१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जनशक्ति अभावमा उपकरण थन्किए

(रुकुम पूर्व) — पुथाउत्तरगंगा गाउँपालिका–१४ का वीरबहादुर विक नजिकै रहेको कोल प्राथमिक स्वास्थ्य केन्द्रमा आए । घाँस काट्ने क्रममा लअड्दा हात मर्किएको थियो । त्यसैको उपचारका लागि स्वास्थ्य केन्द्र आएका थिए । तर, उनले त्यहाँ उपचार पाउन सकेनन् । समस्या खुट्टिए पनि जनशक्ति अभावमा उनको उपचार हुन सकेन । 

सोही गाउँपालिका–१३ की मंगला बुढामगर भिडियो एक्सरेका लागि कोल प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् । उनी पनि सेवा नलिएरै घर फर्किनु पर्‍यो । मेसिन चलाउन जान्ने मान्छेको अभावमा उनले भिडियो एक्सरे गर्न पाइनन् । पुथाउत्तरगंगा गाउँपालिका–१२ अर्थात् साबिकको कोल गाविसमा रहेको स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने विक र बुढामगरमात्रै होइन, थुप्रै बिरामी उपचार नगरी फर्किन बाध्य छन् । साबिकको रुकुम जिल्ला हुँदाको निर्वाचन क्षेत्र १ को प्राथमिक स्वास्थ्य केन्द्र हो यो । प्राथमिक स्वास्थ्य केन्द्रमा हुनुपर्ने उपकरण र दरबन्दी छन् । तर, दरबन्दीअनुसार जनशक्ति नहुँदा सर्वसाधारणले सेवा पाउन सकिरहेका छैनन् ।


पुथाउत्तरगंगा गाउँपालिकाका १४ वडा, भूमे गाउँपालिकाका १, २ र ३ एवं सिस्ने गाउँपालिकाका १ र २ वडाका सर्वसाधारणले यहींबाट सेवा लिन्छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका कर्मचारी आउँदैनन्, आए पनि नियमित नबस्ने समस्या रहेको स्थानीयले बताए ।


प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, भिडियो एक्सरे, प्रयोगशालालगायत आधारभूत उपकरण छन् । तर, तिनको प्रयोग हुन सकेको छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृतसहित ११ स्वास्थ्यकर्मीको दरबन्दी छ । हाल डाक्टरसहित अन्य चार जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । यसको असर सर्वसाधारणमा परिरहेको छ । दरबन्दी समायोजनका क्रममा डा. तपेन्द्र कार्की अन्यत्रै गएपछि दुई महिनायता स्वास्थ्य केन्द्र डाक्टरविहीन छ । त्यसअघि स्वास्थ्य केन्द्रमा रहेका डाक्टर पनि जिल्लामै काजमा बस्ने गरेका थिए । कोलमा दरबन्दी भएर आउने कुनै पनि डाक्टर नियमित एक महिना यहाँ बस्दैनन् । स्वास्थ्य केन्द्र प्रमुख नै नबस्ने भएपछि अरू पनि नियमित स्वास्थ्य केन्द्रमा नहुने गरेको स्थानीयले बताए ।


पुथा उत्तरगंगा–१२ का वडाध्यक्ष तथा कोल प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्ष गंगा पुनले दरबन्दीअनुसारको जनशक्ति नियमित नहुँदा समस्या भइरहेको बताए । जनशक्तिकै अभावमा स्वास्थ्य केन्द्रमा भएका उपकरण उपयोगविहीन भएको उनको भनाइ छ । ‘यहाँ आउने डाक्टरदेखि स्वास्थ्यकर्मीहरू आएको भोलिपल्टैदेखि सरुवा हुन खोज्छन्,’ उनले भने, ‘दुर्गम भएर हो या अरू कुनै कारणले हो, पूरा अवधि बसेर सरुवा भएर कोही गएकै छैनन् ।’


तुरुन्तै सरुवा नभए काजमा बसेर अवधि पूरा गरेर सरुवा हुने चलनले समस्या भइरहेको उनले सुनाए ।


तीन अहेब, तीन अनमि र एक ल्याब टेक्निसियनको भरमा केन्द्र चलेको छ । संघीय सरकारले स्वास्थ्यकर्मी नपठाएपछि गाउँपालिकाले विज्ञापन गरेको थियो । तर, कसैको दरखास्त नपरेको गाउँपालिकाले जनाएको छ । कोल प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमा बोर्डमा पनि सूचीकृत स्वास्थ्य संस्था हो । डाक्टर र स्वास्थ्यकर्मीको अभावमा यस क्षेत्रका सर्वसाधारण स्वास्थ्य बिमाबापतको सेवाबाट पनि बञ्चित भइरहेका छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?