गैरनागरिकलाई नागरिकता : उजुरी पर्छ, छानबिन हुँदैन

कमल पन्थी

(बर्दिया) — झुठो विवरण पेश गरी नागरिकता लिएको भन्दै परेका उजुरीमाथिको सुनुवाइ लामो समयदेखि हुन सकेको छैन । जसका कारण अन्य नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुपरेको छ । जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट विभिन्न मितिमा जारी ४ सय ५० नागरिकताविरुद्ध उजुरी परेको छ ।

नागरिकता वितरण टोलीले ०६३ र ०७२ सालमा बाँडेका धेरै नागरिकता प्रमाणपत्रमा बाहकले कीर्ते कागजात पेश गरेको आरोप छ । सो सम्बन्धमा परेका उजुरीपछि स्थानीय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेका थिए । तर, निष्कर्ष सार्वजनिक भएको छैन ।


उजुरी पर्नेमा राजापुर नगरपालिकाबाट वितरण भएका नागरिकता बाहक धेरै छन् । झुठो विवरणबाट नागरिकता प्राप्त गर्नेमा साविक राजापुर नगरपालिका–६ का पुरुषोत्तम शर्मा, रतन शर्मा, बाबुराम वैश्य, दीपक वैश्य, बब्लु सहनी, मुनिजर गुप्ता, दुर्गेश गुप्ता, रोहित गुप्ता, मालिकराम गुप्ता लगायत छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय, राजापुरका तत्कालीन प्रमुख मुरलीधर पुरीले नागरिकता वितरण गरेका थिए । नागरिकता जारी गर्ने पुरीविरुद्धको मुद्दा अख्तियारमा विचाराधीन छ । नागरिकता पाउने सबै भारतीय भएको उजुरीमा दाबी गरिएको छ । गैर–नागरिकलाई नागरिकता प्रदान गरेवापत पुरीले फ्रिज उपहार पाएका थिए । सो सम्बन्धमा कान्तिपुर दैनिकमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयको निर्देशनमा उनले फ्रिज फिर्ता गरेका थिए ।


साविक सोरहवा–६ का सुबराती साईलगायत ७ भारतीयलाई चार वर्षअघि नागरिकता वितरण गरिएपछि कारबाही माग गर्दै उजुरी पर्‍यो । भारत बहराइच जिल्ला इमामनगर गडरहवाको मतदाता सूचीमा नाम रहेको प्रमाणसहित स्थानीय प्रशासनमा उजुरी परे पनि कारबाही हुनसकेको छैन । साविक सोरहवा गाविस–६ का बहाउ पासीले दिएको उजुरीमा सुवरातीको मतदाता परिचयपत्र नम्बर २६२७ छ ।


भारतकै बहराइचस्थित जिगनिया बस्ने कमला देवीले झुठो विवरणकै आडमा नागरिकता लिएको भन्दै उजुरी परेको पनि ५ महिना भयो । उनीविरुद्ध बढैयाताल–२ का श्रवणकुमार त्रिपाठीले नागरिकता छानबिन गरिपाऊँ भन्दै निवेदन दिएका छन् । कमलाले बहराइच जिल्ला नरसिडिया ग्राम पञ्चायत ब्लक रिसिया, तहशिल नानपारा हुलाक डिहवा घर नम्बर १ सय ३० का बद्लुरामसँग विवाह गरेको प्रमाण पेश भएको छ ।


यस्तै, बढैयाताल गाउँपालिका–२ का परमेश्वर कुर्मीसँग विवाह गरेको झुठो कागजात पेश गरी रेश्मा कुर्मीले २०६१ असार २ मा अंगीकृत नागरिकता लिएकी थिइन् । कुर्मीको ११५८ नम्बरको नागरिकतामा तत्कालिन प्रजिअ नरेन्द्र दाहालको हस्ताक्षर छ । त्रिपाठीले नै कुर्मीविरुद्ध भारतमा रहेको मतदाता सूचीमा नाम लगायतका प्रमाण पेश गर्दै ०७४ चैत २९ मा बर्दिया प्रशासनमा उजुरी दिएका थिए ।


