कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रदेश सरकारको भ्रमण वर्ष : लुम्बिनीमा पर्यटक घटे

चालु वर्षका लागि सरकारले १ करोड ९१ लाख ७० हजार रूपैयाँ विनियोजन गरेकामा कुनै गतिविधि र कार्यक्रम हुन सकेका छैनन् । अहिलेसम्म २५ लाख ५० हजार मात्र बजेट खर्च भएको छ । 
घनश्याम गौतम

(रूपन्देही) — नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने भन्दै प्रदेश ५ सरकारले गत वर्ष तामझामसहित सुरु गरेको लुम्बिनी भ्रमण वर्ष आउँदो चैत पूर्णिमामा सकिंदै छ । सरकारले गत वर्षको वैशाख पूर्णिमादेखि लुम्बिनीमा आन्तरिक पर्यटक वृद्धि गर्ने र बसाइ लम्ब्याउने उद्देश्यका साथ भ्रमण वर्ष सुरु गरेको हो । त्यसमा संघीय सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्य पनि थियो । 

प्रदेश सरकारको भ्रमण वर्ष : लुम्बिनीमा पर्यटक घटे

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षकै लागि ४ करोड १९ लाख ६० हजार रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले फजुल खर्चमै बजेट सक्ने तयारी गरेको भन्दै तीव्र आलोचना भएपछि गत वर्षका लागि विनियोजन गरिएको २ करोड २७ लाख ९० हजार रकममध्ये १ करोड ६२ लाख २२ हजार रुपैयाँ खर्च भयो । गत वर्षको धेरै रकम सामान्य प्रचारात्मक कार्यक्रममै सकियो । त्यसको प्रभाव न्यून देखियो । चालु वर्षका लागि सरकारले १ करोड ९१ लाख ७० हजार रुपैयाँ विनियोजन गरेकामा लुम्बिनी भ्रमण वर्ष सकिन साढे तीन महिनामात्र बाँकी रहँदा कुनै गतिविधि र कार्यक्रम हुन सकेका छैनन् । अहिलेसम्म २५ लाख ५० हजार रुपैयाँमात्र बजेट खर्च भएको छ ।


चालु वर्षमा धेरै कार्यक्रम नभएको मन्त्रालयका पर्यटन विकास शाखाका अधिकृत एवं लुम्बिनी भ्रमण वर्ष संयोजक टुकराज पाण्डेले बताए । ‘अहिलेसम्म फुलमुन डे, साहित्यिक गोष्ठी, दीप प्रज्वलन, सरसफाइ र बुद्ध सर्किटका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रममात्र गरिएको छ,’ उनले भने, ‘केही महत्त्वपूर्ण कार्यक्रम बाँकी छन् ।’ लुम्बिनीमै गर्ने भनिएको विश्वशान्ति सुमधुर साँझ, पिस म्याराथन, योग ध्यान शिविर, अन्तर्राष्ट्रियस्तरको साहित्यिक सम्मेलनलगायतका कार्यक्रम बाँकी रहेको उनले बताए ।


भ्रमण वर्षमा लुम्बिनीसहित आसपासका बौद्ध स्मारक क्षेत्रको प्रवर्द्धन गर्ने र बुद्ध सर्किटअन्तर्गतका रामग्राम, तिलौराकोटलगायतका क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य थियो । त्यसै अनुसार लुम्बिनी–तिलौराकोट सडकलाई ‘मायादेवी सुत्केरी मार्ग’ घोषणा गर्ने कार्यक्रमसमेत अलपत्र परेको छ । सिद्धार्थ गौतमको जन्म भएपछि उनकी आमा मायादेवी लुम्बिनीबाट सोही बाटो हुँदै तिलौराकोट फर्किएको प्रचार गर्ने गरी सुत्केरी मार्ग घोषणा गर्ने भनिए पनि प्राविधिक कारणले त्यो हुन नसकेको मन्त्रालयले जनाएको छ ।


भ्रमण वर्षले लुम्बिनीसँगै रामग्रामलाई जोड्ने र आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहयोग गर्ने अपेक्षा गरिएको भए पनि त्यो प्रभावकारी हुन नसकेको रामग्राम नगरपालिका–७, उजैनीका राधेरमन पाण्डेले बताए । ‘न प्रचार भयो, न स्थानीयसँग समन्वय,’ उनले भने, ‘प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको हल्ला फिँजायो, काम केही गरेन ।’ प्रदेश सरकारको प्राथमिकतामा लुम्बिनी रहे पनि सरकारले त्यसअनुसार लुम्बिनीसँग जोडिएका बुद्ध सम्बन्धित ऐतिहासिक स्थलमा केही गर्न नसकेको उनले बताए ।


