कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ठाकुरद्वाराबाट भ्रमण वर्षको सुरुवात

प्रदेश ब्युरो

(बर्दिया) — प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० बर्दियाको ठाकुरद्वाराबाट सुरुआत गरेको छ । पर्यटकीय नगरी ठाकुरद्वारामा विविध सांस्कृतिक कार्यक्रमसहित बुधबार सरकारले भ्रमण वर्ष सुरु गरेको हो । भ्रमण वर्षको सुरुवातसँगै बर्दियामा आन्तरिक पर्यटकको भीड लागेको छ । 

ठाकुरद्वाराबाट भ्रमण वर्षको सुरुवात

भ्रमण वर्षको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे । उद्घाटनका अवसरमा रोल्पाको मगर नाचदेखि स्थानीय रैथाने थारु समुदायका विविध सांस्कृतिक नाच र कार्यक्रम देखाइएको थियो । थारु समुदायले मयूर नाच,

लठ्हवा, सखिया, हुरडुंगा, छोक्रा नाच देखाएका थिए ।


प्रदेश सरकारले नेपाल भ्रमण वर्षको सुरुआत बर्दियाबाट गर्ने निर्णयले उत्साहित बनेका स्थानीय व्यवसायीले उद्घाटन कार्यक्रमलाई भव्य बनाएका छन् । ठाकुरद्वाराको स्थानीय मन्दिरमा गरिएको उद्घाटन समारोहमा हजारौं सर्वसाधारण र बाह्य एवं आन्तरिक पर्यटक जुटेका थिए ।


अब यस क्षेत्रमा पर्यटक बढ्ने यहाँका होटल व्यवसायी एवं स्थानीयको अपेक्षा छ । पर्यापर्यटन विकास समिति ठाकुरद्वाराका अध्यक्ष एवं पर्यटन व्यवसायी मोहन चौधरीले बर्दियाको पर्यटन क्षेत्रको प्रचार र चर्चा चुलिएको बताए । ‘हामीलाई धेरै आशा जागेको छ,’ उनले भने, ‘अब यहाँको पर्यटन व्यवसाय फस्टाउनेछ ।’ आन्तरिक र बाह्य पर्यटकका लागि व्यवसायीले छुट र प्याकेजका कार्यक्रम बनाइरहेको उनले बताए ।


उद्घाटनका अवसरमा सयौं आन्तरिक पर्यटक ठाकुरद्वारा पुगेका थिए । प्रदेशका अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुखले भ्रमण वर्षकै अवसर पारेर निकुञ्ज र ठाकुरद्वाराको अवलोकन गरे । प्रदेशका झण्डै दुई सय पत्रकार पनि प्रदेश पत्रकार महासंघको साधारण सभाका लागि बर्दियामै जुटेका छन् । प्रदेश सरकारका कर्मचारीको पनि बाक्लो उपस्थिति थियो । त्यसले नयाँ वर्षको सुरुआतसँगै पर्यटकीय क्षेत्र ठाकुरद्वारामा दुई दिनदेखि भीड बढेको छ । होटल भरीभराउ छन् । जैविक विविधता र सांस्कृतिक सम्पदाको अनुपम संगमले ठाकुरद्वारामा आन्तरिक एवं बाह्य पर्यटकको धेरै राम्रो सम्भावना रहेको प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समितिका सहसंयोजक माधव नेपालले बताए । ‘ठाकुरद्वारा ऋषिमुनिहरूको ज्ञान क्षेत्र पनि हो,’ उनले भने, ‘त्यसलाई पनि बर्दियाको पर्यटन व्यवसायसँग जोडेर प्रचारप्रसार गर्न सक्नुपर्छ ।’ सन् २०१८ को गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ पाटे बाघ फेला परेका छन् । बाघको संख्या बढेपछि जंगल सफारीमा सजिलै बाघ देख्न पाइने भन्दै पर्यटकको आकर्षण बढ्दो छ । निकुञ्जमा ५ सय ४२ प्रजातिका चरा पाइन्छन् ।