साविक गुलरिया–१४ का सन्जय सिंहको नाममा जारी नागरिकतामाथि आवश्यक कारबाहीका लागि गृह मन्त्रालय पठाइएको ६ वर्ष बितिसकेको छ । कार्यालयका अनुसार सिंह भारतीय नागरिक भएको प्रमाणसहित उजुरी परेको छ । सिंहसहित छानबिनका लागि स्थानिय प्रशासनले ९ जनाको नागरिकता अख्तियारमा पठाएको थियो । तर, छानबिन नहुँदा वास्तविक नागरिक नागरिकता पाउनबाट वञ्चित भएका उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले गुनासो गरे । ‘लामो समयसम्म उजुरीका फाइल छानबिन नहुँदा वर्षौंदेखि यहीँ बसोबास गर्दै आएका सर्वसाधरण जग्गाधनी पूर्जालगायत बैंकिङ कारोबारबाट वञ्चित छन्,’ उनले भने, ‘छानबिन छिटो हुनु जरुरी छ ।’


नागरिकता छानबिन नहुँदा राजापुरको बाल बिठौरीबाटा जग्गाधनी प्रमाण पूर्जा वितरण कार्य रोकिएको छ । केहीले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएकै कारण वास्तविक नागरिकले नागरिकता नपाएको राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीको भनाइ छ ।अख्तियारले उजुरी परेका नागरिकता छानबिन गर्न टोली खटाए पनि अहिलेसम्म काम अघि बढेको छैन । ०६३ सालमा वंशजको आधारमा ३५ हजार ६ सय १५ र जन्मसिद्द २ हजार ७ सय ९९ जनालाई नागरिकता वितरण गरिएको थियो ।


भारत पलियाकलाँ घर भई धनगढीमा व्यवसाय गर्दै आएका ओमप्रकाश गुप्ता र पवन ठाकुरले झुठो विवरण दिई बर्दियाबाटै नागरिकता बनाएका थिए । साविक गुलरिया नगरपालिका–७ को मतदाता सूची किर्ते बनाई नागरिकता लिएका उनीहरूको सर्जमिन नगरपालिकाले समेत गरेको थिएन । गुप्ता र ठाकुर दुवैको नागरिकता छानबिनमा छ । तत्कालिन प्रशासकीय अधिकृतले अनुचित फाइदा लिई नागरिकता सदर गरेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए । उजुरी परेका १० जनाको नागरिकतामा हस्ताक्षर गर्दा तत्कालिन प्रशासन प्रमुखले मोटो रकम लिएको आरोप लाग्ने गरेको छ ।गृह मन्त्रालयले गत चैतमा सबै जिल्लालाई परिपत्र गर्दै जन्मसिद्द भएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनेको छ । नागरिकता प्राप्त गर्नुअघि बाबु, आमाको नागरिकता, प्रहरी सर्जमीन, जग्गाधनी पूर्जासहितको घर हुनुपर्ने भए पनि त्यस्ता कागजातबिना नै नागरिकता निकाल्ने गरिएको छ ।


बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले झुठो विवरण पेश गरी वितरण गरिएका नागरिकताको उजुरी अनुसार पुन: छानबिनका लागि पहल गर्ने बताए । अख्तियारका नेपालगञ्ज प्रमुख गणेश गैरेले नागरिकतासम्बन्धी उजुरीबारे आफूलाई जानकारी नभएको बताए । ‘केन्द्रमै होला,’ उनले भने, ‘नागरिकताको छानबिन केन्द्र र गृह मन्त्रालयबाट हुन्छ ।’ चार वर्षअघि ६ जनाको नागरिकता खारेज भएको छ । साविक गुलरिया–७ का रामप्रसाद लोनिया, गुन्नु गडरिया, गुलरिया–१२ का चेतराम भुर्जी, मन्साराम भुर्जी, बैद्यनाथ भुर्जी र राजापुरकी सना सिद्दीकीको नागरिकता खारेज भएको कार्यालयले जनाएको छ ।


प्रकाशित : पुस २०, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?