कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हुर्किंदै घडियाल

ठाकुरसिंह थारु

बर्दिया — नदी प्रदूषित बन्दै गएपछि त्यसको असर जलचर प्राणीमा परेको छ । माछा कम हुँदै गएपछि घडियाल प्रजातिका गोही पनि संकटापन्न अवस्थामा पुगेका हुन् । उक्त प्रजातिका गोहीले माछाबाहेक अरू सिकार गर्दैनन् । प्रदूषणका कारण प्रजननमा पनि असर परेको छ । प्रदूषणले तापक्रम खलबलिएपछि गोहीका अन्डा बिग्रिएर खेर जाने गरेको छ ।

हुर्किंदै घडियाल

‘त्यसैले यस प्रजातिका गोही विश्वकै दुर्लभ तथा नेपालमा अति संकटापन्न अवस्थाबाट ग्रुजिरहेका छन्,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘नदी प्रदूषणका कारण दुई प्रतिशत बच्चा हुर्किन्छ भन्ने छ । तर, त्यसको पनि कुनै निश्चित हुँदैन ।’ विश्वमै दुर्लभ तथा नेपालमा संकटापन्न अवस्थामा रहेका घडियाल संरक्षणका लागि बर्दिया निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेको छ ।


गोहीको अण्डालाई कृत्रिम तरिकाले कोरलेर हुर्काउन खोजिन्छ । निश्चित तापक्रममा अण्डा कोरलिने भएकाले निकै संवेदनशील मानिन्छ । ‘अलिकति तापक्रम नमिल्ने हो भने अण्डा बिग्रिन्छ । अण्डाबाट निस्केको बच्चा मर्छ । त्यसैले अति संकटापन्न मानिएको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत लक्ष्मीदत्त जोशीले भने, ‘प्रजनन केन्द्रमा हुर्किएको गोहीलाई बबई र कर्णाली नदीमा लगेर छोड्ने गरिएको छ ।’


संरक्षणकर्मीका अनुसार घडियाल गोही हुर्किएर वयस्क हुँदासम्म एक प्रतिशतमात्रै बाँच्छन् । प्रजनन केन्द्रमा हाल ८ र १० वर्षका भाले र पोथी घडियाल गोही रहेका छन् । दुई वर्षमा लागेका १० वटा र तीन वर्ष लागेका २२ घडियाल रहेको निकुञ्ज प्रशासनले जनाएको छ । वयस्क दुई भाले र आठ पोथी घडियालबाट अण्डा उत्पादन गरी निश्चित तापक्रममा कोरलिन्छ । हुर्किंदै गरेका घडियाल मरेर संख्या तलमाथि भइरहन्छ ।


वयस्क भएपछि नदीमा लगेर छोडिन्छ । नेपालमा सबैभन्दा बढी बबई र चितवनको राप्ती नदीमा घडियाल पाइन्छन् । कर्णालीमा भने निकै न्यून संख्यामा भेटिने गरेको निकुञ्जले जनाएको छ । सन् २०१८ मा थापा एण्ड अलले बबई नदीमा ड्रोनमार्फत गरेको सर्वेक्षणमा ३३ घडियाल भेटिएका थिए । सन् २०१६ मा बबईमा २५ देखि ३० र कर्णालीमा तीनवटासम्म घडियाल देखिएको अभिलेख छ ।


नदी र खोलामा माछा मार्न विष प्रयोग गरिएका कारण घडियाल प्रजातिका गोही संकटमा परेका हुन् । संरक्षणका लागि लामो समयदेखि प्रयास जारी छ । घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछामात्रै आहार गर्छ । माछा नपाइने र मानवीय गतिविधि बढी हुने स्थानमा बस्दैन ।


तर, मगर गोही फोहोर पानीमा बस्न सक्ने र पशुचौपायाको मासुसमेत आहार गर्ने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । नदीमा माछा मार्न विष प्रयोग गरिने भएका कारण प्रदूषण बढेको हो । घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको सौरहामा स्थापना गरिएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?