जन्तीलुङमा होमस्टे

मगर समुदाय बहुल यस पर्यटकीयस्थलको संस्कृति बचाउन र प्रचार गर्न होमस्टे सञ्चालन
माधव अर्याल

(पाल्पा) — अग्लो लेककको जन्तीलुङमा स्थानीयको अगुवाइमा होमस्टे (घरबास) सुरु भएको छ । मगर समुदायको बाहुल्य रहेको यस पर्यटकीय स्थलको संस्कृति बचाउन र प्रचार गर्न होमस्टे सुरु गरिएको हो ।

जन्तीलुङमा होमस्टे

स्थानीय उत्पादन बढाउन र आर्थिक आयस्तर उकास्न होमस्टे चलाएको जन्तीलुङ होमस्टेका अध्यक्ष शेरबहादुर लम्तरीले सुनाए । १ हजार ६ सय मिटर अग्लो डाँडामा रहेको होमस्टेमा पर्यटकको सुविधा र यस क्षेत्रकै विकासका लागि घरबास सुरु गरेका हुन् । त्यसका लागि तिनाउ गाउँपालिकाले १० लाख सहयोग गरेको छ । पर्यटकीय क्षेत्रको विकास र पर्यटक आकर्षित गर्न होमस्टेलाई सहयोग गरेको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । हरेक परिवारले पनि केही रकम लगानी गरेको जन्तीलुङ होमस्टेका अध्यक्ष लम्तरीले बताए ।


गाउँका १० घरमा अहिले जन्तीलुङ होमस्टे तयारी अवस्थामा छ । आउने पाहुनालाई सोहीअनुसार व्यवस्थापन गरेका छन् । यहाँ नअट्ने पाहुनालाई ३० मिनेटको पैदल यात्रामा पुगिने नजिकको तिनाउ–५ मरामकोटमा खोलिएको होमस्टेमा पुर्‍याउने गरिएको छ ।

यहाँबाट दक्षिण फर्किंदा रूपन्देहीको बुटवल, भैरहवा, सालझन्डी मात्र होइन, नवलपरासीको दाउन्ने बर्दघाट देखिन्छ । उत्तर हेर्‍यो भने सेतै टल्किएका धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रेलगायत लम्जुङको गणेश हिमालसम्म छर्लङ्गै देखिन्छन् । नागबेलीजस्ता पहाड, त्यहाँ बनेका खोंच हेर्दा जो कोही पनि तिनाउ गाउँपालिका–६ मस्यामको जन्तीलुङ पुगेपछि यस्ता दृश्यबाट लोभिन्छन् ।


सिद्धार्थ राजमार्गबाट ९ किलोमिटरको दूरीमा डाँडाको टुप्पोमा जन्तीलुङको बस्ती छ । यही बस्ती नजिकमा नेपाल टेलिकम, एनसेललगायत विभिन्न इन्टरनेट कम्पनीले टावर राखेका छन् । यहाँ केही मिटर समथर डाँडो छ । दोभानका राजेश श्रेष्ठका अनुसार यहाँबाट बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्न सकिन्छ ।


दुई महिनाको बीचमा ८४ पर्यटक यस बस्तीमा पुगेर घरबासमा बसेका छन् । अग्लो डाँडामा घुम्न आउने पर्यटक बढ्दै गएको स्थानीय मीनासरा लम्तरीले बताइन् । ‘डाँडाको बस्ती र यहाँबाट देखिने दृश्यबाट धेरै लोभिन्छन्,’ उनले भनिन्, ‘यहाँ आउनेलाई स्थानीय स्वाद र बास दिन थालेका छौं ।’

वडाध्यक्ष टोमबहादुर पुनका अनुसार गेट निर्माण, बाटो स्तरोन्नतिको काम भइरहेको छ । ‘यो सकिनासाथ व्यापक प्रचारप्रसार गरिनेछ,’ उनले भने, ‘यहाँ आएका पाहुनालाई किंवदन्तीअनुसारका लहरै ढुंगाको पहाड पनि हेर्न लगिनेछ । गुफा पनि भएकाले यसको पनि प्रचारप्रसार गर्नेछौं ।’ होमस्टेको पूर्ण ज्ञान नभए पनि गर्दै सिक्दै गरेको स्थानीय पदमबहादुर चिदीले बताए । यहाँ बस्न पुगेका रूपन्देहीका मनोज क्षत्रीले स्थानीय उत्पादन, कला–संस्कृतिलाई होमस्टे चलाएपछि सहयोग पुगेको बताए ।


स्थानीय मगर समुदायको पुरानो संस्कृति झाम्रे, ठूलो नाच र सालै जो गीतसहितको सांस्कृतिक मनोरञ्जन प्रदान गरिने एवं चुत्रा, पाखनवेत जस्ता स्थानीय परिकार यहाँ पाइने होमस्टे सञ्चालक मीनबहादुर लम्तरीले बताए । ‘होमस्टेमा आउनेले टिमुरको अचार, फापरको रोटी, मकै, कोदोको रोटी, ढिंडो खान पाउँछन्,’ उनले भने, ‘सबै खानेकुरा अर्गानिक हुन् ।’

प्रकाशित : मंसिर २६, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?