कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गाई पालेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

सबै खर्च कटाउँदा मासिक डेढ लाख बचत 
सन्जु पौडेल

रुपन्देही — रुपन्देहीको तिलोत्तमा–६ का ३६ वर्षीय ओमप्रकाश काफ्ले र ३५ वर्षीया श्रीमती सरस्वती दम्पतीले अहिले साना र ठूला गरी ६५ गाई पालेका छन् । तिनबाट दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूध आफैं बिक्री गर्छन् । फुटकर प्रतिलिटर ७२ र डेरीमा प्रतिलिटर ५८ रुपैयाँमा बिक्री भइरहेको छ ।

गाई पालेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

ओमप्रकाश १९ वर्षकै उमेरमा कोरिया हानिए । त्यहाँ उनले मेनुफेक्चर, बंगुर फर्म, गाई फर्म र गुलाफ फूलको बगैंचामा काम गरे । ओमप्रकाशले १५ वर्ष र सरस्वतीले पाँच वर्ष कोरियामै बिताए । त्यहाँको सीपले स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा जागेपछि सन् २०१७ मा स्वदेश फर्किए र दुवैले गाई पाल्न सुरु गरे ।


‘कोरियामा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्न सके छोराछोरी र परिवारको साथमा बसेर खुसी र सुखी रहन सकिन्छ,’ उनले भने, ‘त्यही सोचले दुवै जना फर्कियौं र व्यवसाय सुरु गर्‍यौं ।’


दम्पतीले गाई पाल्न सुरु गरेको दुई वर्ष भयो । उनीहरूले स्थानीय दुई युवाले सुरु गरेको शुद्धोधन–४ स्थित मोर्डन इन्ट्रिग्रेटेड एग्रो फर्म खरिद गरेका थिए । आठ बिघा जमिन छ । फर्ममा होलस्टेन र जर्सी गाई छन् ।


कोरियामा हुने गाईगोठको नमुनाजस्तै अग्लो, फराकिलो, गाईलाई टेक्न फुटम्याट बिच्छ्याएर सफा राखेका छन् । पराल र घाँस काट्ने मेसिन छ । दूध दुहुन पनि प्रविधिकै प्रयोग हुन्छ । शुद्धोधनमै रहेको दुग्ध डेरीमा दूध बिक्री हुन्छ । त्यसबाट हुने आम्दानीले ६ जनाले रोजगारी पाएका छन् । उनीहरूको पारिश्रमिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म छ ।


‘सिजनमा तीन सय लिटरसम्म दूध बिक्री हुन्छ,’ सरस्वतीले भनिन्, ‘सबै खर्च कटाएर डेढ लाख सजिलै बचत हुन्छ ।’ मिहिनेत अनुसार काममा खुसी मिलेको उनले सुनाइन् । प्रदेश सरकारले वितरण गरेको अनुदानमा अनियमितता आएको खबर सार्वजनिक भएका बेला अनुदान नै नलिई काम गरेका उनीहरूले आफ्नो फर्मको अनुगमन मात्र गरिदिन आग्रह गरेका छन् ।


आठ बिघामध्ये दुई बिघामा उन्नत जातको घाँस लगाएका छन् । बीउ गाउँपालिकाको पशु सेवा केन्द्रले सहयोग गरेको छ । त्यसबाहेक अन्यत्रबाट कुनै सहयोग नपाएको ओमप्रकाशले बताए । घरमै प्रसस्त दूध भए पनि त्यसको विविधिकरण गर्न नसकेको उनले सुनाए ।


सिभिल इन्जिनियर अध्ययन गरेका रुपन्देहीको शुद्धोधन–४ का डेमप्रसाद पौडेल सात वर्षदेखि गाईभैंसीसित रमाइरहेका छन् । पुलचोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनले त्यसअनुसार काम गरेनन् । गाउँ फर्केर राजनीतिमा केही समय बिताए । सामाजिक काम गरे । पछिल्लोपटक नवदुर्गा गाईभैंसी फर्म सञ्चालन गरिरहेका छन् ।


सुरुमा पाँचवटा गाईभैंसी पालेका थिए । २५ लाख रुपैयाँ लगानी गरे । अहिले गोठमा ७० भन्दा बढी गाईभैंसी छन् । २४ वटा ब्याउने छन् । डेढ करोड रुपैयाँ लगानी पुगेको छ । फर्मबाट दैनिक १ सय ५० लिटर दूध बिक्री भइरहेको उनले बताए । फर्ममा होलस्टेन, जर्सीलगायतका गाई छन् । आठ जातका भैंसी छन् ।


८५ वर्षीय पिता आत्मारामले गोठ सफाइ गर्ने र दाना खुवाउँछन् । मेसिनबाट आमा र श्रीमतीले दुहुने काम गर्छन् । श्रीमती गोमा र बुबाआमाको साथले यो पेसा फस्टाएको उनले बताए ।


आठ बिघा क्षेत्रफलमा फर्म र घाँसखेती गरी आम्दानी गरिरहेका उनले २ छोरा र छोरीलाई पढाइरहेका छन् । फर्ममा तीन कर्मचारी पनि काम गर्छन् । फर्मले गत वर्ष प्रदेश सरकारबाट चार लाख रुपैयाँ अनुदानसमेत पाएको थियो ।

प्रकाशित : पुस ४, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?