दुर्घटनामा कमी ल्याउने उपाय खोजिँदै

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क–गोरुसिंगे र अन्य सडक खण्डमा गाडी दुर्घटनामा कमी ल्याउने उपाय खोजिँदैछ । नरपानीदेखि फुदवाङसम्म आठ वर्षको अवधिमा १ सय २७ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । गाउँका कच्ची बाटोमा पनि दुर्घटना भइरहेका छन् ।

दुर्घटनामा कमी ल्याउने उपाय खोजिँदै

बारम्बार किन दुर्घटना भइरहन्छन्, यसको कारण खोज्न जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्माको संयोजकत्वमा सडक सुधार गर्नुपर्ने, दुर्घटना न्यूनीकरण र समग्र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने कारण खोज्न अध्ययन सुरु गरिएको हो ।


जिल्लाका ६ स्थानीय तहका प्रमुख/अध्यक्ष, सहायक प्रजिअ विक्रम थापा, सडक डिभिजन र सुरक्षा निकायका प्रमुख, पूर्वाधार विकास कार्यालय प्रमुख, यातायात व्यवसायी, जिल्ला ट्राफिक कार्यालय, उवासंघ, चेम्बर अफ कमर्स, पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेको समितिले पुस महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्ने गरी

काम अघि बढाएको छ ।


जिल्लाभित्रका मुख्य सडक, गाउँका मुख्य, सहायक स्तरका सडकको अवस्था कस्तो छ, त्यसको डिटेल विवरण उतारिने संयोजक शर्माले बताए । मंसिर ११ गते नरपानीका भएको बस दुर्घटनाको कारण खोज्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । दुर्घटना भएको लु२ख २१४८ नम्बरको बस तीव्र गति र चालकको हेलचेक्र्याइका कारण दुर्घटना भएको प्रतिवेदन प्रदेश सदस्य रामजीप्रसाद घिमिरे र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई बुझाएको छ ।


साँघुरो बाटो, मोड अप्ठ्यारो भएका कारण र मानवीय त्रुटिका कारण दुर्घटना भएको समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासले बताए । यस्ता सडकमा गाडी बिस्तारै चलाउन चालकलाई सुझाव दिनुपर्ने, मोड काट्दा ध्यान दिनुपर्ने, ओभरट्याक नगर्ने, घुम्तीमा हर्न अनिवार्य बजाउनुपर्ने नियम कडाइका साथ लागू भएमा दुर्घटना कम हुने उनले बताए ।


दुर्घटनाको कारण मानवीयसँगै सडक पनि हो । ग्रेड नमिलेका सडकलाई तत्काल ग्रेड मिलाउनुपर्ने र डोजर चालक नै इन्जिनियर भएर खनेका बाटोमा गाडी चलाउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । ‘गाडीको कन्डिसन ठीक छ कि छैन, गन्तव्यमा जानुअघि नै गाडी चेकजाँच गर्न अनिवार्य गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, ‘छोटो तथा लामो दूरीका सडकमा ठूलो दुर्घटना भएर यात्रुको ज्यान नजाने गरी गाडी चलाउन चालकलाई प्रशिक्षण गरिनेछ ।’


‘पुराना गाडीलाई तत्काल हटाएर नयाँ गाडी सञ्चालन गर्नुपर्छ,’ प्रदेश सदस्य रामजी घिमिरेले भने । शर्मा संयोजक रहेको समितिले प्रतिवेदन बुझाएपछि सबै प्रक्रिया अघि बढाइने उनले बताए । टोलैपिच्छे सडक बनेका छन् । सडकका हिसाबले अर्घाखाँची देशकै नमुना जिल्ला हो । दुर्घटना पनि यहाँ धेरै हुने गरेका छन् । अर्घाखाँचीलाई दुर्घटनामुक्त जिल्ला बनाउने अभियान सुरु गरिने उनले बताए । जिल्लामा भएका पर्यटकीय स्थलमा जाने सडक, गाउँ, टोलबस्तीमा पुग्ने सबै सडक ग्रेड मिलेका, डबल कटिङ र कालोपत्रे गर्न प्रदेश एवं संघ सरकारसँग बजेट माग्न डेलिकेसन जानुपर्ने घिमिरेले बताए ।


प्रतिवेदनकै आधारमा स्थानीय तहको सडकमा बजेट छुट्याएर सडक फराकिलो पार्ने, घुम्ती काट्ने र गुणस्तरीय सडकका लागि योजना बनाउने गरी प्रतिवेदन तयार गर्ने गरी अध्ययन गरिएको संयोजक शर्माको भनाइ छ । ‘तीन सरकारले आफ्नै ढंगले बजेट छुट्याएर मनपरि गर्ने होइन,’ उनले भने, ‘मिलेरै कहाँ कस्तो सडक बनाउन आवश्यक छ, त्यो हेरेर बजेट पारेर काम गर्नुपर्छ ।’


गाडी चलाउँदा फोनमा कुरा गर्न नपाइनेजस्ता नियम कडाइका साथ लागू गनुपर्ने प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ‘ट्राफिक नियमलाई ख्याल नगर्दा दुर्घटना बढी भएका छन्,’ उनले भने, ‘चालकसँगै सडक पनि राम्रो हुनु आवश्यक छ ।’

प्रकाशित : पुस ११, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?