विमानस्थलमा झाडी, बँदेलले सतायो

मधु शाही

(बाँके) — सरकारले स्तरोन्नतिका लागि नेपालगन्ज विमानस्थलको गुरुयोजना बनाएको छ । योजना बनाए पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । साना काम नहुँदा जहाज अवतरण स्थल (रनवे) घाँसले भरिएको छ । जंगलनजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदर जस्ता वन्यजन्तु लुकेर बस्न थालेका छन् । जसले गर्दा उडानमा प्रत्यक्ष असर पर्न थालेको छ ।

विमानस्थलमा झाडी, बँदेलले सतायो

यहाँ मंगलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्कियो । दुर्घटनामा परेर बँदेलको बच्चा मर्‍यो । जहाज सुरक्षित रह्यो । धावनमार्गमा वन्यजन्तु आउनु चिन्ताको विषय रहेको बुद्ध एयरलाइन्स स्टेसन म्यानेजर विनीत शाहले बताए । ‘गति भएका बेला जहाज ठोकिएको भए जे पनि हुन सक्थ्यो,’ उनले भने, ‘विमानस्थलमा घना झाडी छ । जनावर लुकेर बस्छन् ।’ उनका अनुसार विमानस्थलमा ८ देखि १० वटा बँदेल दिउँसै देखिन्छन् ।


पप्प कन्स्ट्रक्सनले रनवेमा ‘ओभरले’ गर्ने जिम्मेवारी लिएको थियो । एक वर्ष अघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको यहाँस्थित नागरिक उड्डयन प्राविधकरण प्रमुख प्रेमनाथ ठाकुरले बताए ।


धावन मार्ग पिच गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्सनले १३ करोड रुपैयाँमा लिएको थियो । जसमा ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरो रहेको ठाकुरले सुनाए । ग्रेडिङ नहुँदा विमानस्थलभरि घाँस हुर्केको छ । ठेकेदारले टेरपुच्छर नलगाएपछि पप्पुलाई आवश्यक कारवाहीका लागि माग सहित काठमाडौ पुगेको उनले बताए ।


प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार काम पुरा नगरेको पप्पुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भइसकेको छ । ‘धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘अधिकांश काम अधुरै छन् ।’ घाँसे मैदान भएकाले जनावर आएर बस्न थालेका छन् । यसले जहाज उडान/अवतरण संवेदनशील बन्दै गएको छ । वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको ठाकुरले बताए । ‘तर सुरक्षाको लागि प्रयाप्त छैन’,उनले भने, ‘रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ ।’ पप्पु कन्स्ट्रक्सनलाई पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनले बताए । झन्डै १२ अर्ब रुपैयाँ लगानीमा विमानस्थलको आन्तरिक निर्माण भइरहेको छ । गुरुयोजनाअनुसार अझै १ सय २६ बिघा जमिन अतिक्रमण गर्नुपर्ने आवश्यकता छ ।


ठाकुरले ६ ठूला जहाज अटाउने पार्किङ–वे निर्माणाधीन अवस्थामा रहेको बताए । विमानस्थलमा २ वटा मात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ हुन्थ्यो । ६ जहाज थप गरी पार्किङ वे निर्माणपछि नेपालगञ्ज विमानस्थलमा ८ ठूला जहाज ल्यान्ड गर्न सहज हुने छ । नेपालगन्ज विमानस्थिलमा दुई सय मिटरको रनवे थियो । सरकारको गुरु योजना अनुरुप पश्मितर्फ थपेर विमानस्थलको रनवेलाई २६ सय मिटरसम्म बढाउने गुरुयोजना छ । तत्काल २ सय मिटर बढाएर १७ सय मिटर पुर्‍याउने योजना छ ।

प्रकाशित : मंसिर २१, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?