२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नगरभरि कृत्रिम ताल

दुर्गालाल केसी

(दाङ) — घोराही उपमहानगरको फन्को मार्दा ठाउँ–ठाउँमा ताल भेटिन्छन् । ताल वरिपरि हरियाली देखिन्छ । यी ताल प्राकृतिक होइनन्, नगरले बनाएका हुन् । तालले नगरलाई आकर्षक मात्र बनाएका छैनन्, जमिनमा चिस्यान बढाएका छन्, सिँचाइमा साथ दिएका छन्, जीवजन्तु संरक्षणमा सहयोग गरेका छन् । 

नगरभरि कृत्रिम ताल

घोराहीमा २२ वटा कृत्रिम ताल बनाइएका छन् । घोराही–१ स्थित चेपे, २ को बलरामपुर, १० को दुन्द्रा र ठाँटी गाउँ, १२ को जंखोली, १३ को ज्यामिरे, १६ को गंगटेमा दुइटा, १७ को ढिकपुर, कटही, आरोग्य, डबरीमा एक तथा गुलरियामा दुइटा, १८ को बेलघारीमा एक र गिठेपानीमा दुइटा ताल छन् । यी तालले ३३ बिघा क्षेत्रफलमा ओगटेका छन् । तालमा २२ लाख घनमिटर पानी अट्ने उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । यसअघि घोराही उपमहानगरमा बाह्रकुनै दह मात्र थियो । ‘तालबाट सिँचाइ, माछापालन, पर्यटन प्रवर्द्धन, जीवजन्तुको बासस्थान संरक्षणमा मद्दत पुगेको छ,’ इन्जिनियर श्रेष्ठले भने । तालमा डुंगा सयरको व्यवस्था मिलाइएकाले केही युवालाई रोजगारी पनि मिलेको छ ।


ताल निर्माणमा नगरको मात्रै साढे ७ करोड लगानी भएको छ । कटही र गिठेपानीको माथिल्लो ताल बृहत् सिँचाइ योजनाको ३ करोड रुपैयाँबाट निर्माण भइरहेको इन्जिनियर श्रेष्ठले बताए । अहिले प्रदेश सरकारले ३ करोड बजेट पनि विनियोजन गरेको उनले बताए । ‘थप चार ठाउँमा ताल बनाउने योजना छ । यसका लागि प्रदेश सरकारमा प्रस्ताव पेस गरेका छौं,’ श्रेष्ठले भने । घोरोही–१२ को हापुर, १७ को तल्लो कर्जाही, ४ को अमारे सोता र रोहिनीमा ताल बनाउन प्रस्ताव गरिएको उनले बताए ।


पहिलेको खहरे विशाल तालमा परिणत भएको देख्दा अचम्म लाग्ने गरेको चेपे ताल निर्माण समितिका सचिव सोमप्रसाद सुवेदीले बताए । ‘जमिनको चिस्यान घट्दै गएको थियो, गाईभैंसीलाई पानी खुवाउने पोखरी थिएन,’ उनले भने, ‘अहिले पानीको भकारी छ । जमिन सिँचाइ गर्न पाइएको छ । बिदामा घुम्ने र हेर्नलायक ठाउँ भएको छ ।’ तालमा नयाँ चरा आइरहेको उनले बताए । अब माछा पाल्ने र डुंगा चलाउने योजना रहेको पनि सुवेदीले बताए ।


घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले ताल बहुउपयोगी रहेको बताए । ‘धेरै मानिस हेर्न आउँछन् । यत्रो ताल बनाउन सकिँदोरहेछ भनेर अचम्म मान्छन्,’ उनले भने । तालमा माछापालन गरेर स्थानीयको आयआर्जन बढाउने योजना बनाइरहेको चौधरीले बताए । ‘तालबाट समुदायले आयआर्जन गर्ने व्यवस्था मिलाउँदै छौं,’ उनले भने ।


जलवायु परिवर्तनका प्रभाव कम गरी वातावरण सन्तुलित राख्ने, सिँचाइ र खानेपानीको व्यवस्था गर्ने, भूमिगत जलस्रोत घट्न नदिने, चराचुरुङ्गी र वन्यजन्तु संरक्षण गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ताल निर्माण गरिएको नगरप्रमुख चौधरीले बताए । यहाँ ०७० सालमा कृत्रिम जलाशयको अवधारणा ल्याइएको हो । ‘सबै तालमा आकाशे पानी संकलन हुन्छ । यसबाट जमिनको मुहान पनि बढ्छ,’ नगरप्रमुख चौधरीले भने, ‘चराचुरुङ्गी र वन्यजन्तुलाई फाइदा भएको छ । नयाँ मान्छे आउँदा देखाउने नयाँ ठाउँ भएको छ ।’



प्रकाशित : मंसिर २९, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?