हिंसाविरुद्ध महिला सक्रिय

दाङ — कुनै बेला घरायसी कुरा हो भनेर हिंसा सहेर बस्ने महिलाहरू अहिले आवाज उठाउन थालेका छन् । गाउँ, सहर सबैतिर महिलाहरू जागरुक भएका छन् । गाउँगाउँमा रहेका महिला समूहहरू पनि हिंसाविरुद्ध सक्रिय छन् । यसले हिंसा गर्न खोज्नेहरूलाई सचेत बनाएको छ ।

हिंसाविरुद्ध महिला सक्रिय

अब हिंसा सहेर बस्न नसकिने घोराही उपमहानगरपालिका–३ स्थित जुनेली महिला समूहकी सदस्य रमा नेपालीले बताइन् । ‘पहिलेपहिले सानातिना कुरा घरमै मिलाउनुपर्छ भन्ने चलन थियो । धेरै महिला सहेरै बस्थे तर अहिले केही घटना भयो कि तत्काल विरोध हुन्छ,’ उनले भनिन्, ‘यसले हिंसा गर्न खोज्नेहरूलाई हच्काएको छ । महिलामाथि सजिलै जाइलाग्न सक्दैनन् ।’


महिलामाथि हुने हिंसाविरुद्ध सबै समुदाय सचेत हुँदै गएको नेपालीले बताइन् । दुई दिनअघि घोराही–२, रामपुरमा बालिकाहरू लखेट्दै हिँड्ने एक जोगीलाई समुदायले पक्राउ गरेर प्रहरीलाई बुझाएको उनले बताइन् । ‘समाजमा विभिन्न आवरणमा महिला र बालिकाहरूमाथि हिंसा गर्नेहरू छन्,’ उनले भनिन्, ‘त्यसविरुद्ध सबै एकजुट भएपछि हिंसा गर्न खोज्नेहरू पनि आँट गर्न सक्दैनन् ।’ महिला समूहहरूले हिंसाविरुद्धका अभियान चलाउने गरेको राप्ती गाउँपालिका–४ की गौरीमाया घर्तीले बताइन् । ‘पहिले महिला घरबाट निस्कनेबित्तिकै गाउँघरमा कुरा काट्न सुरु हुन्थ्यो । यो किन घरबाहिर जान्छे, के गर्छे भनेर अनेक टीका/टिप्पणी गर्थे,’ उनले भनिन्, ‘अहिले घरबाहिरका काममा पनि सजिलै जान पाइएको छ । महिलाहरू विभिन्न सामाजिक काममा सहभागी हुन पाएका छन् ।’ महिलाहरू सचेत भएपछि घरपरिवार पनि सहयोगी भएको उनले बताइन् ।


समाजमा विभिन्न बाहनामा हिंसा हुने गरेको तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँकी ललिता वलीले बताइन् । ‘अन्धविश्वास, पितृसत्तात्मक सोच र अशिक्षाका कारण महिलामाथि हिंसा भइरहेको छ,’ उनले भनिन्, ‘पहिलेको तुलनामा यस्ता घटना निकै कम भएका छन् ।’


महिला हिंसाविरुद्धको १६ दिने अभियान पनि गाउँगाउँमा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार समापन गरिएको छ । जिल्लाका १० वटै पालिकामा महिला हिंसाविरुद्धका विभिन्न चेतनामूलक अभियान सञ्चालन भएको महिला मानवअधिकार रक्षकहरूको सञ्जालकी जिल्ला अध्यक्ष हुमा डीसीले बताइन् । ‘महिलाहरूको चेतनाको स्तर धेरै बढेको छ । अहिले हिंसा सहेर बस्नेहरू निकै कम छन्,’ उनले भनिन्, ‘गाउँगाउँमा महिलाहरूकै अगुवायीमा हिंसाविरोधी अधियान चलेका छन् । यसले पुरुषलाई पनि जिम्मेवार बनाएको छ ।’


प्रहरीले पनि जिल्लाका विभिन्न गाउँमा समुदाय/प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी महिला हिंसाविरुद्ध सचेतना फैलाउने काम गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए । हिंसाविरुद्धका अभियानमा समुदायको राम्रो सहयोग प्राप्त भइरहेको उनले बताए । हिंसा सहेर नबस्ने परिपाटीको विकास हुँदै गएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘हिंसाविरुद्ध बोल्न थालेपछि घटना कम हुँदै जान्छन् । हिंसााविरुद्ध समुदाय जागरुक हुन जरुरी छ,’ उनले भने, ‘प्रहरी र प्रशासनले हिंसाका घटनालाई जहिले पनि गम्भीर रूपमा लिइरहेको हुन्छ । यसमा समाजको सहयोग भएमा हिंसा न्यूनीकरणमा सहज हुन्छ ।’

प्रकाशित : मंसिर २६, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?