा मिलेन’

वृद्धवृद्धा भन्छन्, ‘घर जान मन छ । लिन कोही आउँदैन’
सन्जु पौडेल

रूपन्देही — एक साता लामो शीतलहरपछि शुक्रबार वर्षा भयो । शनिबार बिहान पारिलो घाम लाग्यो । त्यही घाममा सिद्धार्थनगर नगरपालिकाकी ८७ वर्षीया सरस्वती प्रधान ढाड सेकाउँदै थिइन् । बूढो शरीर, चाउरिएको छाला । ‘घाम नलागेर अत्याको थियो,’ उनले भनिन्, ‘खुट्टा र ढाड दुख्ने समस्याले पिरोल्छ ।’

‘बुढेसकालमा सहारा मिलेन’

प्रत्येक महिना एक हजार रुपैयाँको औषधि खाइरहेको उनले बताइन् । उनका श्रीमान्को ३० वर्षअघि क्यान्सर लागेर निधन भएको थियो । मजदुरी गरेर श्रीमान्को उपचार गरे पनि बचाउन सकिनन् । दुई सन्तानमध्ये छोराको पनि गत वर्ष मृत्यु भयो । ‘भारत गएपछि फर्किएन,’ आँसु पुछ्दै उनले भनिन्, ‘पोहोर छोराको मृत्यु भएको खबर आयो, यहाँ काजकिरिया गरेँ ।’ छोरीको चितवनमा विवाह भएको उनले बताइन् । अविवाहित छोरा गुमाउनु पर्दाको पीडा उनले व्यक्त गर्न सकिनन् ।

बेसहारा बनेपछि १६ वर्षदेखि उनी ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्य साई सेवा वृद्धाश्रममा बसिरहेकी छन् । श्रीमान्को मृत्युपछि लामो समय मजदुरी गरिन् । त्यसैको आर्जनले गुजारा गरिरहेकी थिइन् । हातखुट्टा चल्न छाडेपछि आश्रममा आएकी हुन् । अहिले आश्रम घर बनिसक्यो । ‘म जस्तै साथी छन् । गफ गर्‍यो, खाना खायो । दिन कटायो,’ उनले भनिन्, ‘खुट्टा सुन्निन थालेकाले हिँड्न दुःख हुन्छ ।’ शरीरमा बल हुन्जेल मदिरा कारखानामा काम गरिन् ।


घर निर्माणमा मजदुरी गरिन् । होटलमा भाँडा माझेको बताइन् । ‘शरीरले नधान्ने भएपछि भगवान् पुज्न छाडेँ,’ उनले भनिन्, ‘अब कतिबेला मरिन्छ, पर्खेर बसेकी छु ।’ जपतप गर्न मन नलाग्ने उनले सुनाइन् । भैरहवामा रहेको घर बेचेर जम्मा भएको रुपैयाँले आश्रममा एउटा कोठा निर्माण गरेको उनले बताइन् । ‘म नरहे पनि अर्को आएर यही कोठामा बस्ला भनेर सहयोग गरेँ,’ उनले भनिन्, ‘मन खुसी छ, यहाँ सबै सुविधा छ ।’ सामाजिक सुरक्षा भत्ताले औषधि खरिद गर्न र छोरी–नातिलाई भेट्न जाँदा गाडी भाडा पुगेको उनले बताइन् ।


प्रधानकै आडमा ‘कान्छी आमा’ बत्ती कातिरहेकी थिइन् । आश्रममा ८४ वर्ष पार गरिसकेकी रंगमाया पुनलाई सबैले कान्छी आमा भनेर बोलाउँछन् । गुल्मी पुर्ख्यौली घर भएकी उनी दिनभरि बत्ती कातेर समय बिताउँछिन् । ०२० सालमा लाहुर जान भनेर हिँडेका श्रीमान् हराए । त्यही साल जन्मिएको छोराको पनि मृत्यु भयो । बुहारीले हेरचाह गरिनन् । त्यसपछि आश्रममा आएको उनले बताइन् । ‘आश्रममा आउनेले बत्ती कात्न भन्छन्,’ १४ वर्षदेखि यहीँ बसिरहेकी उनले भनिन्, ‘त्यही विक्री गरेर अलिअलि पैसा जम्मा हुन्छ ।’ सास फुल्ने समस्या भएकाले एकै ठाउँमा बसेर सक्ने काम गरिरहेको उनले बताइन् ।


उनीसित अर्को सीप पनि छ । मकैका खोस्टाले चकटी बुन्छिन् । यहाँ आउने धेरैका लागि चकटी बुनिदिएको उनले बताइन् । ‘कति राम्रो हो भन्छन्,’ उनले भनिन्, ‘खोस्टा ल्याइदिएपछि बनाइदिन्छु ।’ बत्ती र चकटीको काम गरेर दिन काट्ने गरेको उनले सुनाइन् । गुल्मीमा मेलापात गरेर हुर्किएकी उनी नजिक विद्यालय नभएकाले गइनन् । उनलाई मेलापात जाँदा गाउने गीत र भाका अझै याद छ ।


‘सालको पात सिन्कैले खिलेन

ढोटे केटा दौंतरी मिलेन... ।’

