३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हराउँदै ऐतिहासिक सामग्री

ठाकुरसिंह थारु

(बर्दिया) — माछा मार्ने हेल्का, माछा राख्ने डलिया, चामल केलाउने सुपो, चामल र धान राख्ने छिटवा एवं झउवाजस्ता थारू परम्पराका सामग्री अहिले हराइसके । त्यसैगरी धान बोक्ने सुइला, ऐना, क्रिमलगायत फुटकर सामान राख्ने फेरवा र हाते पंखा अहिले भेट्टाउनै मुस्किल छ । 

दर्जनौं यस्ता परम्परागत र सांस्कृतिक थारू सामग्री अहिले घरबाट हटाउन थालेका छन् । पुर्खाले जोगाएर ल्याएको ऐतिहासिक सामग्रीको महत्त्वबारे नयाॅ पुस्तालाई बुझाउन नसक्दा फोहरका रूपमा फालिएका हुन् । ‘पुर्खाले जोगाएको ऐतिहासिक सांस्कृतिक सामग्री अहिले बनाउन छोडिसके । भएका सामग्री पनि फालिदै छन्,’ थारू संस्कृतिमा चासो राख्ने युवा समीर चौधरीले भने, ‘एक–दुई वर्षपछि यस्ता सामान देख्नै मुस्किल होला । संरक्षणतर्फ कसैको चासो देखिएन ।’ थारु समुदाय प्रकृतिपूजक समुदाय हो । जसका कारण उक्त समुदाय नदी, खोला र जंगल छेउछाउमा बस्न मन पराउँछ । उनीहरूले बनाउने हरेक सामग्री खर, काठ, बाॅसलगायत सामग्रीले बनाइएको हुन्छ । आफैंले बनाएका सामग्री प्रयोग गर्दा किन्नु परेको थिएन । तर, पछिल्लो समय नयाॅ पुस्ताले ती सामग्री प्रयोग गर्न छाडेका छन् । प्लास्टिक, फलामका सामग्री प्रयोग हुन थालेको छ । माछा बल्झाउने धरिया बन्नै छोडिसक्यो । चामल, धान र गहुँलगायत खाद्यान्न राख्न महिलाले डेहरी बनाउने चलन थियो । तर, अहिले त्यो पनि लोप हुन थालिसक्यो । भएका डेहरी फुटाउन थालिएको छ । डेहरीले ठूला ठाउॅ ओगट्ने भएकाले कोठामा राख्न छाडेर फुटाउने गरिएको हो । ‘धरिया र डेहरी पनि हराउन थालिसक्यो । बाँस र खरले बन्ने सामग्री पनि पाइन छोडिसक्यो,’ अर्का युवा वीर चौधरीले भने, ‘नयाँ पुस्तालाई परम्परागत सामग्रीको महत्त्वबारे जानकारी दिन सक्नु पर्छ । त्यससँगै परम्परागत सामग्री बनाउने तालिम पनि दिन आवश्यक छ ।’


थारु परम्परागत सामग्री अहिले बजारमा किन्न पाइँदैन । व्यावसायिक हुन नसक्दा यस्तो भएको सरोकारवालाले बताए । जसका कारण नयाँ पुस्ता परम्परागत सामग्री निर्माणतर्फ आकर्षित हुन सकेका छैन । यसका लागि स्थानीय सरकारले पनि पहल थाल्नु पर्ने सुझाव अगुवाको छ । स्थानीय सरकारले जनजाति समुदायको संस्कृति, संस्कार र परम्परागत संस्कृतिको संरक्षणका लागि निश्चित बजेट छुट्याउने गरेका छन् । तर, उक्त बजेट संस्कृति संरक्षणमा खर्च गरिएको छैन । ‘परम्परागत सामग्री बनाउन सक्ने केही जनशक्ति अझै छ । हाम्रो पुस्ताले सीप हस्तान्तरण नगर्ने हो भने लोप भएर जान सक्छ,’ परम्परागत सामग्री बनाउने सीप भएका गोविन्द चौधरीले भने, ‘स्थानीय सरकारले यस्ता सामान बनाउन युवालाई तालिम दिएर बजार व्यवस्थापन गर्न सक्ने हो भने थारु संस्कृति र सम्पदा जोगिन सक्छ ।’

प्रकाशित : मंसिर ३०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?