राम्राे शिक्षा दिने विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

रासस

बुटवल — पूर्वअर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् । बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए । 

राम्राे शिक्षा दिने विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

यसका साथै उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । ‘विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौं । यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अंग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अंग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,’ उनले भने, ‘यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।’


पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताए ।


उनले बुटवलको बेलवासदेखि नहरपुर हुँदै बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गरे । ‘भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने ।


कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रेहका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताए ।

प्रकाशित : मंसिर २७, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?