कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मध्यवर्तीमा बाघ र हात्ती आतंक

एक्लै हिँड्न डरमर्दो
हात्ती र बाघको आक्रमणमा परिएला कि भनेर रात पर्नासाथ गाउँले झ्यालढोका थुनेर बस्ने गरेका छन्
कमल पन्थी

बर्दिया — एक महिनाअघि बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीस्थित ७० वर्षीया पहरिया थारूको मृत्यु भयो । घरनजिकै बंगुरलाई आहारा दिन गएका बेला उनलाई बाघले आक्रमण गरेको थियो । त्यही समय आसपास बाघ आक्रमणबाट गेरुवा गाउँपालिका–४ को सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय रामकली शाहीको ज्यान गयो ।

मध्यवर्तीमा बाघ र हात्ती आतंक

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा तीन महिना अवधिमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । पछिल्लो एक वर्षमा बाघ आक्रमणबाट निकुञ्जभित्र चार र मध्यवर्तीमा दुई जनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ । यस क्षेत्रमा बाघले मात्र आतंक फैलाएको छैन, निकुञ्जका अन्य वन्यजन्तुका कारण स्थानीय सधैं त्रासमा छन् । कर्णालीपारिको गेरुवा गाउँपालिका र आसपासका बासिन्दा जागाराम बस्नुपरेको छ ।


‘बाघ लाग्ने डरले दिउँसो एक्लै हिँड्न डरमर्दो छ,’ स्थानीय नरबहादुर साउदले भने । गाउँमा एक सातायता बाघले दुईवटा गाई मारेको छ । बस्ती डुल्न छाडेको छैन । निकुञ्जमा पछिल्लो गणनाअनुसार ८७ वटा बाघ छन् । एउटा भाले बाघले २२ र पोथीले १५ वर्गकिमि क्षेत्रलाई आफ्नो आधार इलाका बनाउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । बाघको मुख्य बासस्थान बबई र कर्णालीका तटीय क्षेत्र रहेको उनको भनाइ छ ।


केही दिनअघि गेरुवा–६ मा निकुञ्जबाट आएको हात्तीले काशीराम पोखरेलको घर भत्कायो । स्थानीय अंगारु थारूको पसलमा राखेको एक–एक बोरा नुनचामल खायो । पछिल्लो एक महिनामा हात्तीले दुई दर्जनभन्दा बढी घर भत्काएको छ । बालीमा पनि क्षति पुर्‍याएको मनाउ प्रसेनीपुर माविका प्रधानाध्यापक कुमार लामिछानेले बताए । गाउँ वरिपरि दैनिक २५ भन्दा बढी जंगली हात्ती आउने गरेको लामिछानेले जानकारी दिए । हात्ती आतंकले रात पर्नासाथ गेरुवा तटीय क्षेत्रका गाउँघर त्रासले सुनसान हुने गरेको उनको भनाइ छ ।


तीन वर्षअघि गेरुवा–५, हात्तीखल्लाकी ३२ वर्षीया विमला परियारलाई हात्तीले कुल्चेर मार्‍यो । त्यति बेला अन्य तीन जनालाई घाइते बनाएको थियो । १७ वर्षमा हात्ती आक्रमणबाट ५६ जनाको ज्यान गइसकेको निकुञ्जले बताएको छ ।

प्रकाशित : मंसिर २६, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?