कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेली बनाउन भ्याइनभ्याई

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीका किसान अहिले धमाधम उखु काटिरहेका छन् । उखु काट्न सुरु भए पनि अहिलेसम्म चिनी मिल भने सञ्चालनमा आएका छैनन् । चिनी मिल सञ्चालनमा नआए पनि किसानले उखु क्रसरमा लगेर बेचिरहेका छन् । 

नारायणीपारी सुस्ता गाउँपालिका–५ का किसानले भने आफैं उखु पेलेर धमाधम खुदो र भेली तयार गरिरहेका छन् । उद्योगसम्म उखु लैजानका लागि नारायणी नदीमा पुल नहुँदा सुस्ताबासीले बर्सेनि यसरी नै पेलेर आफ्नो खर्च जुटाउने गर्छन् । सडक सञ्जालले उद्योग र क्रसरसम्म पहुँच हुने किसानले भने उखु बेच्ने गरेका छन् ।


सुस्ता–५ का मिस्टर देवानले अहिलेसम्म करिब दुई क्विन्टल खुदो र भेली तयार पारिसकेको बताए । घरमा नै क्रसिङ गर्ने मेसिन राखेर पकाउनका लागि भट्टा तयार पारेका छन् । दिनभरि उखु पेल्ने र रस पकाएर भेली बनाएर नै उनको दैनिकी चलेको छ । घरमा नै यसरी उखु पेल्नु उनको रहर नभएर बाध्यता हो । ‘नारायणीपारि लैजानका लागि नदीमा पुल छैन, डुंगामा ओसारेर फाइदा छैन,’ उनले भने, ‘अन्य खेती हुँदैन । उखु नै मुख्य खेती हो । बिक्री नभएपछि आफैं पेलेर भेली बनाउने गर्छु ।’ देवान मात्र होइन, सुस्ताका स्थानीयलाई अहिले भेली र खुदो बनाउन भ्याइनभ्याइ छ । समयमा नै उखु काटेर नपेल्ने हो भने सुकेर जाने भएकाले उखु पेलेर भट्टामा पकाउन उनीहरूलाई हतारो भएको हो । जसोतसो डुंगामा तारेर बेचेको उखुको पनि उद्योगले समयमा भुक्तानी नदिएपछि अहिले यहाँका धेरैजसो किसानले गाउँमा नै उखु पेलेर भेली बनाएर बेच्न थालेका हुन् ।


उद्योगले ढुवानी खर्च बढी लाग्ने भन्दै यहाँको उखु खरिद गर्न आनाकानी गर्ने गर्छन् । चिनी उद्योगलाई उखु बिक्री गरे पनि उधारो बेच्नुपर्ने र वर्षौंको भुक्तानी नपाउने समस्याका कारण किसानले विकल्पका रूपमा गाउँमा नै उखु पेलेर भेली बनाउने र डुंगामार्फत नारायणी नदी तारेर बजार पुर्‍याउने गर्छन् ।


उखु पेलेर बनाइएको खुदो तथा भेलीले राम्रो बजार पाएपछि अहिले यस क्षेत्रका किसानलाई उखु किन्न आउने व्यापारीको भर पर्नु परेको छैन । सुस्तामा मात्र अहिले यस्ता १५ भन्दा बढी घरेलु उद्योग सञ्चालनमा रहेका छन् । यहाँका किसानले तयार गरेको खुदो र भेली नेपालका साथै सीमावर्ती भारतीय बजारमा समेत बिक्री हुने गर्छ ।


प्रकाशित : मंसिर १८, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

विपन्नका आवास रित्तै

कान्तिपुर संवाददाता

(बर्दिया) — बढैयाताल गाउँपालिकाले घर र भूमि नभएका परिवारका लागि निर्माण गरेको आवास गृह बेवारिसे बनेका छन् । बढैयाताल–१ र २ वडाको बीचमा निर्माण गरिएका भवन नेपाल–भारत दशगजानजिक रहेका छन् । 

तराई–मधेस आवास कार्यक्रमअन्तर्गत १२ परिवारका लागि गत असारमा निर्माण गरिएका पक्की आवासमा अहिलेसम्म बसोबासका लागि कोही आएका छैनन् । करिब १ करोड १९ लाख रुपैयाँ लगानीमा १२ घर निर्माण गरिएका छन् । एउटा घरमा तीन कोठा छन् । डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको आवासमा घर–जग्गाविहीन बसे पनि नामसारी हुँदैन ।

सरकारी जग्गा नजिक भारतीय जंगल क्षेत्र भएकाले त्रासले कोही बस्न नमानेको स्थानीयले बताए । सकारले ठूलो लगानी गरे पनि अपायक र भारतीय सीमा नजिक घना जंगल भएकाले बस्न नआएको बढैयाताल–२ का हिमबहादुर ठकुरीले बताए । भवन निर्माण भएको महिनौं बिते पनि अहिलेसम्म बसोबास चाहियो भन्दै कोही पनि गाउँपालिकामा गएका छैनन् ।

भवन निर्माण भए पनि शौचालय र धारा अझै बनेका छैनन् । शौचालय र धारा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । ‘१० लाख रुपैयाँको लागतमा शौचालय र धारा निर्माणको ठेक्का भइसकेको छ,’ उनले भने, ‘वास्तविक रूपमा घरजग्गा नभएकाका लागि बसोबासको व्यवस्था गरिनेछ ।’

प्रकाशित : मंसिर १८, २०७६ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×