खाली हुँदै गुठीको जग्गा

तत्कालीन माओवादीद्वारा कब्जा गरिएको मुसीकोटस्थित डिग्रे साइकुमारी मन्दिरको जग्गा अदालतको फैसलाले फिर्ता 

रुकुम पूर्व — तत्कालीन माओवादी जनसत्ताले कब्जा गरेको गुठीको ४२ दशमलव २ रोपनी जग्गा खाली हुने भएको छ । सिस्ने गाउँपालिका–८, धपेस्थित उक्त जग्गा लामो समयपछि खाली गर्न लागिएको हो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ स्थित डिग्रे साइकुमारी मन्दिरको नाममा रहेको उक्त जग्गा सशस्त्र द्वन्द्वका बेलादेखि तत्कालीन माओवादीले कब्जा गरिरहेको थियो ।

खाली हुँदै गुठीको जग्गा

त्यही बेला उक्त जग्गा बिक्रीसमेत गरिएको थियो । मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेर उक्त जग्गा स्वामित्वमा ल्याउन लागेको हो । जग्गामा अर्काको हकभोग रहेको भन्दै जिल्ला अदालतमा समितिले मुद्दा दर्ता गरेको थियो । उक्त जग्गा मन्दिरकै नाममा कायम हुने अदालतले फैसला गरेको छ । फैसलापछि पनि जग्गा स्वामित्वमा आएको थिएन ।


समितिले पटक–पटक जग्गा खरिद गरेका जितबहादुर पुनसित छलफल गर्‍यो । ‘अब लगभग जग्गा हाम्रो स्वामित्वमा आइसक्यो,’ मन्दिर व्यवस्थापन समितिका सचिव चूडामणि गौतमले भने, ‘आगामी जेठ १५ भित्र उक्त ठाउँ छाड्न र संरचना हटाउन जितबहादुरजी राजी हुनु भएको छ ।’


समिति, पुन र वडा ८ बीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको सचिव गौतमले बताए । ‘यतिका समय बस्नुभयो,’ उनले भने, ‘संरचना व्यवस्थापनका लागि अबको ६ महिना दिन सहमत भएका हौं ।’ सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि उक्त जग्गा कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए । सिंचाइ सुविधासहितको खेत उक्त क्षेत्रमा छ ।

प्रकाशित : मंसिर २३, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?