कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हिउँबाट जोगिन तयारी

पूर्वी रूकुमका सर्वसाधारणले खानेकुरा, न्यानो कपडा, दाउराको व्यवस्था र बस्तुभाउका लागि घाँसको जोहो गरिसकेका छन् 

(रुकुम पूर्व) — प्रदेश ५ को एकमात्र हिमाली जिल्ला पूर्वी रुकुमका ३१ वडामै हिउँ पर्छ । जिल्लाको माथिल्लो भेगमा बाक्लो हिमपात हुन्छ । त्यसैले हिउँको असर कम गर्न स्थानीय जुटेका छन् । आफ्नो र बस्तुभाउका लागि खानपान व्यवस्थापन गरिरहेका छन् । 

हिउँबाट जोगिन तयारी

पुथाउत्तरगंगा गाउँपालिकामा पनि तयारी तीव्र छ । सर्वसाधारणले खानेकुरा, न्यानो कपडा, दाउराको व्यवस्थापन गरिरहेका छन् । वस्तुभाउका लागि घाँसको जोहो गरेका छन् । यस वर्ष स्थानीय सरकार पनि स्थानीयलाई हिउँबाट जोगाउन जुटेका छन् । पहिलोपटक हिमपातलाई विपद् मानेर विपद् प्रतिकार्य योजना बनाइएको छ । हिमपात प्रभावितको उद्धार तथा सहयोगका लागि विपद् व्यवस्थापन समितिले योजना बनाइरहेको छ । विपद् व्यवस्थापन समितिले जिल्लाका तीनवटै स्थानीय तहका प्रभावित बस्तीको पहिचान गरेको छ ।


जिल्लाका ३ हजार ५ सयभन्दा बढी सर्वसाधारण प्रभावित हुने अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए । स्थानीय तहगत रूपमा कुन स्थानीय तहमा केको बढी जोखिम छ भन्ने पनि पहिचान गरिएको उनले बताए ।


पुथाउत्तरगंगा गाउँपालिकामा हिमपात, महामारी, पहिरो, आगलागी, भूकम्प, सडक दुर्घटना, चट्याङ, हुरीबतासको जोखिम रहेको छ । त्यस्तै भूमे गाउँपालिकामा सबैभन्दा बढी बाढीपहिरोको जोखिम छ भने सडक दुर्घटना, आगलागी, भूकम्प, महामारी, हिमपात, चट्याङ र हुरीबतासको पनि जोखिम रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।


सिस्ने गाउँपालिकामा पहिरो, आगलागी, सडक दुर्घटना, महामारी, हुरीबतास, हिमपात, चट्याङ र भूकम्पको जोखिम रहेको निर्क्योल गरिएको छ । हिउँदमा हुने हिमपातबाट बच्न चनाखो हुन तथा अरू व्यवस्थापनका लागि स्थानीयलाई भनिएको छ । सरकारका तर्फबाट गर्नुपर्ने काम पनि गरिने प्रजिअ अर्यालले बताए । यस वर्ष हिमपात सुरु भइसकेको छ । हिमालमा हिउँ पर्न थालिसकेको छ । जिल्लामा हिमपातसहित अन्य विभिन्न खाले जोखिम हुँदा त्यसको उद्धार तथा राहतमा समस्या हुने गरेको छ । उद्धारका सामग्री नहुँदा, भौगोलिक विकटतालगायतका कारणले समस्या हुने गरेको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् ।

प्रकाशित : मंसिर १८, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?