१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

क्याम्पस र प्रहरी चौकीलाई जग्गा

रोल्पा — स्थानीय तहको चहलपहल वृद्धिसँगै पश्चिमी रोल्पास्थित त्रिवेणी गाउँपालिकाको केन्द्र जुगारको नेर्पामा सरकारी संरचना बसाल्न जग्गा दान गर्नेहरू बढेका छन् । सरकारी कार्यालयहरू गाउँमा आए विकास हुने भन्दै जग्गा दान गर्ने बढेका हुन् । 

गाउँपालिका कार्यालयका अनुसार क्याम्पस, प्रहरी चौकी, रेडक्रस, विद्यालय र गाउँपालिकाको कार्यालय बनाउन स्थानीयले महँगो मूल्य पर्ने जग्गा दान गरेका छन् । ‘कार्यालय भवन बनाउन आवश्यक पर्ने जग्गा स्थानीयले निःशुल्क दिएका हुन् । दानी भेट्दा हामी पनि खुसी छौं,’ गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने ।


उनका अनुसार नेर्पामा सञ्चालित नव नेपाल क्याम्पसको भवन बनाउन आवश्यक जग्गा दिनेबीच प्रतिस्पर्धा नै भएको थियो । क्याम्पसलाई स्थानीय पूर्वशिक्षकहरू कुलानन्द गिरी, सम्झना गिरी र चंखबहादुर वलीले प्रतिस्पर्धा गर्दै पर्याप्त जग्गा दिएका छन् । गिरी परिवारले क्याम्पसलाई १४ रोपनी र वलीले ११ रोपनी क्षेत्रफलको महंगो मूल्यको जग्गा निःशुल्क प्रदान गरेका हुन् । दाताहरूले दिएको जग्गामध्ये नेर्पामा क्याम्पस भवन बनाइएको छ भने बयलडाँरीमा छात्रावास भवन बनाइएको छ । नेर्पाको जौलीलाँकुरीमा निर्माणाधीन इलाका प्रहरी चौकीलाई आवश्यक परेको जग्गासमेत स्थानीयले निःशुल्क प्रदान गरेका हुन् । प्रहरी चौकीका लागि सात रोपनी क्षेत्रफलको जग्गा स्थानीय चार जनाले दिएका हुन् । गोकुल भण्डारीले पाँच रोपनी, उनका छोरा माधव भण्डारीले आधा रोपनी, उत्तिमा डाँगीले एक रोपनी र चोपराज विकले आधा रोपनी क्षेत्रफलको जग्गा दिएका हुन् । प्रहरी चौकीलाई जग्गा दिँदासमेत प्रतिस्पर्धा भएको थियो । प्रहरी चौकीलाई स्थानीय जीवराज खड्काले नेर्पाको उकालोनजिक तीन रोपनी क्षेत्रफल जग्गा दिएका छन् । प्रहरीचौकी भवन हाल जौलीलाँकुरीको सात रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।


यसअघि रेडक्रसको जुगार शाखाका लागि स्थानीय दलबहादुर राना लगायतले सित्तै जग्गा दिएका थिए । उनकै पहलमा धार्मिक संस्था निरंकारी समूहलाई समेत निःशुल्क जग्गा दान गरिएको थियो । सामाजिक कार्यमा चासो दिने गरेकाले सार्वजनिक प्रयोगका लागि महंगो जग्गा दान गरेको क्याम्पसका जग्गादाता पूर्वशिक्षक चंख वलीले बताए । दाताहरूले जग्गा प्रदान गरेकाले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्था स्थापना गर्न सजिलो भइरहेको त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर केसीले बताए ।


गाउँपालिका अध्यक्ष वलीका अनुसार जुगार क्षेत्रका दानी व्यक्तिहरूले पञ्चायतकालदेखि नै विद्यालय, सामाजिक संस्थालगायतलाई निःशुल्क जग्गा प्रदान गर्ने गरेको बताए । ‘सहयोगी भावना र दानी स्वभाव भएकाले निरन्तर रूपमा जग्गा दान दिने गरेका छन्,’ उनले भने, ‘यो राम्रो चलन हो ।’ यस क्षेत्रका थुप्रै विद्यालयका लागि आवश्यक जग्गा दान गरेका व्यक्तिहरूको सम्मान र स्मृतिमा ती विद्यालयको नामकरण गरिएको छ । भौगोलिक अवस्थाले समथर र फराकिलो ठानिएको त्रिवेणी गाउँपालिकाभित्र बढ्दो जनघनत्वले जग्गाको मूल्य बर्सेनि वृद्धि हुने गरेको छ । शान्ति प्रक्रियापछि यस क्षेत्रमा सरकारी कार्यालय, सार्वजनिक संस्था, शैक्षिक संस्थाप्रति स्थानीयले जग्गा दान गरेर प्रेम दर्साउने गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?