२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हिउँदे वर्षाले किसान खुसी

माधव अर्याल

पाल्पा — शुक्रबार सबेरैदेखि शनिबार बिहानसम्म परेको पानीले पहाडमा चिसो बढाएको छ । पहाडी भेगका किसान भने वर्षासँगै खुसी भएका छन् । वर्षाले किसानलाई राहत मिलेको र बालीनाली सप्रिनुका साथै हिउँदे बाली राम्रो हुने उनीहरूले बताए । सिमसिम परेको पानीले खेतबारीमा लगाएको बालीनाली, तरकारी खेतीलाई धेरै राम्रो भएको माथागढी–३, ओलेसका कृष्णबहादुर रानाले बताए ।

‘गत असोजपछि पानी नै परेको थिएन । जसले गर्दा खेतबारी सुख्खा थियो,’ उनले भने, ‘मसुरोले भुइँ छाड्न सकेको थिएन । फुलेको तोरी पनि सप्रिन पाएको थिएन । वर्षाले अन्नबाली र तरकारीलाई धेरै राहत मिलेको छ ।’ तानसेन नगरपालिका कुन्सरेका किसान टंकनाथ ढकालका अनुसार लामो समयदेखि पानी नपर्दा खेतबारी जोत्न नसकिने अवस्थामा पुगेको थियो । सुख्खा बढेकाले यस वर्ष तरकारी र हिउँदे अन्नबाली नहुने अवस्थामा थियो ।


अहिले परेको पानीले धेरै राहत दिएको उनले बताए । ‘लगाएको बालीलाई अहिलेको आकाशे पानी अमृतसमान भएको छ,’ उनले भने, ‘तरकारी, तोरी, गहुँका लागि धेरै राहत मिलेको छ ।’ अब हिउँदे बाली लगाउन खेतबारी जोत्ने काम हुने बताए । लगाइसकेको आलु, गहुँ, मसुरो, केराउजस्ता बालीका साथै बेमौसमी तरकारीलाई समेत अहिलेको पानीले राहत पुग्ने उनले सुनाए ।


कृषि प्राविधकका अनुसार अहिलेको वर्षाले कुलो नलाग्ने खेतमा लगाएको अन्नबालीलाई राम्रो हुन्छ । जिल्लाका अधिकांश खेतमा कुलो लाग्दैन । यस वर्ष पानी कम परेकाले खोलामा समेत पानी कम हुँदै गएकाले १८ घण्टासम्म परेको सिमसिम पानीले राहत पुगेको हो । गहुँ र तरकारी लामो समयसम्म पानी नपरेपछि सुक्न थालेको अवस्थामा पानी परेपछि किसान खुसी भएका हुन् ।


समयमै पानी परेपछि यस वर्ष लगाएको तरकारीका साथै फलफूल राम्रो उत्पादन हुने पूर्वखोला–६, हेक्लाङका व्यावसायिक किसान जितबहादुर रानाले बताए । गाउँका कतिपय स्थानमा यतिबेला लगाएको तरकारी पानी नपाएर सुक्ने अवस्थामा पुगेको थियो । ‘असोजदेखि आकासे पानी देख्न पाइएको थिएन,’ उनले भने, ‘खोजेकै बेलामा आकासे पानी आएको छ ।’


हिउँदयामको सुरुवातसँगै भएको वर्षाले किसानमा खुसीयाली छरेको किसान रानाले बताए । कात्तिक अन्तिम तथा मंसिर पहिलो साता छरेको गहुँ तथा अन्य दलहन बालीलाई सिंचाइ गर्नुपर्ने बेला भएको थियो । ‘गहुँबाली सिंचाइ गर्नुपर्ने भएको थियो,’ हेक्लाङकी किसान रम्भा घर्तीले भनिन्, ‘यही बेला पानी पररे निकै फाइदा भयो ।’


जिल्लाको रामपुर, माडी, झडेवा, कालीगण्डकी बेसी, कचल, अर्गली, सर्देवालगायत फाँटमा गहुँ र तरकारी बाली लगाएका छन् । पूर्वखोला, अरूणखोलालगायत स्थानमा लगाएको गहुँ, तोरीले पनि ठीक समयमा पानी पाएको निस्दी, ज्यामिरेका किसान रमण सारुले बताए ।


‘अहिलेको वर्षाले गहुँ, दलहन र तरकारी खेतीलाई धेरै फाइदा पुग्छ,’ कृषि प्राविधिक सम्झना भट्टराईले भनिन्, ‘आकासको पानीले सिंचाइमा ठूलो सहयोग पुगेको छ ।’ पाक्न लागेको तोरी, खन्ने बेला भएको आलुलाई भने यसले असर गर्छ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?