बुद्धको अस्तुधातु रहेको विश्वास गरिएको रामग्राम क्षेत्र ३८ बिघामा फैलिए पनि त्यहाँको जमिन अतिक्रमणमा परेको छ । त्यसमा पनि सरकारको ध्यान नपुगेको स्थानीयको गुनासो छ । अस्तुधातु रहेको स्थानमा वरपीपल, पाकडी र करमका रूख छन् । अस्तुधातु रहेको विश्वासमा चीन, बर्मा, कोरिया, थाइल्यान्ड, कम्बोडिया, श्रीलंका, भुटान, जापान, भारत, इन्डोनेसियालगायत देशका बौद्धमार्गी पुग्छन् । तर, त्यहाँ सरकारले पर्यटन पूर्वाधारको कुनै विकास गर्न सकेको छैन । लुम्बिनी भ्रमण वर्षका संयोजक पाण्डेले प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माणभन्दा पनि लुम्बिनी र बुद्ध सर्किटको प्रचारप्रसारकै लागि लुम्बिनी भ्रमण वर्ष तय गरेको बताए ।


बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको तिलौराकोट र अस्तुधातु राखेर विहार निर्माण गरिएको रामग्राम बौद्ध धर्मका दृष्टिले महत्त्वपूर्ण स्थान भए पनि त्यसअनुसार विकास हुन सकेको छैन । लुम्बिनी विकास कोषका सूचना अधिकारी दिलीप राईका अनुसार लुम्बिनी क्षेत्रमा सन् २०१९ को नोभेम्बरसम्ममा १० लाख ४९ हजार ७ सय २ नेपाली पर्यटकले भ्रमण गरेका छन् । गत वर्ष नेपाली पर्यटकको संख्या ११ लाख ७० हजार ५ सय ७१ थियो । ‘गत वर्षहरूको तुलनामा यस वर्ष लुम्बिनी आउने सबैखाले पर्यटकको संख्या घटेको देखिन्छ,’ उनले भने, ‘अझै एक महिना पर्यटक आउने सिजन बाँकी रहेकाले केही सुधार हुनसक्छ, तर समग्रमा घटेको छ ।’ त्यसमा सबैभन्दा बढी कारण लुम्बिनी–भैरहवा निर्माणाधीन सडक रहेको उनले बताए ।


सन् २०१७ मा १२ लाख ५१ हजार ३ सय ४६ नेपाली पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । त्यस्तै यस वर्ष १ लाख ७६ हजार ६ सय ४४ भारतीय पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष १ लाख ९३ हजार ६ सय ३५ जना आएका थिए । अन्य देशबाट चालु वर्षमा १ लाख ५५ हजार ४ सय ४४ जनाले लुम्बिनी भ्रमण गरेका छन् । जुन संख्या गत वर्ष १ लाख ६९ हजार ९ सय ४ थियो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत एवं नेपाल भ्रमण वर्षका प्रदेश संयोजक गणेश घिमिरेले भ्रमण वर्ष सफल बनाउन लुम्बिनी भ्रमण वर्षको ठूलो सहयोग रहने बताए । प्रदेश सरकारले बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्षको सुरुवात गर्दैछ र प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहका पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्द्धन र प्रचारप्रसारका लागि निर्देशन गरेको छ । त्यस्तै, प्रदेशस्तरीय र १२ वटै जिल्लामा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समिति गठन भएका छन् ।


रूपन्देही र बाँकेमा उपसचिवको नेतृत्वमा पर्यटन डिभिजन कार्यालय खुल्दै छन् । ‘अब नेपाल भ्रमण वर्षको अन्तिम तयारीमा छौं,’ प्रदेश संयोजक घिमिरेले भने, ‘स्थानीय सरकार, जिल्ला र प्रदेश सरकारबीच समन्वय गर्दै भ्रमण वर्षका कार्यक्रम तय गरिएको छ ।’ लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई जोडेर स्थानीय होटल व्यवसायीमार्फत लुम्बिनी क्षेत्रमा बसोबास गर्ने पर्यटकका लागि तीनदिने प्याकेज तयार गरिएको पनि उनले बताए । प्याकेजमा लुम्बिनी, तिलौराकोट र रामग्राम भ्रमण गराउने र पर्यटकलाई कम्तीमा तीन दिन बास बसाल्ने कार्यक्रम छ ।

प्रकाशित : पुस १३, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?