कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक केरा खेतीमा आकर्षण

कान्तिपुर संवाददाता

पाल्पा — निस्दी गाउँपालिका–७, ज्यामिरे, मलघरामकी पुनीसरा सारु यतिबेला खुसी छन् । खेर गएको जमिनमा तीन वर्षअघि लगाएको केरा खेतीले गएको सिजनमा पाँच लाख रुपैयाँ आम्दानी दिएको थियो । आउने सिजनमा आम्दानी बढ्ने उनको आशा छ । सामूहिक केरा खेतीबाट अहिले आम्दानी राम्रो भएको हो ।

सुरुको वर्षमा खासै आम्दानी होला जस्तो उनलाई लागेको थिएन । यस वर्ष भने उनी खुसी छिन् । ‘पहिला के होला र जस्तो लागेको थियो,’ उनले भनिन्, ‘अहिले भने मन खुसी भएको छ । अब राम्रो आम्दानी लिन थालेका छौं ।’ पहिलो वर्ष १४ हजार बिरुवाबाट दुई लाख रुपैयाँमात्रै आम्दानी भएको उनले सुनाइन् ।


झाडी, वनमाराले ढाकेको जमिनलाई उनीहरूले कबुलियती वन बनाएका छन् । सोही वनमा अहिले व्यावसायिक केरा खेती गरेका हुन् । ज्यामिरेमा अहिले १७ हेक्टरमा २५ हजार केराका बिरुवा लगाइएको छ । त्यत्ति नै संख्यामा थप बिरुवा लगाउने गाउँलेको तयारी छ । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा उनीहरूले केरा खेती गरेका हुन् ।


केरा खेतीबाट आर्थिक हैसियत बिग्रेका समुदायको स्तरमा सुधार आएको कबुलियती वन समूहका अध्यक्ष रमन सारुले बताए ।

काम नलाग्ने जंगललाई उपयोग गरेर केरा खेती लगाइएको छ । ‘हामीले दुई समूह बनाएर जंगलको जग्गा कबुलियत गरेर लिएका छौं,’ उनले भने, ‘त्यसलाई फँडानी गरेर दुई वर्षदेखि केरा खेती गरेका छौं ।’ श्रमअनुसार केरा खेतीले सफलता पाएको छ ।


यसलाई अझ विस्तार गर्ने सोच बनाएको अध्यक्ष सारुले बताए । उनीहरूलाई बजारको पनि कुनै समस्या छैन । नजिकको सर्दी, दुम्किबास, पूर्वखोला, होङ्सी सिमेन्टका कर्मचारी ग्राहक हुन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रले ६ हजार केराका बिरुवा सहयोग गरेको थियो । त्यसपछि भूःसंरक्षण कार्यालयले पनि आठ हजार बिरुवा दिएको छ । ‘सोही बिरुवाबाट निस्केका टुसालाई सारेर अहिले २५ हजार पुर्‍याइएको छ,’ उनले भने । यही जंगलमा अहिले वन केरा पनि हुर्केका छन् । केरा राम्रो हुर्केको देखेपछि व्यावसायिक केरा लगाउने योजना बनेको हो ।


मलघराममा अहिले टोकलक्दी र गडादी दुई समूह छन् । समूहमा २७ घरधूरी सदस्य छन् । गाडादी कबुलियती वन समूहका अध्यक्ष सारुले भने, ‘सुरुका दिनमा यस्तो डाँडा, झाडीमा केरा खेती सम्भव होला कि नहोला भन्ने लागेको थियो ।’ अहिले पहाडी जिल्लामै उदाहरणीय केरा खेती बनेको छ । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पनि बिरुवाका लागि सहयोग गरेको उनले बताए ।


डिभिजन वन कार्यालयले सोही जग्गाको व्यवस्थापन गरेर २७ हेक्टर जग्गा समूहलाई हस्तान्तरण गरेको हो । ४० वर्षका लागि दिएको जंगलबाट समूहमा राम्रो आम्दानी हुन थालेको कार्यालयका विकास अधिकृत यमलाल पोखरेलले बताए । डिभिजन वन कार्यालयले निरन्तर रूपमा प्राविधिक सहयोग गर्दै आएको छ ।


