सहाराविहीन विद्यार्थीलाई सहयोग

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माध्यमिक विद्यालयका २५ विद्यार्थीका लागि सहयोग प्राप्त भएको छ । विद्यालयमा बसेर पढ्ने १८ र घरबाट आउजाउ गर्ने ७ असहाय विद्यार्थीका लागि ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सहयोग रकम प्राप्त भएको विद्यालयले जनाएको छ ।

०७७ सालको असार महिनासम्म आठ महिनाका लागि प्रतिमहिना ७५ हजारका दरले रकम प्राप्त भएको हो । यसअघि विद्यालय आफैंले आन्तरिक स्रोतबाट खर्च बेहोर्दै आएको विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले बताए । सहयोगलाई मितव्ययी तथा व्यवस्थित ढंगले परिचालन गरिने उनले बताए ।


चालु शैक्षिक सत्रमा विद्यालयले १३ जना सहाराविहीन विद्यार्थीलाई आफ्नै खर्चमा विद्यालयमा राखेर पढाउन सुरु गरेकामा अहिले त्यो संख्या २५ पुगेको छ । छात्रवास नहुँदा पनि विद्यालय भवनमा नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा विद्यार्थीलाई विद्यालयमा राखिंदै आएको प्रअ गौतमले बताए । सिस्ने गाउँपालिकाका साथै भूमे, पुथाउत्तरगंगा र रुकुम पश्चिमका समेत केही वडाका विद्यार्थीले विद्यालयमै बसेर पढिरहेका छन् ।


घरमा बुबाआमा नभएका, बुबा वा आमामध्ये एक जना नभएका र संरक्षणको अभाव भएका बालबालिकालाई विद्यालयमा राखेर पढाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले बताए । ‘कपी–कलम जम्मा गर्न नसक्ने र सहाराविहीन विद्यार्थीको पहिचान गरेर विद्यालयमै राखेर पढाउन थालिएको हो,’ अध्यक्ष समालले भने, ‘सानो कारणले बालबालिका पढाइबाट वञ्चित हुनुभन्दा थोरै स्रोत खोजेर व्यवस्थापन गर्न थालिएको छ ।’


नजिकका आफन्तकहाँ बस्ने गरेका बालबालिका पनि विभिन्न काममा अल्झँदा पढाइमा असर परिरहेको थाहा पाएपछि विद्यालय आफैंले बसाइको व्यवस्थापन गरेको उनको भनाइ छ । कक्षा ७ की अस्मी बुढा मगरले विद्यालयमा बस्न थालेपछि एक दिन पनि पढाइ नछुटेको बताइन् । ‘घरमा हुँदा पढाइ नछुटेको कुनै हप्ता हुन्नथ्यो,’ उनले भनिन्, ‘विद्यालयमै बस्न थालेपछि पढाइ छुटेको छैन ।’

प्रकाशित : मंसिर २४, २०७६ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

सबैतिर बजारैबजार

नवीन पौडेल, गिरुप्रसाद भण्डारी

परासी/प्यूठान — पश्चिम नवलपरासीका सातै स्थानीय तहका केन्द्रमा खुलेका बजारमा रौनक बढेको छ । यहाँको जग्गाको मूल्य बढेको छ । एक लाख रुपैयाँ प्रतिकट्ठा पर्ने जग्गा अहिले १० लाख रुपैयाँसम्म पुगेको सुस्ता गाउँपालिका बेलाटारीका रवीन्द्र चौधरीले बताए । ‘टाढा जानै पर्दैन । सबै काम वडा र स्थानीय तहको केन्द्रबाट हुन्छ,’ उनले भने, ‘पहिले हुनेखानेहरू सदरमुकाममा बसाइँ सर्थे । अहिले स्थानीय तहको केन्द्रवरपर सर्न थालेका छन् ।’ 

संघीयताअगाडि नवलपरासी जिल्ला पश्चिमको सुनवल र पूर्वको गैंडाकोटसम्म फैलिएको थियो । सामान्य कामका लागि पनि सदरमुकाम नै आउनुपर्ने भएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सरकारी सेवाग्राहीको चापले नै व्यवसाय तथा पसल चलेका थिए । जिल्ला टुक्रिएपछि यहाँको चहलपहल घटेको स्थानीयले बताए । स्थानीय तहका केन्द्र तोकिएपछि त परासी बजारको लर्को त्यतै लागेको छ । अहिले परासी सुनसान छ ।