गीत गाउने, रमाउने त्यो बेला अहिले सम्झनामै सीमित छ । उनका अनुसार आमा समूहले गाउँमा गीत गाउने गर्थे । उनकी बुहारी जान्थिन् । रंगमाया घाँस काट्न र घरायसी काममा व्यस्त हुन्थिन् । ‘छोरा नभए पनि बुहारीले माया गरे त किन यहाँ बस्न पर्थ्यो र !,’ उनले भनिन्, ‘यस्तै रहेछ संसार । अब सास फुल्ने बिमार लागेको छ, दुःख नदिई मर्न पाम् ।’ यही समूहमा बस्छन् ८० वर्षीय टेकबहादुर पुन । प्यूठानका उनको परिवारमा कोही छैनन् । परिवारका सबै सदस्य मरिसकेको उनले बताए । ‘बा–आमा, दाजुभाइ र दिदीबहिनी सबै मरे,’ उनले भने, ‘मैले बिहे गरिनँ, एक्लै छु । परिवारमै औताली परेपछि आश्रममा आएको हुँ ।’ सानै उमेरबाट घरबाहिर बसेर काम गरे । परिवार गुमाएपछि एक्लै थिए । उमेर ढल्कियो । एउटा आँखाले मात्र देख्छन् । ६ वर्ष भयो उनी यहाँ बस्न थालेको । ‘एक्लो मान्छे, काम नगरी बसेर खान पाइएको छ,’ उनले भने, ‘लाउन पाइएको छ, चिसो/तातो सुविधा छ, के चाहियो !’


फरक–फरक स्थानबाट आए पनि यहाँ एउटै परिवार भएर बसेको उनले बताए । एकअर्कासँग पुराना दिन सम्झिँदै गफिने गरेको उनले सुनाए । नागरिकता नबनाएकाले भत्ता पाएका छैनन् । ‘अब प्यूठान जान सकिन्न,’ उनले भने, ‘यता पाइएन, भत्ता पाए खर्च चल्थ्यो ।’

हर्कमाया तामाङ कान सुन्दिनन् । शान्त स्वभावकी छन् । सबैलाई सहयोग गर्छिन् । हिँडडुल गर्न नसक्ने साथीलाई पानी, चिया र खाना दिन्छिन् । हिँडडुल गर्न सघाउँछिन् । रूपन्देहीको सैनामैनाकी उनका श्रीमान्को ओखती गर्दागर्दै मृत्यु भयो । त्यसपछि एक्लिएकी उनी दिदीको घरमा बसिन् । त्यहाँबाट साथीको सहयोगमा आश्रममा आइन् । ‘घरजग्गा बेचेको पैसा श्रीमान्को उपचारमा लागेको ऋण तिर्दा सकियो,’ उनले भनिन्, ‘केही नभएपछि एक्लै कता जानु, आश्रम उपयुक्त लाग्यो ।’


यहाँ भजन गाउँदै जिन्दगी बिताइरहेको उनले बताइन् । यहीँ बसिरहेका ओमलाल जैसी हनुमान चालिसा पढेरै भगवान् बोलाउने प्रयासमा रहेको बताउँछन् । बिहे गरेनन् । दाजुभाइ छन् तर भेट्न आउँदैनन् । ‘घर जान मन छ,’ उनले भने, ‘लिन कोही आउँदैन, यहीँ मर्ने भएँ ।’ अर्घाखाँचीको वाङ्लामा दाजुभाइ छन् । उनी बेसहारा बने । भारतमा बस्ने परिवार यता बसाइँ सरेपछि एक्लिएको उनले बताए । आश्रममा भेटघाटका लागि आउनेले ल्याइदिएको बिस्कुट संकलन गरेर राख्ने बानी छ । दिउँसो चियासँग त्यही खान्छन् । बाँकी पोको पारेर राख्छन् । हिँड्न मिल्दैन । वैशाखीको सहारामा यताउता गर्छन् ।


उक्त वृद्धाश्रममा अहिले १६ जना वृद्धवृद्धा छन् । केहीका छोराछोरी छैनन् । केहीले बिहे गरेनन् । केहीका छोरी भएर पनि सँगै बसाल्न सक्दैनन् । केहीका श्रीमान् र सन्तानको मृत्यु भइसकेको छ । अहिले आश्रम नै घर बनेको छ । सक्नेले आफ्ना लुगा र खाएको थाल माझ्छन् । नसक्नेका लागि सहयोगी कर्मचारी छन् । १५ वर्षदेखि चन्द्रमाया श्रेष्ठले आश्रममा खाना पकाइरहेकी छन् । बिहेपछि श्रीमान्ले रामेछाप लगे । त्यहाँ गएपछि कहाँ हो कहाँ पुगेजस्तो महसुस गरेर उनी फर्किइन् । श्रीमान् पनि साथै आए । आश्रममा कामसँगै आश्रय पाए । ‘सबैलाई पकाएर खुवायो, आफूले पनि खायो । सन्तुष्ट छु,’ उनले भनिन्, ‘आमाबुबाकै काखमा भएजस्तो भान हुन्छ ।’

प्रकाशित : पुस २१, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?