कबुलियती वनका सहजकर्ता रामचरण चौधरीले समूहलाई परिचालन गर्दा अहिले राम्रो आम्दानी भएको बताए । उनका अनुसार केरा खेतीबाट अर्को वर्ष एकै सिजनमा आठ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताए । केरा खेती गर्ने स्थानसम्म पुग्न बाटोको दुःख छ । तर पनि स्थानीयले मिहिनेत गरेर लगाएका छन् । डिभिजन वन अधिकृत मोहनप्रसाद पौडेलले वन उपभोक्ता समूहलाई सही रूपमा पधध्रिचालन गर्दा अहिले पहाडी जिल्लामै नमुना केरा खेती बनेको बताए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

अबैध कारोबार बढ्यो

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट तस्करी बढेको छ । भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी गरिरहेको दाबी गरे पनि करोडौं मूल्यका सामान भित्रिरहेका छन् । रूपन्देहीको बेलहिया नाकाबाट राजस्व छलेर भित्र्याइएका सामान यहाँ बरामद हुन थालेपछि नवलपरासी र रूपन्देहीका मूल भन्सारबाट अवैध कारोबार बढिरहेको तथ्यांकले देखाएको छ ।

२८ किलोमिटर खुला सिमाना रहेको पश्चिम नवलपरासीमा तीन छोटी र एक मूल भन्सार सञ्चालनमा छन् । सशस्त्र प्रहरीका तीन वटा पोस्ट रहेका छन् । तस्करीमा संलग्नले सुरक्षाकर्मीका आँखा छलेर समान भित्र्याउने गरेका छन् । नाकाबाट कुखुरा, खसीबोकादेखि लत्ताकपडा, मोबाइल र लागूपदार्थको ओसारपसार भइरहेको छ ।

जिल्लामा चालु आर्थिक वर्षमा प्रहरीले दुई सयभन्दा बढी खसीबोका नियन्त्रणमा लिएर भन्सारको जिम्मा लगाइसकेको छ । सुरक्षाकर्मीले राजस्व छलेर ल्याएका सामान बरामद गर्ने क्रम बढेकाले तस्करी बढेको दाबी गरेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी भरत खनियाँका अनुसार सुरक्षा जाँच बढाएपछि सामान बरामद हुने क्रम बढेको बताए ।

‘आर्थिक वर्ष ०७४/७५ मा ४६ लाख रुपैयाँका सामान बरामद गरेर भन्सार पठाएका थियौं । चालु वर्षमा १ करोड ६५ लाख रुपैयाँका सामान भन्सार पठाइसकिएको छ,’ उनले भने, ‘सीमित जनशक्तिका बाबजुद निगरानी बढाएका छौं ।’ शनिवार जिल्लाको भुमहीबाट एक करोड रुपैयाँ बराबरका सामान बरामद भएका थिए ।

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट भन्सार छलेर ल्याइएका औषधि, मोबाइल र कपडा बरामद भएको हो । पर्यटक मात्र लेखिएको बसमा निगरानी कम हुने भएकाले फल्स बटम बनाएर तस्करी गरिएको अवस्थामा सामान फेला परेको थियो ।
जिल्लामा दिनहुँ सामान बरामद हुने गरेका छन् ।

जिल्ला प्रहरीले गत आर्थिक वर्षमा १ करोड ७८ लाख १९ हजार रुपैयाँका सामान बरामद गरेको थियो । चालु वर्षको पहिलो चौमासिकमा १ करोड ५० लाख रुपैयाँ बराबरको सामान भन्सार पठाएको थियो । सीमावर्ती नाकाबाट कबाडी सामान अवैध रूपमा भारत निकासी बढेको छ ।

एकपटक प्रयोग भएका फलाम, ब्याट्री, टायर, प्लास्टिक, जस्तापाता, तामालगायतका सामानको अवैध ओसारपसार बढेको हो । मूल भन्सार भए पनि चोरनाकाबाट खुलेयाम निकासी भइरहेको छ । सीमा क्षेत्रमा राखिएका गोदामबाट व्यवसायीले भारतको ठूटीबारी हुँदै भरिया लगाएर अन्य बजारमा पुर्‍याउने गरेका छन् ।

महेशपुर, झोलनीपुर, भुजहवा नाकाबाट कबाडी सामानको अवैध चोरी निकासी हुने गरेको छ । झट्ट सुन्दा कबाडी कारोबारमा मुनाफा कम हुने सोच भएकाले सुरक्षाकर्मीले पनि पुराना सामान ओसारपसार हुँदा निगरानी कम गर्ने गर्छन् ।

प्रकाशित : मंसिर २३, २०७६ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×