दुई दिन लगाएर नवलपुरको पहाडी क्षेत्रबाट परासी आउने सेवाग्राहीको अहिले गाउँपालिका केन्द्रबाटै काम हुन्छ । जिल्लाभरिका योजना सम्झौता, पेस्की तथा रकम फर्स्योटका लागि कार्यालयको गेटसम्मै सेवाग्राहीको लर्को लाग्ने साबिकको जिल्ला विकासका कर्मचारीलाई खाजा खाने फुर्सदसमेत हुँदैनथ्यो । तर, अहिले जिल्ला समन्वय समितिको कार्यालय सुनसान छ । लामो समयदेखि समन्वय समिति प्रमुखविहीन भए पनि कसैले गुनासो गरेका छैनन् ।

सदरमुकाम सुनसान हुँदा यहाँको होटल व्यवसाय बढी प्रभावित बनेको छ । पहिले जिल्लाबाट हुने काम कारबाही स्थानीय तहबाटै हुन थालेपछि सेवाग्राही सदरमुकाम आउन छाडेका हुन् । सानादेखि ठूला योजना, सिफारिस वडा, नगर र गाउँपालिकाको केन्द्रबाट नै हुने गरेका छन् । यसको प्रत्यक्ष असर यहाँका होटल व्यवसायलाई परेको छ ।

रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले विकेन्द्रीकरणको अभ्यासमा यस्तो हुनु स्वाभाविक भएको बताए । ‘हामीसँग प्रशस्त सम्भावना छन् । औद्योगिक तथा पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना भएकाले सदरमुकाम परासीको भविष्य उज्ज्वल छ,’ उनले भने, ‘सदरमुकाम भएको नगरपालिकाको गौरवका योजना सम्पन्न भएपछि नमुना नगरका रूपमा परासी बजार विकसित हुनेमा दुईमत छैन ।’

स्थानीय तहको कार्यान्वयनसँगै अहिले बर्दघाट, सुनवल, सुस्ताको बेलाटारी, पाल्हीनन्दनको केन्द्रलगायतका स्थानमा बजार बढेका छन् । उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरिराज पाण्डेका अनुसार संघीयतापछि सदरमुकाम परासीमा साना लगानीका व्यवसायमा कमी आएको बताए । ‘पहिलेको तुलनामा यहाँको व्यवसायमा कमी आएको छ,’ उनले भने, ‘तर, यहाँ रहेका रामग्राम स्तुप, पण्डितपुरजस्ता पर्यटकीय क्षेत्रको विकास गर्न सके पुरानो रौनक फर्काउन समय लाग्दैन ।’

चम्किँदै जस्पुर

प्यूठानको जस्पुर बजार क्षेत्र पछिल्लो समय चम्किन थालेको छ । यसले यहाँका स्थानीयलाई उत्साहित बनाएको छ । माण्डवी गाउँपालिकाको केन्द्र देवीस्थानबाट जस्पुरमा सारिएपछि यहाँको बजार चम्किन पुगेको हो । इलाका प्रशासन, नापी, मालपोतलगायत कार्यालयसमेत जस्पुरमै छन् ।

सडक डिभिजन कार्यालय, गाउँपालिका केन्द्रलाई लक्षित गरी भर्खरै यहाँ झन्डै दर्जन बैंक तथा वित्तीय संस्था खुलेका छन् । यहाँको धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्ने तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं होटल खुलेका हुन् । होटलहरू सधैं भरिभराउ हुन्छन् । प्यूठान सदरमुकाम खलंगा, बिजुवार, भिंगृ, स्वर्गद्वारी र रोल्पा सदरमुकाम लिबाङ, सुलिचौर जाने चोक रहेकाले पनि जस्पुर बजार चम्किंदै गएको स्थानीय व्यापारी नरेश्वर लम्सालले बताए । ‘०६३ सालमा दाखाक्वाडीको चेरनेटाबाट जस्पुरमा व्यापार गर्न झर्दा जस्पुर सुनसान थियो,’ उनले भने, ‘अहिले त सडक आसपासमै झन्डै तीन सय घर निर्माण भए । हेर्दाहेर्दै जस्पुर सहरजस्तै झकिझकाउ बन्दै छ ।’

जस्पुरमा व्यापार व्यवसाय बढ्दै गएपछि रोल्पा, अर्घाखाँचीबाट समेत व्यापार गर्नेको लर्को लागेको छ । स्वर्गद्वारी दर्शन गर्न आउने तीर्थयात्रीका कारण होटलमा खाना खानेहरू बिहानदेखि बेलुकासम्मै भीड लाग्ने भएकाले जस्पुरमा होटल चलाएक् ासरीता भण्डारी सुवेदीले बताइन् । पछिल्लो समय यहाँ ठूला होटलहरू खुल्दै गएको उनले सुनाइन् । भालुबाङ–प्यूठान सडक खण्डमै जस्पुर पर्छ । झिमरुक जल विद्युत् केन्द्र र बुटवल पावर कम्पनीको पावर हाउससमेत जस्पुरमै छ ।

प्रकाशित : मंसिर २४, २०७६ १२:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×