१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सधैं विकासकै पिरलो

गाउँमा बाह्रै महिना गाडी चल्ने मोटरबाटो, खोला तर्न झोलुंगे पुल, पिउने पानी, स्वास्थ्यचौकी र सञ्चारको सुविधा स्थानीयले चाहेका छन् 
वीरेन्द्र केसी

(अर्घाखाँची) — गाउँको विकास कुर्दाकुर्दै सिद्धाराका बेदुराम आचार्यको उमेर ढल्किसक्यो । अहिलेसम्म विकासले गति लिएको छैन । वर्षौंअघि थालिएका योजना अझै अधुरै छन् । गाउँमा बाह्रै महिना गाडी चल्ने मोटरबाटो, खोला तर्न झोलुंगे पुल, पिउने पानी, स्वास्थ्यचौकी र विदेशमा रहेका सन्तानसँग घरमै बसेर कुरा गर्ने सुविधा चाहिएको छ । ‘कुसुम खोलामा झोलुंगे पुल हाल्न प्रधानपञ्चदेखि हालसम्मका नेता र सांसदलाई भनिरहेको छु,’ आचार्यले भने, ‘आश्वासन दिन्छन् तर काम कसैले कहिल्यै गरेनन् ।’ 

सधैं विकासकै पिरलो

सिद्धाराको धेरै भूगोलबाट कुखुमखोलाको पानी राप्ती खोलामा मिसिएको छ । मावि पढ्न बहखोर जान धेरै खोला तर्नुपर्छ । वर्षामा बाढी आउँदा छोराछोरीलाई धमिलो खोला तारेर स्कुल पठाउन नसकिने उनले बताए । चुनावका बेला भोट माग्न गाउँमा आउने नेतालाई पुल बनाइदिन, मोटरबाटो ल्याइदिन, खानेपानी व्यवस्था गरिदिन सधैं माग गर्छन् । ‘भोट तान्न जहिल्यैका चुनावमा नेताले आश्वासन दिन्छन् । जितेर गएपछि

फर्केर कहिल्यै हेरेनन्,’ उनले भने ।


जिल्लाको २७ प्रतिशत भूगोल ओगटेको साबिकको सिद्धारा गाविस नयाँ संरचनाअनुसार शीतगंगा नगरपालिकाका तीनवटा वडामा विभाजित छ । एउटा टोलबाट अर्को टोलबस्तीसम्म पुग्न घण्टौं पैदल हिँड्नुपर्छ । विकासको गति सुस्त भएकै कारण वैदेशिक र स्वदेशी रोजगार एवं अन्य पेसा व्यवसाय गरेर पैसा कमाएपछि तराई, सहरमा घर–घडेरी किनेर उतै बसाइँ सर्छन् । जंगली जनावर भालुको आक्रमणको उस्तै त्रास छ ।


‘एक बस्तीबाट अर्कोमा जान जंगल छिचोल्नु पर्ने भएकाले एक्लै हिँडे चितुवाको आक्रमणमा परिने डर हुन्छ,’ उपल्लो सिद्धाराकी विमला बेल्वासेले भनिन् । जल, जमिन, जंगल, जडीबुटीले बस्ती धनी भए पनि न्यूनतम सुविधा भने केही नभएकाले समस्या परेको उनले बताइन् । सिद्धारा स्वास्थ्य चौकी पुग्न लिसिकुना, पाकुरीलगायत धेरै बस्तीबाट ६/७ घण्टा पैदल हिँड्नुपर्छ । सामान्य रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामीले उपचार पाउनै कठिन रहेको बेल्वासेले बताइन् । ‘म गर्भवती हुँदा नियमित स्वास्थ्य चौकीमा आउन एक दिन लाग्थ्यो,’ उनले भनिन्, ‘जोखिम हुन सक्छ भनेर बच्चा जन्माउने बेलामा सात दिनअघि नै ऋण गरेर बुटवल गएँ ।’


छरिएर रहेका बस्तीका घरमा पुगी बिरामी जाँच्न पनि स्वास्थ्यकर्मीलाई सम्भव छैन । सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पाउने नीति अघि सारे पनि सिद्धाराका दुर्गम बस्तीका बासिन्दाले सेवा पाउन सकेका छैनन् । बिरामी भएमा घरकै जडीबुटीको भर छ ।