प्रदेश सरकारले बर्दिया राष्ट्रिय निकुञ्जसँगै लुम्बिनी, तिलौराकोट, रामग्राम, स्वर्गद्वारी, पूर्वी रुकुमको कमलदह, प्यूठानको स्वर्गद्वारी, गुल्मीको रेसुंगा र रिडी, अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र भैरवस्थान मन्दिर, दाङको दंगीशरण, कृष्णसार क्षेत्रलगायत स्थानलाई प्रमुख पर्यटकीय गन्तव्यमा राखेको छ । भ्रमण वर्षका अवसरमा प्रदेश ५ मा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्र पहिचान गर्ने र तिनको व्यवस्थापनमा टेवा दिने गरी योजना बनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत एवं भ्रमण वर्षका कार्यक्रम संयोजक गणेश घिमिरेले बताए । प्रमुख पर्यटकीय गन्तव्यमा परेका स्थानमा सरकारले भ्रमण वर्षभरि विभिन्न कार्यक्रम गर्नेछ ।


उद्घाटनका अवसरमा मुख्यमन्त्री पोखरेलले निकुञ्ज र ठाकुरद्वारा क्षेत्रलाई पर्यटन उद्योगका रूपमा विस्तार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरे । त्यसका लागि निकुञ्ज र बर्दियाको महत्त्व, संस्कृति एवं उपलब्ध हुन सक्ने अवसरको प्रचारप्रसारमा पनि पर्याप्त ध्यान पुर्‍याउनु पर्ने उनको सुझाव छ । ‘बर्दिया सांस्कृतिक विविधता र प्राकृतिक रूपले धनी जिल्ला हो,’ उनले भने, ‘अबका दिनमा निकुञ्जमा २० गुणाभन्दा बढी पर्यटक भित्र्याउनु पर्नेछ ।’


कृषि पर्यटनमा पनि बर्दिया राम्रो सम्भावना भएको जिल्ला भएकाले त्यसलाई अवसरका रूपमा लिएर सदुपयोग गर्नुपर्ने उनको आग्रह थियो । उद्घाटनका अवसरमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेश सभाकी उपसभामुख कृष्णी थारु, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठलगायतले बोल्दै नेपाल भ्रमण वर्ष सफल पार्न बर्दियाको ठूलो भूमिका रहेको भन्दै त्यसलाई भरपूर उपयोग गर्न आग्रह गरेका थिए ।


ठाकुरद्वारासँगै बर्दियाका थारु समुदायको इतिहाससँग जोडिएको दनुवा ताल, बार बर्दिया नगरपालिकाको कतर्निया जंगलमा रहेको कर्णे राजाको दरबार, ११० बिघाको बढैयाताल, एसियाकै नमुना कर्णाली चिसापानी पुल, ठाकुरद्वारास्थित डल्ला होमस्टे, गुलरिया नगरपालिका खैरापुरमा संक्षण गरिएका कृष्णसार, बाँसगढीको केदेश्वर धामलगायत पर्यटकीय क्षेत्रलाई पर्यटन व्यवसायीले प्याकेजमा राखेर प्रवर्द्धन गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताए ।


पर्यटकलाई भव्य स्वागत

भ्रमण वर्षको पहिलो दिन लुम्बिनी आउने २५ विदेशीसहित ३० पर्यटकको भव्य स्वागत गरिएको छ । नेपाल भ्रमण वर्षको पहिलो दिन लुम्बिनी पुग्ने २१ भुटानी, चार चिनियाँ र पाँच नेपाली पर्यटकलाई स्वागत गरिएको हो ।


लुम्बिनी विकास कोषले स्थानीय बसपार्कमा बाजागाजासहित स्वागत गरेको थियो । उनीहरूलाई केन्द्रीय नहरमा डुंगा शयर गराएको थियो । अवधी संस्कृतिको विरहा बाजा बजाउँदै तीनवटा डुंगाबाट पाहुनालाई शान्तिद्वीपसम्म पुर्‍याइएको थियो । त्यहाँ कोष कर्मचारी/पदाधिकारी तथा लुम्बिनी होटल संघले खादा लगाएर उनीहरूको पुन: स्वागत गरेको थियो ।


प्रकाशित : पुस १७, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?