१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जिप दुर्घटनामा २ को मृत्यु (अपडेट) 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको चौबिस माइलमा भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिप दुर्घटनामा २ को मृत्यु (अपडेट) 

बुटवलमा बिरामी छाडेर फर्कदै गरेको जिप बिहीबार बिहानै ३ बजेतिर दुर्घटनामा परेको थियो ।

लु १ ज ४२०९ नम्बरको जिप दुर्घटना हुँदा रैनादेवी छहरा गाउँपालिका–५ मुझुङका २५ वर्षीय चालक दिलीप बम्रेल र जिपका सहचालक रैनादेवी छहरा–४ मेहलढापका २४ वर्षीय कृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिप बेलुकी स्थानीय दुई जना बिरामीलाई प्रादेशिक अस्पतालमा छाडेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।


दुर्घटनाग्रस्त जिप भीरबाट झण्डै ५ सय मिटर तल तिनाउ खोलाको खोंचमा पुगेको छ । सामान्य घुम्तीबाट जिप दुर्घटना भएको छ । ठूलो भीर र खोंच भएकाले पनि ढिला मात्र थाहा पाइएको स्थानीय जेके थकालीले बताए । उनका अनुसार पारी गाउँका बासिन्दाले देखेर खबर गरेपछि मात्र जानकारी पाइएको हो । जिपका छत, टायर, इन्जिन, बडी अलग अलग भएको छ ।


बिहानै करिब ३ बजेतिर दुर्घटना भएपनि ११ बजेतिर मात्र स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, सेनाको सहयोगमा शव निकालिएको थियो ।


शवको तानसेनस्थित पाल्पा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । लामो समय यात्रा गरेकाले निदाएको हुन सक्ने प्रारम्भिक अनुमान गरेपनि दुर्घटनाका विषयमा थप अनुसन्धान गरिने ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए ।

प्रकाशित : मंसिर १९, २०७६ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?