हर्रेका सन्तोष पोखरेललाई गाउँमा जताततै मोबाइल सेवा सहज भइदिए हुन्थ्यो भन्ने लाग्छ । ‘मोबाइलमा इन्टरनेट चल्दैन । स्वदेश तथा विदेशमा रहेका साथीभाइ, नातेदारसँग भिडियो कलमा कुरा गर्न पाइँदैन,’ उनले भने । मोबाइलको टावर खोज्न अग्लो ठाउँ खोज्दै हिँड्नुपर्छ । नेपाल टेलिकमले टावर राखे पनि सबै ठाउँमा सेवा पुग्न सकेको छैन । ‘मोबाइलमा अनलाइनका समाचार हेर्न पनि पाइँदैन,’ उनले भने, ‘सांसद, जनप्रतिनिधि र दलका नेतालाई सुविधा उपलब्ध गराइदिन बारम्बार आग्रह गर्दा हुन्छ पहल गर्छौं भन्छन् तर काम गर्दैनन् ।’


सिद्धाराको हर्रेबर्रेसम्म हिउँदमा बस आउँछन् । वर्षामा बाटो चिप्लो हुन्छ । सिद्धाराको लिसिकुना, पाकुरी, खयरबट्टी, बाटुले, दुम्सीलगायत गाउँमा मोटर बाटो खनिएको छ । ‘सधैं गाडी गुड्न सक्ने अवस्था छैन । ग्रेड मिलेको छैन । डोजर चालकले आफैं अन्धाधुन्ध मोटरबाटो खनेकाले यस्तो भएको हो,’ स्थानीय सीता आचार्यले भनिन्, ‘सरकारी बजेट दुरुपयोग भए पनि अनुगमन गर्न कोही आउँदैनन् ।’ सिद्धारामा पशुपालन र कृषि उत्पादन राम्रो छ । यस क्षेत्रलाई एग्री कल्चर क्षेत्र बनाउँछौं भनेर चुनावमा मात्रै होइन, विभिन्न कार्यक्रममा गाउँमा आउने सांसद, जनप्रतिनिधि र दलका नेताले भाषण गर्छन् । ‘सिँचाइको कुनै योजना छैन । अनि, कसरी कृषि क्रान्ति हुन्छ !’ सिद्धाराका हिमालय बेल्वासेले भने, ‘भाषणले मात्रै बारीमा तरकारी फल्दो रहेनछ ।’ छरिएर रहेको बस्ती भएकाले विद्युत विस्तार गर्न पनि उस्तै समस्या छ । भूगोल नै जटिल भएकाले विकासका काम तीव्र गतिमा अघि बढाउन नसकिएको सांसद एवं जनप्रतिनिधि बताउँछन् ।


शीतगंगा नगरपालिका–१० का वडाध्यक्ष हिम्मत पोखरेलले भूगोलअनुसार बजेट अत्यन्तै न्यून भएकाले मागअनुसारका योजना सञ्चालन गर्न नसकिएको बताए । ‘वडाको बजेटले साना योजना र कार्यक्रम सञ्चालन गर्नै पुग्दैनन्,’ उनले भने, ‘गाउँका सर्वसाधारणलाई सरकारी सेवा पुर्‍याउने लक्ष्य रहे पनि सहर र सुगमजस्तो दुर्गम बस्ती हुँदो रहेनछ ।’ संघीय सरकारले दुर्गम भएका पालिकालाई विशेष क्षेत्र घोषणा गरेर थप बजेट पारेर विकासका काम गर्ने योजना अघि सारेको छ । प्रदेश ५ को सरकारलाई शीतगंगा नगरपालिकाको धेरै भूगोल जटिल छ, बजेट धेरै चाहिन्छ भनेर विशेष क्षेत्रमा सिफारिस गरिदिन बारम्बर यस क्षेत्रका सांसदले मुख्यमन्त्रीलाई भने पनि चासो नदिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।


बारम्बार विभिन्न कार्यक्रममा बस्ती एकीकृत गरेर विकास गर्ने कुरा उठे पनि योजना बनाएर लाग्न कसैले पहल गरेको छैन । समथर भूभागमा बस्ती विकास गर्ने, त्यहाँ स्कुल, स्वास्थ्यचौकी, यातायात सुविधा, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास गर्ने योजना वर्षौंदेखि सांसद, दलका नेता र जनप्रतिनिधिका भाषणमै सीमित छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?