कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

वन्यजन्तुबाट जोगिन पूजा

बर्दिया — मधुवन नगरपालिका–३ का ७० वर्षीय गुरुवा राधेश्याम थारुले सोमबार बिहान माटोका हात्ती र भगवान्का मूर्तिमा पूजा गरे । वन्यजन्तुले हानि नपुर्‍याओस् भनेर वनदेउताको प्रार्थना गरेको उनले बताए । तन्त्रमन्त्रसहित पूजाआजा गर्दै फलफूल चढाए । उनी मात्र होइन, घना जंगलभित्रको बालकुमारी माई (वैष्णो देवी) को मन्दिरमा जिल्लाभरिबाट भेला भएका थारू गुरुवाले शान्ति, स्वास्थ्य र बाघ आक्रमणबाट रक्षाका लागि जाग्राम बसेर पूजाआजा गरेका हुन् । 

मन्दिरमा चार सयको हाराहारीमा थारू समुदायका गुरुवाको भेला भएको थियो । उनीहरूले ढाक बजाए । अधिकांश गुरुवाले राति त्रिशूलले जिब्रो छेड्दै देवीको पूजा गरेका थिए । प्रत्येक तीन वर्षको अन्तरालमा मन्दिरमा ढाक बजाइन्छ । अन्य समय मन्दिरमा ढाक नबज्ने गुरुवा विश्राम थारूले बताए । हरेक तीन वर्षमा मंसिर महिनाको तेस्रो साता गरिने ल्वाङी पूजामा गुरुवा र वैद्य बा भेला भएर पूजाआजा गर्छन् ।


थारू समुदायको धार्मिक आस्थाको केन्द्र भएकाले बालकुमारी माईसँग मागेको भाकल पूरा हुने विश्वास छ । मधुवन–३ का वडा सदस्य तथा गुरुवा फूलाराम थारूका अनुसार सुख, शान्ति, रोग हटाउन यसरी पूजा गरिन्छ । धान काटेर भित्र्याएपछि गाउॅघरमा अन्नको कमी नहोस् भनेर यो पूजा गरिँदै आएको उनले बताए । स्थानीय राजकुमार थारुले बालकुमारी माईले इच्छाएको कुरा पूरा गर्दै आएको बताए । ‘वर्षा नहुँदा असारी पूजा गरेपछि पानी आउने गरेको छ,’ उनले भने, ‘यहाॅ घना जंगलबीच बस्ती भएकाले देवीको पूजामा कमी हुनासाथ बाघले आक्रमण गर्छ ।’ पूर्वसांसद चिरञ्जीवी चौधरीले बाघको आक्रमण तीव्र भएपछि देवीको विधिवत् पूजा गरेपछि अहिले रोकिएको बताए ।


माईको पूजाका लागि बारबर्दिया, राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाबाट गुरुवा आएको राधेश्यामले बताए । ढाक बज्नासाथ पूजापाठ, गुरुवा तान्त्रिक मन्त्रबाट उफ्रिने, जिब्रो छेड्ने र रातभरि नाचगान गरेका थिए । मन्दिर परिसरमा मदिरा निषेध छ । पूजाका दिन पशुवली दिने गरिन्छ । उक्त प्रसाद भक्तजनलाई दिने गरिएको मधुवन नगरपालिका गुरुवा संघका अध्यक्ष सुद्रराम थारूले बताए ।

प्रकाशित : मंसिर २५, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?