कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुद्धकालीन तालमा माछापालन

मनाेज बडु

कपिलवस्तु — एक साताअघि श्रीलंकाकी प्रियंका कुर्नागल शाक्यहरूको वधस्थल सगरहवा आएकी थिइन् । त्यहाँ पुग्नुअघि उत्साहित थिइन् । पुगेपछि भने उनले मन खिन्न बनाइन् । तालमा माछा मारेर हिंसालाई प्रोत्साहन गरेको देख्दा दिक्क लागेको उनले सुनाइन् ।

बुद्धकालीन तालमा माछापालन

उनीजस्तै कम्बोडियन उपासक लेनसेन हाउ शाक्यहरूको सामूहिक बध गरिएको स्थानमा पूजाआजाका लागि आएका थिए । त्यहाँ जाल बिछ्याएर माछा मारेको देख्दा उनी पनि दुःखी बने । उनीहरूजस्तै सगरहवा घुम्न आउने तीर्थालु, उपासक/उपासिका र पर्यटक माछा मारेको देखेपछि निराश भएर फर्किने गरेका छन् ।


कपिलवस्तु नगरपालिका–९, जगदीशपुरमा रहेको सगरहवा तालमा केही समयदेखि माछापालन गरिएको छ । ऐतिहासिक र पुरातात्त्विक महत्त्वको ताल करिब एक सय बिघा क्षेत्रफलमा फैलिएको छ । बीचको होचो ठाउँमा ताल छ । उक्त क्षेत्र वन–बुट्यानअन्तर्गतको हो । त्यसमध्ये दक्षिण र पश्चिममा अतिक्रमण गरेर ५० घर निर्माण गरिएका छन् ।


साबिकको निग्लिहवा गाविसले ताल पाँच वर्षका लागि माछा पालन गर्न ठेक्कामा लगाएको हो । स्थानीय विजय खनालले सात लाख रुपैयाँमा ठेक्का सकारेका थिए ।


अहिले विभिन्न प्रजातिका माछा पालिएका छन् । माछा मार्न दैनिक जाल हालिन्छ । खरिद गर्न ठूलो भीड लाग्छ । पवित्र ठाउँमा माछा मार्दा नराम्रो सन्देश गइरहेको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘यसले पुरातात्त्विक ठाउँमा असर गर्छ,’ उनले भने, ‘ऐतिहासिक महत्त्वका वस्तु टुटफुट हुने सम्भावना हुन्छ । त्यस्तै पानीमा गल्ने, हराउने हुन्छ ।’ अनावश्यक मानवीय गतिविधिले असुरक्षा बढेको पनि उनले बताए ।


जताततै पुराना इँटा देखिन्छन् । स्थानीय तहलाई आम्दानी भयो भन्दै दूरगामी महत्त्व राख्ने इतिहासलाई संकटमा पार्ने काम गर्न नहुने बौद्ध अनुयायी तेजकुमार बौद्धाचार्यले बताए । संरक्षण गर्न सकेनौं भने पनि यस्तो २६ सय वर्ष पुरानो सम्पदा जोगाई राख्नुपर्ने उनले बताए । नियमविपरीत ताल ठेक्कामा लगाइएको विरोधमा ०७२ सालमा स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, सुनुवाइ भएन ।


सरकारले ऐन बनाएर ०४२ सालमा सगरहवालगायत सात ठाउँमा संरक्षण र विकास गर्ने जिम्मा लुम्बिनी विकास कोषलाई दिएको थियो । कोषले त्यहाँ कर्मचारी नखटाएर बेवारिसे छाडेको छ । संरक्षणका कुनै काम गरेको छैन । पूर्वाधार पनि छैन । ‘कोषका नाममा जग्गा नआएकाले समस्या भएको हो,’ कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराईले भने, ‘हामीले गत वर्ष माछा मार्न रोकेका थियौं । पछि के भयो, थाहा भएन । अब माछा पाल्न र मार्न दिंदैनौ ।’


प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयले ७४ बिघा जग्गा संरक्षण र संवर्द्धनको जिम्मा कोषलाई सुम्पिएको छ । ‘अब कानुनी रूपमा बलियो भएका छौं,’ उनले भने, ‘माछा पाल्दा चारैतिर नराम्रो सन्देश गएको थियो । अब त्यो पूर्णतः रोकिन्छ ।’


यहाँ गाउँभरिका चौपाया र गोठाला मात्र हुन्छन् । यहाँ राखिएका बोर्डका अक्षर खुइलिसके । थोरै ठाउँमा लगाइएको तारबार पनि टुटफुट भएर भुइँमा लत्रेको छ । सगरहवा घाँस र झाडीले भरिएको छ । जग्गा आफ्ना नाममा आइसकेकाले अब छिट्टै संरक्षणका योजना बनाएर काम थाल्ने भट्टराईले बताए ।


सदरमुकाम तौलिहवाबाट नौ किमि उत्तरमा अवस्थित उक्त ठाउँ बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण स्थल हो । यहाँ ९ हजार ९ सय ९९ शाक्यहरूको वध गरिएको चिनियाँ ग्रन्थमा उल्लेख रहेको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । उनका अनुसार कतिपयले ७७ हजार शाक्यको वधस्थल पनि भन्छन् ।


राम्रो कुल मानिने शाक्य गणराज्यसँग नाता सम्बन्ध गाँस्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराइएको थियो । त्यहाँ उनको बासभ खत्तियासँग विवाह भएको थियो । त्यसपछि प्रसेनजितका छोराविरुद्ध आफ्नो मामाघर प्राचीन कपिलवस्तु

(तिलौराकोट) उनले खाएको ठाउँमा लिपपोत गरेर दूधले धोएर चोख्याइएको देखेपछि के गरेको भनेर सोधे ।


त्यसपछि आफ्नो आमा दासीपुत्री भएकाले यस्तो गरेको थाहा पाएपछि क्रोधावेशमा आए । त्यसपछि शाक्य राज्यमा आक्रमण गरी सयौं शाक्यको बध गरेको बौद्ध इतिहासमा उल्लेख छ । त्यही ठाउँ अहिलेको सगरहवा भएको बताइन्छ ।


सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले यात्रा विवरणमा सगरहवामा शाक्यहरूको बधस्थल भएको उल्लेख गरेका छन् । सन् १८९७ मा जर्मन सर्भेयर फ्युहररले यहाँ उत्खनन गरेका थिए ।

प्रकाशित : पुस ४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?