अबैध कारोबार बढ्यो

परासी — पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट तस्करी बढेको छ । भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी गरिरहेको दाबी गरे पनि करोडौं मूल्यका सामान भित्रिरहेका छन् । रूपन्देहीको बेलहिया नाकाबाट राजस्व छलेर भित्र्याइएका सामान यहाँ बरामद हुन थालेपछि नवलपरासी र रूपन्देहीका मूल भन्सारबाट अवैध कारोबार बढिरहेको तथ्यांकले देखाएको छ ।

२८ किलोमिटर खुला सिमाना रहेको पश्चिम नवलपरासीमा तीन छोटी र एक मूल भन्सार सञ्चालनमा छन् । सशस्त्र प्रहरीका तीन वटा पोस्ट रहेका छन् । तस्करीमा संलग्नले सुरक्षाकर्मीका आँखा छलेर समान भित्र्याउने गरेका छन् । नाकाबाट कुखुरा, खसीबोकादेखि लत्ताकपडा, मोबाइल र लागूपदार्थको ओसारपसार भइरहेको छ ।


जिल्लामा चालु आर्थिक वर्षमा प्रहरीले दुई सयभन्दा बढी खसीबोका नियन्त्रणमा लिएर भन्सारको जिम्मा लगाइसकेको छ । सुरक्षाकर्मीले राजस्व छलेर ल्याएका सामान बरामद गर्ने क्रम बढेकाले तस्करी बढेको दाबी गरेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी भरत खनियाँका अनुसार सुरक्षा जाँच बढाएपछि सामान बरामद हुने क्रम बढेको बताए ।


‘आर्थिक वर्ष ०७४/७५ मा ४६ लाख रुपैयाँका सामान बरामद गरेर भन्सार पठाएका थियौं । चालु वर्षमा १ करोड ६५ लाख रुपैयाँका सामान भन्सार पठाइसकिएको छ,’ उनले भने, ‘सीमित जनशक्तिका बाबजुद निगरानी बढाएका छौं ।’ शनिवार जिल्लाको भुमहीबाट एक करोड रुपैयाँ बराबरका सामान बरामद भएका थिए ।


दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट भन्सार छलेर ल्याइएका औषधि, मोबाइल र कपडा बरामद भएको हो । पर्यटक मात्र लेखिएको बसमा निगरानी कम हुने भएकाले फल्स बटम बनाएर तस्करी गरिएको अवस्थामा सामान फेला परेको थियो ।

जिल्लामा दिनहुँ सामान बरामद हुने गरेका छन् ।


जिल्ला प्रहरीले गत आर्थिक वर्षमा १ करोड ७८ लाख १९ हजार रुपैयाँका सामान बरामद गरेको थियो । चालु वर्षको पहिलो चौमासिकमा १ करोड ५० लाख रुपैयाँ बराबरको सामान भन्सार पठाएको थियो । सीमावर्ती नाकाबाट कबाडी सामान अवैध रूपमा भारत निकासी बढेको छ ।


एकपटक प्रयोग भएका फलाम, ब्याट्री, टायर, प्लास्टिक, जस्तापाता, तामालगायतका सामानको अवैध ओसारपसार बढेको हो । मूल भन्सार भए पनि चोरनाकाबाट खुलेयाम निकासी भइरहेको छ । सीमा क्षेत्रमा राखिएका गोदामबाट व्यवसायीले भारतको ठूटीबारी हुँदै भरिया लगाएर अन्य बजारमा पुर्‍याउने गरेका छन् ।


महेशपुर, झोलनीपुर, भुजहवा नाकाबाट कबाडी सामानको अवैध चोरी निकासी हुने गरेको छ । झट्ट सुन्दा कबाडी कारोबारमा मुनाफा कम हुने सोच भएकाले सुरक्षाकर्मीले पनि पुराना सामान ओसारपसार हुँदा निगरानी कम गर्ने गर्छन् ।


प्रकाशित : मंसिर २३, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?