१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

राप्तीमा घडियाल छाड्ने तयारी

निकुञ्ज क्षेत्रभित्र पर्ने नदी र खोलामा ५५ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ५ प्रजातिका माछा दुर्लभको सूचीमा छन् ।
ठाकुरसिंह थारू

(बाँके) — बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोही छाड्ने तयारी गरेको छ । गोहीको बासस्थानका लागि राप्ती नदीको निकुञ्जअन्तर्गतका शिवखोला, सिक्टा र गाभर क्षेत्र पहिचान गरिएको छ । 

राप्तीमा घडियाल छाड्ने तयारी

घडियाल मृत्युदर अधिक रहेको गोहीमध्येको दुर्लभ प्रजाति हो । खोलामा माछा मार्न विष प्रयोग गरिएका कारण घडियाल संकटमा छ । त्यसको संरक्षणका लागि बाँके निकुञ्जले चितवनको कसरास्थित प्रजनन केन्द्रबाट पहिलोपटक राप्तीमा ल्याएर छाड्ने तयारी गरेको हो । ‘घडियालका लागि आवश्यक पर्ने आहारा माछा राप्तीको शिवखोला क्षेत्रमा पर्याप्त छन् । त्यसैले त्यस क्षेत्रलाई उपयुक्त बासस्थान मानिएको हो,’ बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालमणि भण्डारीले भने, ‘अब निकुञ्ज क्षेत्रमा घडियाल गोही हेर्न सकिनेछ ।’ राप्तीमा मगर प्रजातिको गोही पाइन्छ । निकुञ्ज क्षेत्रभित्र पर्ने नदी र खोलामा ५५ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ५ प्रजातिका माछा दुर्लभको सूचीमा छन् ।


घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछा खान्छ । माछा नपाइने र मानवीय गतिविधि बढी हुने स्थानमा बस्दैन । मगर गोही फोहोर पानीमा बस्न सक्ने र पशुचौपायाको मासु खाने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । ‘नदीमा माछा मार्न विष प्रयोग गरिन्छ । जसका कारण माछा पाइँदैन । आहारा नभएपछि घडियाल संकटमा परेको हो,’ उनले भने, ‘बाँकेमा पहिलोपल्ट गोही छोड्न थालिएको हो । यसले संरक्षण पनि हुने र पर्यटकका लागि आकर्षक हुनसक्छ ।’


घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको कसरामा छ । घडियाल गोही छोड्ने भनिएको क्षेत्रमा पशुचौपाया र मानवीय गतिविधि हुने गरेको छ । यसले संरक्षणमा केही समस्या हुने देखिएको छ ।


सिक्टा र गाभर क्षेत्रमा बस्ती विस्तार भइसकेकाले पनि गोही संरक्षणमा समस्या हुने शंका गरिएको छ । त्यसका लागि स्थानीयसँग सहकार्यको प्रयास गरिएको छ । गोही संरक्षणबारे स्थानीयलाई जानकारी गराइरहेको निकुञ्जले जनाएको छ । बाघ संरक्षणका लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्ज घडियाल गोहीका रूपमा पनि परिचित हुने विश्वास छ ।


प्रकाशित : मंसिर २१, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?