हुर्किंदै घडियाल
बर्दिया — नदी प्रदूषित बन्दै गएपछि त्यसको असर जलचर प्राणीमा परेको छ । माछा कम हुँदै गएपछि घडियाल प्रजातिका गोही पनि संकटापन्न अवस्थामा पुगेका हुन् । उक्त प्रजातिका गोहीले माछाबाहेक अरू सिकार गर्दैनन् । प्रदूषणका कारण प्रजननमा पनि असर परेको छ । प्रदूषणले तापक्रम खलबलिएपछि गोहीका अन्डा बिग्रिएर खेर जाने गरेको छ ।
‘त्यसैले यस प्रजातिका गोही विश्वकै दुर्लभ तथा नेपालमा अति संकटापन्न अवस्थाबाट ग्रुजिरहेका छन्,’ बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘नदी प्रदूषणका कारण दुई प्रतिशत बच्चा हुर्किन्छ भन्ने छ । तर, त्यसको पनि कुनै निश्चित हुँदैन ।’ विश्वमै दुर्लभ तथा नेपालमा संकटापन्न अवस्थामा रहेका घडियाल संरक्षणका लागि बर्दिया निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेको छ ।
गोहीको अण्डालाई कृत्रिम तरिकाले कोरलेर हुर्काउन खोजिन्छ । निश्चित तापक्रममा अण्डा कोरलिने भएकाले निकै संवेदनशील मानिन्छ । ‘अलिकति तापक्रम नमिल्ने हो भने अण्डा बिग्रिन्छ । अण्डाबाट निस्केको बच्चा मर्छ । त्यसैले अति संकटापन्न मानिएको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत लक्ष्मीदत्त जोशीले भने, ‘प्रजनन केन्द्रमा हुर्किएको गोहीलाई बबई र कर्णाली नदीमा लगेर छोड्ने गरिएको छ ।’
संरक्षणकर्मीका अनुसार घडियाल गोही हुर्किएर वयस्क हुँदासम्म एक प्रतिशतमात्रै बाँच्छन् । प्रजनन केन्द्रमा हाल ८ र १० वर्षका भाले र पोथी घडियाल गोही रहेका छन् । दुई वर्षमा लागेका १० वटा र तीन वर्ष लागेका २२ घडियाल रहेको निकुञ्ज प्रशासनले जनाएको छ । वयस्क दुई भाले र आठ पोथी घडियालबाट अण्डा उत्पादन गरी निश्चित तापक्रममा कोरलिन्छ । हुर्किंदै गरेका घडियाल मरेर संख्या तलमाथि भइरहन्छ ।
वयस्क भएपछि नदीमा लगेर छोडिन्छ । नेपालमा सबैभन्दा बढी बबई र चितवनको राप्ती नदीमा घडियाल पाइन्छन् । कर्णालीमा भने निकै न्यून संख्यामा भेटिने गरेको निकुञ्जले जनाएको छ । सन् २०१८ मा थापा एण्ड अलले बबई नदीमा ड्रोनमार्फत गरेको सर्वेक्षणमा ३३ घडियाल भेटिएका थिए । सन् २०१६ मा बबईमा २५ देखि ३० र कर्णालीमा तीनवटासम्म घडियाल देखिएको अभिलेख छ ।
नदी र खोलामा माछा मार्न विष प्रयोग गरिएका कारण घडियाल प्रजातिका गोही संकटमा परेका हुन् । संरक्षणका लागि लामो समयदेखि प्रयास जारी छ । घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछामात्रै आहार गर्छ । माछा नपाइने र मानवीय गतिविधि बढी हुने स्थानमा बस्दैन ।
तर, मगर गोही फोहोर पानीमा बस्न सक्ने र पशुचौपायाको मासुसमेत आहार गर्ने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । नदीमा माछा मार्न विष प्रयोग गरिने भएका कारण प्रदूषण बढेको हो । घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको सौरहामा स्थापना गरिएको छ ।
प्रकाशित : मंसिर २४, २०७६ १२:३८